arthik abhiyan
ad banner

स्थानीय तहमा बैंकहरूको उत्साहजनक सहभागिता

७३५ स्थानीय तहमा पुग्यो बैंकिङ सेवा

Sep 11, 2019 
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । स्थानीय तहमा वाणिज्य बैंकहरूको उत्साहजनक सहभागिता देखिएको छ । भौगोलिक विकटता, यातायात, विद्युत्जस्ता पूर्वाधारको अभाव भएको नेपालजस्तो मुलुकमा सबै स्थानीय तहमा बैंकको शाखा स्थापना गर्न चुनौती थियो । तर, उक्त चुनौतीका माझ पनि २८ वाणिज्य बैंकहरू सबै स्थानीय तहमा शाखा स्थापना गर्ने लक्ष्यमा लगभग नजीक पुगेका छन् । 

मुलुककै विकट मानिने डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकाका नागरिक पनि बैंकिङ सेवाबाट लाभान्वित भएका छन् । स्थानीय तहमा शाखा स्थापना गर्ने नीति ल्याउँदा दूरदराजका नागरिक पनि बैंकिङ सेवाबाट लाभान्वित हुन पाएको नेपाल राष्ट्र बैंकको भनाइ छ । हालसम्म वाणिज्य बैंकहरू ९८ प्रतिशत अर्थात् ७३५ स्थानीय तहमा शाखा स्थापना गरेर आम जनतालाई बैैंकिङ सेवा प्रदान गर्न सफल भएका छन् । हाल नेपालमा ७५३ स्थानीय तह छन् । 

२०७५ असार मसान्तसम्म ६३१ स्थानीय तहमा बैंकको शाखा पुगेको थियो । गत आवमा थप १०४ स्थानीय तहमा बैंकको शाखा स्थापना भएको देखिन्छ । २०७४ असार मसान्तसम्म भने २९६ स्थानीय तहमा मात्र बैंकिङ पहुँच पुगेको थियो । समग्र बैंक तथा वित्तीय संस्थाको शाखा संख्या भने ८ हजार ६८६ पुगेको छ । यस्तै, यो वर्ष २० ओटा बैंक तथा वित्तीय संस्था थपिएका छन् । बैंक तथा वित्तीय संस्थाको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७६ असार मसान्तमा १७१ पुगेको तथ्यांकले देखाउँछ । 

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । सम्बन्धित १८ स्थानीय तहमा यातायात, ऊर्जाजस्ता न्यूनतम पूर्वाधारका अभावका कारण शाखा स्थापना गर्न नसकिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाको भनाइ छ । उनले भने, ‘ती स्थानीय तहमा आवश्यक घर तथा सुरक्षाको अभाव देखियो । यद्यपि, हामी ती ठाउँमा पनि बैंकलाई शाखा स्थापना गर्न भन्दै आएका छौं ।’

बैंकिङ पहुँचका हिसाबमा यस्तो अवस्था अमेरिकाजस्तो मुलुकमा पनि नभएको प्रवक्ता निरौलाको भनाइ छ । उनले भने, ‘आवश्यक पूर्वाधारको अभावका बीच पनि सबै स्थानीय तहमा बैंकको शाखा पुग्दै छ, यसलाई सकरात्मक ढंगले लिनुपर्छ ।’ यद्यपि, स्थानीय तहमा बैंकहरूलाई शाखाको सञ्चालन खर्चसमेत धान्न भने कठिनाइ भएको पनि बताइन्छ । व्यवसाय कम हुने, कर्जाको माग नहुनेजस्ता कारणले शाखाको सञ्चालन खर्चसमेत धान्न कठिन भएको बैंकहरूले टिप्पणी गर्दै आएका छन् । तर, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले यस्तो अवस्थाबाट बैंकहरू आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए ।

स्थानीय अर्थतन्त्रमार्फत नै सञ्चालन खर्च धानिने र सँगै नाफा कमाउने अवसर पनि भएको उनको भनाइ छ । ‘विभिन्न चुनौतीका माझ यतिका स्थानीय तहमा बैंकको शाखा पुग्नु बैंकिङ क्षेत्रको सफलता हो । हाललाई नाफाको अपेक्षा गर्नु उपयुक्त हुँदैन,’ उनले भने, ‘तर स्थानीय तहका शाखाहरूले अबको १/२ वर्षभित्र बैंकलाई पनि फाइदा हुने गरी व्यवसाय ल्याउनुपर्छ ।’ 

नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै २०७५ असार मसान्तभित्र सबै स्थानीय तहमा शाखा स्थापना गर्न वाणिज्य बैंकहरूलाई निर्र्देशन दिएको थियो । तर, नेपालमा अधिकांश स्थानीय तहमा यातायात, इन्टरनेट लगायतका पूर्वाधारको अभाव देखिएपछि राष्ट्र बैंकले यसमा लचकता अपनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्