arthik abhiyan
ad banner

सदरमुकामकै सडकको दुरवस्था

Aug 28, 2019 
विकास
Image Not Found
author avatar पंखबहादुर शाही

दैलेख । सरकारले दैलेखमा सडक सुधारका लागि वर्षेनि करोडौं रकम खर्च गरे पनि स्तरोन्नति हुन सकेको छैन । जिल्लाका अधिकांश सडकको दुरवस्थाका कारण सवारी चालकसँगै सर्वसाधारणले सास्ती खेपेका छन् । यहाँका सडकमा वर्षायाममा सवारीसाधन चलाउनै मुश्किल हुने गरेको चालकहरू बताउँछन् । सडकका खाल्डाखुल्डी पुर्न नारायण नगरपालिकाले चासो नदिँदा आवतजावतमा समस्या भएको स्थानीयको गुनासो छ । 

बजार क्षेत्रकै सडक कोलोपत्र उप्किएर जोखिमपूर्ण बनेका छन् । मालपोत कार्यालयदेखि–काँडाचौर बसपार्कबीचको सडकको अवस्था सबै भन्दा नाजुक छ । ‘सदरमुकाम नारायण नगरपालिकाभित्रका सबै सडक मर्मत सुधार नभएको वर्षौं बितिसकेको छ,’ स्थानीय यमराज थापाले, ‘२०५३ सालमा बनाइएका ती सडकको स्तरोन्नतिमा जनप्रतिनिधिले ध्यानै दिएनन् ।’ सडक सुधारका नाममा वर्षेनि करोडौं रकम खर्च गरिए पनि जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमा झारा टार्ने काम मात्र भएको उनको आरोप छ । ‘असारमा टालटुल पारेको सडक भदौसम्ममा बिग्रिसक्छ,’ उनले भने । विकास निर्माणमा अनुगमन नहुँदा बजेटको दुरुपयोग भएको उनको टिप्पणी छ । 

नारायण नगरपालिकाका इञ्जिनीयर हिक्मत रोकायले पछिल्लो २ आर्थिक वर्षमा सदरमुकामका सडक स्तरोन्नतिका लागि झन्डै २ करोड रुपैयाँ खर्च भएको बताए । ‘पछिल्लो २ आर्थिक वर्षमा सदरमुकामका सडक स्तरोन्नतिका लागि १ करोड ९८ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘बजेट फ्रिज हुने डरले असार अन्तिममा रातारात कालोपत्रको काम गरिएकाले गुणस्तरीय नभएको हुन सक्छ ।’ साहारे खानेपानी आयोजनाले पटक–पटक बीच सडकमै खाल्डो खन्ने गरेकाले पनि समस्या भएको उनले बताए । यता नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले भने ठेकेदारले इस्टिमेट अनुसारको काम नगर्दा गुणस्तरीय नभएको बताएका छन् । सदरमुकामको बीचमा पर्ने सडक एकदम साँघुरो छ । नयाँ बन्ने घरटहराले सडक अतिक्रमणको चपेटोमा परेको छ । 

राजधानी पुग्ने सडक जोखिमपूर्ण 
२०४९ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको दैलेख–सुर्खेत सडक नाजुक बन्दै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने मुख्य सडक जीर्ण हुँदा पनि सरोकारवाला पक्षले चासो दिएको छैन । यसले गर्दा प्रदेशवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बढ्दो सवारी चाप र लामो समयदेखि स्तरोन्नति नभएका कारण सडक जीर्ण बनेको हो । खाल्डाखुल्डीका कारण यो सडकमा सवारी दुर्घटनाको जोखिम बढेको छ । निर्माणाधीन पुलहरू  पनि अलपत्र छन् । २०६६ सालमा कालोपत्र गरिएको यो सडक त्यसपछि मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको हो । उक्त सडकखण्ड अन्तर्गत गुराँस गाउँपालिकाको सियाकोट नजीक एक खोलामा आधा काम भएको पुल नै जोखिममा छ । 

जिल्ला ट्राफिक कार्यालय, दैलेखका अनुसार खाल्डाखुल्डीका कारण सवारीसाधन दुर्घटनामा पर्ने उच्च जोखिम बढेको छ । जब वर्षात् शुरू हुन्छ, तब मात्र काम गर्ने प्रवृत्तिले करोडौं बजेट बालुवामा पानी हाले सरह भएको उपभोक्ता बलबहादुर बुढाले गुनासो गरे । ‘सडक कार्यालयको फितलो अनुगमनका कारण ठेकेदारले झारा टार्ने काम मात्र गर्ने गरेका छन्,’ उनले भने ।
 

प्रतिक्रिया दिनुहोस्