arthik abhiyan
ad banner

अर्थमन्त्रीको गुनासो

Sep 10, 2019 
सम्पादकीय
NA

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रका सूचकांक सकारात्मक रहे पनि भ्रम फैलाउने काम भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १० औं वार्षिक साधारणसभाको उद्घाटन गर्ने मन्त्री खतिवडाले नेपाल सरकारले दिएको तथ्यांक सही छैन भनेर आफ्नो अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम नगर्न समेत सुझाए ।
 
उनले अर्थतन्त्रको सूचकहरू सकारात्मक रहेको दाबी गरे पनि त्यो सर्वसाधारणले अनुभूत गर्न सक्ने खालको नभएकाले कतिपयले त उनलाई असफल अर्थमन्त्री नै भन्न थालेका छन् । यद्यपि उनका कामहरूको प्रभाव देखिन भने अझै केही समय कुर्नुपर्ने नै हुन्छ ।

सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । गतवर्ष ७ दशमलव १ प्रतिशत वृद्धिदरलाई अर्थमन्त्रीले आफ्नो सफलतासँग जोडेका छन् । उनले त्यो आर्थिक वृद्धिको आधार प्रदेश र स्थानीय तहमा साधनस्रोतको समन्यायिक ढंगले वितरण गरिनुलाई मानेका छन् । तर, प्रदेश र स्थानीय तहमा विकास खर्चको अवस्था केन्द्रका जस्तै सन्तोषजनक छैन । लक्षित आर्थिक वृद्धिदर प्राप्त गर्न सरकारले विकास खर्च गर्न सक्नुपर्छ । त्यसो भएमा निजीक्षेत्रले पनि लगानी बढाउँछ । तर, विकास खर्च र निजी लगानीका आँकडा हेर्दा अर्थमन्त्रीको भनाइमा सहमत हुन सक्ने स्पष्ट आधार देखिँदैन ।

हो, उनले दाबी गरेजस्तै बैंक र बीमाको पहु“च निकै बढेको छ । तर, पूँजीबजारले भने अर्थमन्त्रीप्रति सकारात्मक प्रतिक्रिया देखाएको देखिँदैन । पूँजीबजारमा थुप्रै सुधार भए पनि तथा प्रमुख कम्पनीहरूको मुनाफा राम्रै भएको देखिए पनि अर्थमन्त्रीका भनाइकै कारण लगानीकर्ताको मनोबल खस्किएको भनाइ धेरै लगानीकर्ताको पाइन्छ । यस्तोमा अर्थमन्त्रीले समग्र अर्थतन्त्रलाई ध्यान दिने हो, पूँजीबजार प्राथमिकता होइन भन्ने उनको भनाइ सही हो ।

त्यसो भए समग्र अर्थतन्त्रमा कत्तिको सुधार आएको छ त ? अर्थमन्त्रीले तथ्यांकबारे भ्रम फैलाए भन्नुभन्दा अर्थतन्त्रका समग्र तथ्यांक सार्वजनिक गर्न सक्नुपर्थ्यो । तर, कति बजेट खर्च भयो भनेर महालेखा नियन्त्रकको कार्यालयले हेर्न पाउने सुविधासमेत खोसेपछि उनको भनाइलाई पत्याउने कसरी ?

अर्को, अर्थमन्त्रीले प्रयास गर्दागर्दै पनि विकास खर्च कम हुने प्रवृत्तिमा खासै सुधार आउन सकेको देखिँदैन । असारे विकासले नै प्राथमिकता पाएको देखिन्छ । यद्यपि चालू वर्षको बजेटमा त्यसबारेमा नीतिगत व्यवस्थाहरू गरिएका छन् जसको परिणाम आगामी वर्षहरूमा देखिनेमा आशावादी बन्न सकिन्छ ।

उद्योगहरूको संख्या त बढेको छ तर ठूला उद्योगको संख्या आशालाग्दो गरी थपिएको देखिँदैन । अर्थात्, धेरै रोजगारी सृजना गर्ने तथा आयात प्रतिस्थापन गर्ने खालका उद्योग खुलेका छैनन् भने हुन्छ । त्यसमाथि सरकारद्वारा करमाथि कर लगाइएको आरोप निजीक्षेत्रको छ । पछिल्लो समय पैत्रिक सम्पत्ति हस्तान्तरणमा कर लगाउने सरकारी तयारीले निजीक्षेत्रलाई थप तरंगित बनाएको छ ।
 
वैदेशिक लगानीको प्रतिबद्धता आए पनि लगानी नै भित्र्याउन नसकेको कुरा अर्थमन्त्री खतिवडा आफैले स्वीकारेका छन् । त्यस्तै दाताहरू नेपाललाई सहयोग गर्न इच्छुक हुँदाहुँदै पनि त्यो ल्याउन नसकिएको अर्थात् स्रोत भएर पनि खर्च गर्न नसकेको पनि उनले स्वीकारेका छन् । डुइङ बिजनेशमा नेपालको अवस्था खस्कनुमा अघिल्ला सरकारका तथ्यांकहरू कारण हुन् । लगानीको वातावरण सुधार्न कानून निर्माण, नियमन, सुशासन, प्रशासकीय व्यवस्था, आदि पक्ष राम्रो हुनुपर्छ । यसलाई सुधार्ने लक्ष्य लिएको अर्थमन्त्रीको भनाइ छ ।
 
त्यसो त उनले अर्थमन्त्री बन्नेबित्तिकै जारी गरेको श्वेतपत्र नै विवादमा परेको थियो । तथ्यांकहरूलाई तोडमरोड गरेको आरोप लागेको थियो । अर्थतन्त्र खत्तम भएको अवस्थामा आफूले अर्थतन्त्रको बागडोर सम्हालेको आशय देखाउन खोज्दा विश्वमा गलत सन्देश गएकाले नै विदेशी लगानी भित्रिन कठिन भएको भन्ने धेरैको विश्लेषण पाइन्छ ।
 
मुलुकको व्यापारघाटा वृद्धि र शोधनान्तर स्थितिमा परेको दबावले अर्थतन्त्र संकटतर्फ लाग्न थालेको भन्दै अर्थशास्त्रीहरूले चिन्ता प्रकट गर्न थालेका छन् । यस्तोमा अर्थमन्त्रीले सरकारी खर्चमा व्यापक कटौती गरेर अर्थतन्त्रलाई सही बाटोतर्फ लैजानुपर्ने हो । तर, आधार तयार हुँदै छ, कानून बन्दै छ जस्ता कुराले अर्थतन्त्र सही बाटोमा आइहाल्ने होइन ।
 

प्रतिक्रिया दिनुहोस्