arthik abhiyan
ad banner

यातायात समितिको रोक्का बैंक खाता फुकुवा

Sep 10, 2019 
यातायात
NA
author avatar अभियान संवाददाता


काठमाडौं । नेपाल राष्ट्र बैंकले रोक्का गरेको यातायात समितिको बैंक खाता फुकुवा हुने भएको छ । सोमवार राष्ट्र बैंकले वित्तीय संस्थालाई निर्देशन दिँदै रोक्का गरिएका २४५ ओटा खाता फुकुवा गर्न निर्देशन दिएको हो ।

२०७४ चैतमा समितिले कर छलेको भन्दै यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गरी समितिलाई कम्पनीमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीले कम्पनीमा जान अटेर गरेपछि सरकारले २०७५ वैशाखमा समितिको खाता रोक्का गर्न वित्तीय संस्थालाई निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा बैंकहरूले २०७५ वैशाखदेखि समितिको खाता रोक्का गरेका थिए । त्यतिबेला देशमा ३०७ ओटा यातायात समिति भए पनि सहकारी संस्थामा खाता भएका समितिको खाता भने रोक्का गर्न सकिएको थिएन ।

पटक–पटकको म्याद थपपछि सरकारले २०७५ फागुन १८ मा अन्तिम पटक जेठ १८ गतेसम्म कम्पनीमा दर्ता हुन यातायात समितिहरूलाई निर्देशन दिएको थियो । यसै आधारमा सरकारले यस्ता समितिलाई कम्पनीमा रूपान्तरण गरी यातायात समिति खारेज गरेको छ ।

गत साउन १६ गते मन्त्रिपरिषद्ले कम्पनीमा रूपान्तरण भइसकेका समितिको रोक्का बैंक खाता फुकुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले भदौ १२ गते राष्ट्र बैंकलाई पत्राचार गर्दै साविकका सबै यातायात समितिका बैंक खाता फुकुका गर्न भनेको थियो । सोही पत्रका आधारमा रोक्का बैंक खाता फुकुवा गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार प्रदेश नम्बर १ का ३२, प्रदेश २ का १०, प्रदेश ३ का १ सय १८, प्रदेश ४ का २४, प्रदेश ५ का ४०, प्रदेश ६ का १२ र प्रदेश ७ का ९ गरी २४५ ओटा समितिका बैंक खाता फुकुवा गर्न निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्