arthik abhiyan
ad banner

कलेज प्रोफाइल : आविष्कार केन्द्र स्थापना गर्दै काठमाडौं डनबस्को

Sep 9, 2019 
शिक्षा
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं डनबस्को कलेजसँग २ दशकभन्दा बढी समयदेखिको गुणस्तरीय शिक्षा र सिक्ने वातावरण प्रदान गरेको अनुभव छ । म्यानेजमेन्टका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले यो कलेज २०५४ सालमा स्थापना गरिएको थियो । 

विद्यार्थीका कल्पनालाई प्रेरणाका माध्यमबाट प्रकाशमा ल्याउँदै र पहिचान गर्दै भविष्यको कुशल नेतृत्व छनोट गर्नु कलेजको लक्ष्य हो । त्यसैले सिकाइका लागि उत्कृष्ट स्थान दिने हेतुले कलेजले आप्mना गतिविधि सञ्चालन गर्दै आएको छ । विद्यार्थीको क्षमताको पूर्ण सदुपयोग गर्दै उनीहरूलाई सफल करीअरको मौका प्रदान गर्ने कलेजको ध्येय छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज काठमाडौंको लाजिम्पाटमा रहेको छ । भौतिक पूर्वाधारले सम्पन्न उक्त कलेजमा मैत्रीपूर्ण वातावरणमा अध्ययन अध्यापन हुने गरेको छ । कलेजले बीबीए, एमबीए र ईएमबीएको शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

उच्च शैक्षिक स्तरका कारण यहाँका विद्यार्थीको नतीजा पनि निकै राम्रो छ । कलेजले एमबीएतर्फ १७ र ईएमबीएतर्फ चौथो ब्याच उत्पादन गरिसकेको छ । 

एमबीएतर्फको पछिल्ला ५ ब्याचको उच्च जीपीए ३ दशमलव ८२ र ईएमबीएको हालसम्मका ४ ब्याचकै नतीजामध्ये ३ दशमलव ८३ उच्च जीपीए छ । 

कलेजबाट हालसम्म १ हजारले बीबीए पास गरेका छन् । त्यसैगरी २०६७ सालयता एमबीए र ईएमबीएमा गरी ४५० ग्य्राजुएट्सहरू छन् । कलेजले वित्तीय तथा कर्पोरेट क्षेत्रसँगको सहकार्यमा विद्यार्थीलाई इन्टर्नशिपका लागि पठाउने गरेको छ । यहाँका विद्यार्थीले बैंक, इन्स्योरेन्स, ट्रेडिङ हाउस जस्ता संस्थामा सहजै अवसर पाउने गरेका छन् । रोजगारीका लागि आफूलाई उपयुक्त हुने यस्ता ठाउँ विद्यार्थीले आफै पत्ता लगाउँछन् । कुनै समस्या आए कलेजले उनीहरूलाई सहयोग गर्दछ । 

कलेजले प्रत्येक महीना आफ्नो वेबसाइट अद्यावधिक गर्दै आएको छ । वेबसाइटमा शैक्षिक, सामाजिक र विद्यार्थीका गतिविधि समावेश छन् । 

कलेजले सामाजिक सञ्जाल अन्तर्गत फेसबुक, ट्वीटर र इन्स्टाग्राममा आफ्नो अकाउन्ट दर्ता गरी नियमित अपडेट पनि गर्ने गरेको छ । त्यसमा पनि फेसबुकमा दैनिक रूपमा हुने कलेजका गतिविधिका फोटो र भिडियो समेत प्रकाशित गरिन्छ । कलेजले आफ्नो भिजन, मिशन र गोल वेबसाइटमा सबैले बुझ्नेगरी राखेको छ ।

