arthik abhiyan
ad banner

नेपाल भ्रमण वर्ष २०२० : सुदूरपश्चिम प्रदेश समितिले अझै पाएन जिम्मेवारी

Sep 4, 2019 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । नेपाल भ्रमण वर्ष २०२० का लागि केन्द्र सरकारले गठन गरेको सुदूरपश्चिम प्रदेश समितिले अझै जिम्मेवारी पाउन सकेको छैन । भ्रमण वर्ष शुरू हुन केही महीना मात्र बाँकी हुँदा पनि प्रदेश समितिले जिम्मेवारी नपाएको समितिका संयोजक परमानन्द भण्डारीले बताए ।

भ्रमण वर्षभर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले ७ ओटै प्रदेशमा प्रदेश समितिहरू गठन गरेको थियो । सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट अध्यक्ष, मुख्यमन्त्री त्रिलोचन भट्ट संरक्षक तथा सहसंयोजक प्रदेशका मुख्यसचिव रहने गरी सरकारीस्तबाट समिति गठन गरिएको थियो, जसको संयोजकमा निजी क्षेत्रबाट परमानन्द भण्डारी चयन गरिएको थियो । समितिमा कैलाली, कञ्चनपुर र डँडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्षलाई समितिको सदस्यमा चयन गरिएको छ । 

निजी क्षेत्रबाट विशेष गरी पर्यटन क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका पर्यटन व्यवसायी गोपाल हमाल, मायाप्रकाश भट्ट, मानबहादुर शाही कलम बमलगायत १४ जना सदस्य रहेको उक्त समितिले अहिलेसम्म कुनै जिम्मेवारी नपाएको संयोजक भण्डारीले बताए । भ्रमण वर्ष सफल पार्न सरकारले सरकारी र निजी क्षेत्रको सहभागितामा समिति चयन गरेपनि अहिलेसम्म कुनै बैठक नै बस्न नसकेको यहाँको निजी क्षेत्रले गुनासो गरेको छ । 
‘भ्रमण वर्ष आउन अब धेरै समय छैन, तर ठोस तयारी अझै अघि बढ्न सकेको छैन,’ समितिका सदस्य मायाप्रकाश भट्टले भने, ‘यहाँका सम्भावनाहरू पहिचानमै ढिलाइ भइरहेको छ ।’ समितिमा सरोकारवाला पक्ष सबैको सहभागिताले मात्रै सुदूरपश्चिममा पर्यटक आगमन बढाउन सकिने संयोजक भण्डारीले बताए ।

सुदूरपश्चिमका पर्यटकीय सम्पदाहरूको प्याकेज निर्माण, होटलमा छूटको व्यवस्था, शुक्लाफाँटा निकुञ्ज प्रवेशमा विशेष छूट तथा जिल्लागत रूपमा प्रमुख पर्यटकीय गन्तव्य स्थल र सहायक पर्यटकीयस्थलको प्याकेजमै व्यवस्था गरेर विशेष गरी भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने व्यवसायी बताउँछन् । यसका लागि प्रत्येक जिल्लामा समिति गठन आवश्यक देखिएको भण्डारीले बताए । 

सन २०१८ मा नेपालमा ११ लाख पर्यटक भित्रिएको सरकारी तथ्यांक रहेकोमा सुदूरपश्चिममा जम्मा तीनहजार मात्रै पर्यटक पुगेको उल्लेख छ । यद्यपि, पर्यटकको उक्त संख्या अझै धेरै भए पनि भन्सार नाकामा तथ्यांक संकलन केन्द्र तथा पर्यटकको अभिलेख राख्ने व्यवस्था नहुँदा कम देखिएको व्यवसायी बताउँछन् । 

कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष समेत रहेको भण्डारीले कञ्चनपुर भ्रमणमा आउने पर्यटकका लागि बासको समस्या नरहेको बताए । जिल्लाभित्र सञ्चालित होटलहरूमा मात्रै करीब ३ अर्ब लगानी भइसकेकाले सुविधाअनुसारको बासको लागि समस्या नभएको उनको भनाइ छ । न्यू आनन्द होटलका सञ्चालक भण्डारीले पछिल्लो समय आफ्नो होटललाई समेत स्तरोन्नति गर्न रू. १० करोड लगानी थप गरेको जानकारी गराए । भ्रमण वर्षका लागि भारतीय शहरमा पनि प्रचारप्रसार गर्न सकिने भएकाले समितिको कामकारबाही अघि बढाउन ढिलाइ गर्न नहुने व्यवसायीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्