arthik abhiyan
ad banner

अलिबाबाका अध्यक्षबाट सेवामुक्त भए ज्याक मा

Sep 11, 2019 
अन्तरराष्ट्रिय
Image Not Found


अलिबाबाकै कारण मा चीनको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्सका अनुसार उनको सम्पत्ति साढे ३८ अर्ब डलरभन्दा धेरै छ ।  साङ्हाई (चीन) । चिनियाँ अनलाइन कम्पनी अलिबाबाका अध्यक्ष ज्याक माले औपचारिक रूपमै आफ्नो पद छोडेका छन् । मंगलवार शिक्षा दिवसको अवसर पारेर माले अध्यक्षको पदबाट राजीनामा दिएका हुन् । गत वर्ष नै उनले आफ्नो जन्म दिन अर्थात् सेप्टेम्बर १० मा कम्पनी छाड्ने घोषणा गरेका थिए । 

सन् १९९९ मा केही साथीहरूसँग मिलेर ६० हजार डलरको लगानीमा माले स्थापना गरेको उक्त कम्पनी अहिले विश्वको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी बनेको छ । कम्पनीको इ–कमर्श व्यवसाय सुस्ताइरहेको बेलामा साढे ४ खर्ब डलरभन्दा ठूलो कम्पनीलाई उनले आपैmले छानेका उत्तराधिकारी ड्यानिएल चाङको हातमा छाडेका छन् । चाङ कम्पनीका प्रमुख कार्यकारी पनि हुन् । 

आफ्नो कम्पनीबाट बाहिरिने उनी प्रमुख चिनियाँ इन्टरनेट कम्पनीका पहिलो संस्थापक हुन् । ‘मलाई लाग्छ ज्याक मा जस्तो व्यक्तिलाई विस्थापित गर्न निकै गाह्रो हुनेछ,’ चीनका ठूला प्रविधि कम्पनीबारे पुस्तक लेखेकी लेखिका रेबेका फनिन भन्छिन् । मा चिनियाँ स्टिभ जब्स भएको उनको भनाइ छ । 
चीनको अनलाइन बजार परिपक्व बन्दै गएको छ । यस्तोमा वृद्धिको नयाँ क्षेत्र खोज्नु चाङको प्रमुख चुनौतीहरूमध्ये एक हुने विश्लेषकहरू बताउँछन् । माले अध्यक्ष पद छाडे पनि अलिबाबा पार्टनरसिपको सदस्यका रूपमा भने कम्पनीमा रहिरहनेछन् । ३६ जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरू छान्ने अधिकार राख्दछ । अमेरिका–चीन बीचको महशुल युद्धका कारण कम्पनीको व्यवसाय नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको समयमा माको बहिर्गमनले कम्पनीमा कस्तो असर पर्छ, त्यो भने हेर्न बाँकी नै छ । 

चिनियाँ खुद्रा बजारमा हाल अमेरिकी कर वृद्धिले ठूलै असर पारेको छ । अमेरिकाले चीनबाट आयातित सामानमा गरेको करवृद्धिले त्यहाँका बजारमा चिनियाँ सामग्री प्रवेश महँगो हुँदै गएको छ । अनलाइन विक्रीमा पनि सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिमा करीब १८ प्रतिशतले घटेको छ । चीनको आर्थिक वृद्धिमा मन्दी आएको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा कम्पनीको मुनाफा भने सो अवधिमा करीब ३ अर्ब डलरले बढेको कम्पनीले बताएको छ । 
अलिबाबाको इ–कमर्श प्लेटफर्मबाट गत वर्ष ८ खर्ब ५३ अर्ब डलर बराबरको कारोबार भएको थियो । तर, अमेरिकाको सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अमेजनबाट २ खर्ब ७७ अर्ब डलरको कारोबार भएको थियो ।     

को हुन् मा ?
माको जन्म पूर्वी चीनको हाङचाउ शहरमा सन् १९६४ को सेप्टेम्बर १० मा एक गरीब परिवारमा भएको थियो । उनले आप्mनो करियरको शुरुआत शिक्षण पेशाबाट गरेका थिए । कम्प्युटिङको पृष्ठभूमि नै नभएको माले १७ जना साथी र विद्यार्थीहरूसँग मिलेर सन् १९९९ मा आप्mनै अपार्टमेन्टमा अलिबाबाको स्थापना गरेका थिए । आफ्नो अनलाइन मार्केटप्लेसमा लगानी गर्न उनले साथीहरूलाई निकै मनाउनु परेको थियो । यसअघि पनि कम्पनी स्थापना गर्ने उनको दुईओटा प्रयास असफल भइसकेको थियो । तर, अलिबाबाबाट भने उनले निराश हुनु परेन । 

समय बित्दै जाँदा अलिबाबा अनलाइन मार्केटप्लेसबाट विशाल इ–कमर्श कम्पनी बन्यो । अहिले अलिबाबाको सम्पत्ति ४ खर्ब ८० अर्ब डलर पुगेको छ । अलिबाबाकै कारण मा पनि चीनको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । अमेरिकी व्यावसायिक पत्रिका फोब्र्सका अनुसार उनको सम्पत्ति साढे ३८ अर्ब डलरभन्दा धेरै छ । सन् २००३ मा इ–कमर्श कम्पनीका रूपमा विस्तार हुनुपूर्व अलिबाबाले व्यवसायीहरूका लागि ट्रेडिङ मञ्चको रूपमा काम 
गर्ने गर्थ्यो । 

मामा प्रविधिको खासै ज्ञान नै थिएन अनि उनीसँग धेरै पैसा पनि थिएन । 

तर प्रतिभा र रणनीतिक दृष्टिकोण नै माको सबैभन्दा ठूलो सम्पत्ति बन्योे । कर्मचारी, उपभोक्ता र मुख्यतः शेयरधनीहरूलाई मनाउन सक्ने उनको क्षमता राम्रो छ । यस मामिलामा उनी जादूगर नै हुन् भने पनि हुन्छ । तर माले अबको दिनमा परोपकार र शिक्षामा आफ्नो समय दिने योजना बनाएका छन् । कुनै समय अंग्रेजीका शिक्षकबाट आफ्नो करियर शुरू गरेका माले असल शिक्षक बन्ने धोको लिएका छन् । एजेन्सी


 

प्रतिक्रिया दिनुहोस्