कलेजको आफ्नै प्रकाशनमा हालसम्म त्रैमासिक समाचारपत्र प्रकाशित गर्दै आएको छ । विद्यार्थीलाई रोजगारीसँग जोड्ने उद्देश्यले कलेजले २ वर्षमा एकपटक रोजगार मेला आयोजना गर्छ । कलेजले २ वर्षअघि आयोजना गरेको मेलामा नेपालका बैंक तथा वित्त, उत्पादनमूलक, इन्स्योरेन्स लगायत क्षेत्रका कम्पनी सहभागी भएका थिए । उक्त मेलामार्फत कलेजका उत्कृष्ट विद्यार्थीले रोजगारी पाएका थिए । 

त्यसैगरी कलेजको पूर्व विद्यार्थीको सञ्जाल (अलुम्नाई नेटवर्क) पनि छ । यसले २ वर्षदेखि विद्यार्थीलाई इन्टर्नशिप तथा रोजगारी दिलाउन ठूलो सहयोग गरेको छ । यस वर्ष त्यसलाई अझ विस्तार गरी अलुम्नाईसँगको समन्वयमा आविष्कार केन्द्र स्थापना गर्ने कलेजको योजना छ । 

कलेजमा उद्यामशीलता विकासका लागि विभिन्न प्रोजेक्टको विषयमा छलफल हुने गर्छ । विद्यार्थीको नयाँ योजनाका लागि विज्ञहरूको सुझाव पनि लिने गरिन्छ । साथै कलेजले अर्धवार्षिक रूपमा व्यवसायी, सेलिब्रेटी, सीईओ र खेलाडी सहितको ‘प्यानल डिस्कशन’को कार्यक्रम गर्छ, जहाँ सहभागीहरूले विद्यार्थीसँग आफ्ना अनुभव साटासाट गर्दछन् ।  

पछिल्लो समय विश्वभरि नै व्यवस्थापन शिक्षाको महत्त्वपूर्ण उपलब्धि कलेजले विद्यार्थीलाई व्यवसायी बनाउनु हो भन्ने मान्यता विकास हुँदै गएको छ । यसका लागि काठमाडौं डन बस्को कलेजले ‘इन्क्युबेशन सेन्टर’को स्थापना नै गरेर विभिन्न योजनाबारे छलफल गर्ने, विद्यार्थीका योजनाका लागि विज्ञहरूका सुझाव लिने र व्यावसायिक रूपमा महत्त्वपूर्ण योजनालाई रकम समेत प्रदान गर्ने गरेको छ । 

कलेजले आफ्ना नियमित शिक्षकबाहेक देशभित्रकै उद्योगी, बैंकर, कर्पोरेट हाउसका सीईओ, सेलिब्रेटीका साथै अन्तरराष्ट्रिय गेस्ट लेक्चरका माध्यमबाट विद्यार्थीलाई व्यावसायिक दुनियाँको ज्ञान प्रदान गर्दै आएको छ । कोर्स पढाउने बाहेक कलेजमा व्यक्तित्व विकास तथा मानव संसाधन विकासका हिसाबले विभिन्न शर्टकोर्स, कार्यशाला एवं तालीम समेत सञ्चालन गरिन्छ । यस अन्तर्गत एक्सेल ट्रेनिङ क्लास, प्रतिवेदन लेखन, एसपीएसएस तालीम, प्रिजेन्टेशन क्षमता अभिवृद्धि कक्षा, आध्यामिक सचेतना कक्षा, डिजिटल मार्केटिङ कक्षा, ट्याली सफ्टवेयर कक्षा लगायत कार्यक्रम छन् । 

अतिरिक्त क्रियाकलाप अन्तर्गत कलेजले इभेन्ट म्यानेजमेन्ट, स्पोर्ट्स विक, वेलकम एन्ड फेयरवेल, सेमिनार सेरिज, मार्केटिङ प्लान कम्पिटिशन, अभिमुखीकरण कार्यक्रम, औद्योगिक भ्रमण, राष्ट्रिय तथा अन्तरराष्ट्रिय भ्रमण, व्यवसाय प्लान कम्पिटिशन र आइडिया पिचिङ सेसन लगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


 

प्रतिक्रिया दिनुहोस्