arthik abhiyan
ad banner

राष्ट्रिय शिक्षा तथा अन्तरराष्ट्रिय साक्षरता दिवस मनाइँदै

Sep 5, 2019 
शिक्षा
NA
author avatar अभियान संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्जनौं कार्यक्रम आयोजना गरी ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तरराष्ट्रिय साक्षरता दिवस मनाउने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सोमवार आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । आगामी भदौ २२ गते पर्ने दिवसलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिँदै छ ।

समारोह सफल बनाउन विभिन्न ६ उपसमिति बनाएर काम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । राष्ट्रपति कार्यालय र नेपाल प्रज्ञा प्रतिष्ठानमा दिवस लक्षित मुख्य कार्यक्रम हुनेछन् । यसबाहेक उक्त अवसरमा शैक्षिक स्मारिका प्रकाशन, पत्रिकाहरूमा विशेषांक प्रकाशन, आम सञ्चार माध्यमबाट परिसंवादका साथै विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने भएको छ । यस्तै साक्षरता सम्बन्धी डकुमेन्ट्री, वृक्षरोपण र सरसफाइ कार्यक्रम समेत हुने जानकारी दिइएको छ ।

यसैगरी, साक्षरता सम्बन्धी लोकदोहोरी, झाँकी, र्‍याली र निबन्ध प्रतियोगिता र खेलकुदका कार्यक्रम गरिनेछ । समारोह स्थल बाहिर विभिन्न स्टल तथा प्रदर्शनी हुनेछ । कार्यक्रममा बहुभाषिक साक्षरता सामग्री विकास र साक्षरताका लागि उल्लेख्य कार्य गर्ने व्यक्ति, पदाधिकारी र संस्थालाई सम्मान तथा प्रशंसापत्र वितरण गरिने उल्लेख छ ।

सह–क्रियाकलाप तथा सांस्कृतिक कार्यक्रम सञ्चालन समितिले १९ गते साक्षरता सम्बन्धी विषयमा लोकदोहोरी र वादविवाद प्रतियोगिता गर्ने भएको छ । यसैगरी स्टल, मञ्च तथा प्रदर्शनी व्यवस्थापन समितिले  मूल समारोह स्थलमा २२ गते साक्षरता र शिक्षा सम्बद्ध संस्थाको स्टल प्रदर्शनी गर्नेछ ।
अन्तरराष्ट्रिय साक्षरता दिवसको नारा ‘साक्षरता र बहुभाषिकता’ रहे पनि त्यसअनुसार काम हुन नसकेको सरोकारवालाले औंल्याएका छन् । ‘साक्षरता उन्मूलन गर्ने सरकारको लक्ष्य हो,’ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले भने, ‘यस वर्ष ७० जिल्ला साक्षर भइसक्नेछन् । बाँकी जिल्लामा अझै २ वर्ष लाग्छ ।’ हालसम्म ५१ जिल्ला साक्षर भएको घोषणा गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्