arthik abhiyan
ad banner

नेपाल–चीनबीच तीन सम्झौता 

Sep 10, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल र चीनबीच सोमवार काठमाडौंमा भएको उच्चस्तरीय वार्तामा तीन सम्झौता भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी विदेशमन्त्री वाङ यीको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

समझदारी पत्रअनुसार चीनले मनाङमा रू. ३५ करोेडमा अस्पताल निर्माण गरिदिने, भूकम्पपीडितलाई ५ हजार थान पाल उपलब्ध गराउने र नेपाली शैक्षिक संस्थामा चिनियाँ भाषा अध्यापन गराउन चिनियाँ स्वयंसेवक सहयोग गर्ने भएको छ । समझदारीपत्र हस्ताक्षर हुनुअघि नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।  

वार्तामा तीन वर्षअघि नेपाल र चीनबीच भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), अन्तरदेशीय विद्युत् प्रसारण लाइन, केरुङ– रसुवागढी–टोखा रेलवे परियोजनाबारे पनि छलफल भएको थियो । यद्यपि, यसबारे कुनै औपचारिक निर्णय भने नभएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव शंकरदास वैरागी, अर्थसचिव राजन खनाल र परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी थिए ।

त्यस्तै चीनका तर्फबाट विदेशमन्त्री यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तरराष्ट्रिय विकास सहायता नियोगका उपाध्यक्ष, विदेश मन्त्रालयको एशिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारीहरू सहभागी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली र चिनीयाँ विदेशमन्त्री यीबीच सोमवार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । 

भेटका अवसरमा नेपाल–चीन सम्बन्धलाई अझ उचाइमा पु¥याउने, विगतको चीन भ्रमणको बेला भएका सहमति कार्यन्वयन गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले  जानकारी दिए ।

चीनका विदेशमन्त्री यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतवार काठमाडौं आइपुगेका हुन् । 

प्रतिक्रिया दिनुहोस्