arthik abhiyan
ad banner

पाँच किलोमिटरको भाडा १३० !  

Sep 11, 2019 
प्रदेश ०४
Image Not Found
फाइल फोटो

भदौ २५, म्याग्दी । बेनीको महारानी थानदेखि बेनी नगरपालिका–४ डाँडाखेत जोड्ने सडकमा यातायात सेवा दिने व्यावसायीले मनोमानी भाडा असुल्ने गरेका छन् ।     

बेनी नगरपालिका, जिल्ला प्रशासन र यातायात व्यावसायीका प्रतिनिधिको बैठकबाट तय भएको भन्दा बढी भाडा असुलेका हुन् । सो सडक आसपासका थाकनपोखरी, डाँडाबारी, छापा, फुर्केसल्ला, कुँडुले, डाँडाखेत, सिस्नेराका बासिन्दा बस व्यावसायीको मनोमानीबाट ठगिएका छन् ।    

 महारानी थानदेखि डाँडाखेत हुँदै ठूलोखोलासम्मको कृषि सडकको दूरी ११ किलोमिटर छ । बेनीदेखि डाँडाबारीसम्मको साढें दुई किलोमिटर, फुर्केसल्ला पाँच किलोमिटर र डाँडाखेत सिस्नेरा आठ किलोमिटर छ । 

सो सडकमा राजन बानिया र शंकर किसानले जिपमार्फत यातायात सेवा दिँदै आएका छन् । सो सडकमा प्रतिकिलोमिटर रू.१५ का दरले भाडादर कायम भएको थियो तर उनीहरूले पाँच किलोमिटर दूरीको फुर्केसल्लासम्म यात्रा गरेको रू.१३० लिने गरेका छन् । बेनी नगरपालिका–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बढी भाडा असुलेको गुनासोका बारेमा उपभोक्ताले लिखित उजुरी गरेको बताए ।     
     
 वडा अध्यक्ष पौडेलले बेनीदेखि डाँडाखेत जोड्ने सडकमा रू. १०० प्रतिव्यक्ति भाडा कायम भएकोमा आफैंलाई समेत व्यावसायीले रू. १३० लिएको बताए । बेनी–दरवाङ सडकको बेनीदेखि ठूलोखोलासम्मको विकल्प मानिएको यो सडकबाट बेनी नगरपालिका–४, ५ र ६ का बासिन्दाले सेवा लिँदै आएका छन् ।

यस क्षेत्रमा २०० भन्दा बढी घरधुरीको बसोबास छ । पछिल्लो केही वर्षयता यो सडकलाई करोडौं रकम खर्चेर स्तरोन्नति पनि गरिएको छ । यातायात व्यावसायी बानियाँले डिजेलको मूल्य बढेको र कच्ची सडक भएसँगै गाडीको इञ्जिन बिग्रने, मर्मत खर्च बढी लाग्ने भएकाले आफूहरुले भाडा बढाएको प्रतिक्रिया दिए । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले लिखितरूपमा तोकिएकोभन्दा बढी भाडा लिएको विषयमा उजुरी नआएको र त्यस्तो सूचना पाएमा कारवाही गरिने बताए । 
म्याग्दीका अन्य ग्रामीण सडकमा चल्ने सवारी साधनहरुले पनि मनोमानी हिसाबले तोकिएको भन्दा बढी भाडा असुल्ने गरेको जनगुनासो छ ।     
     
 म्याग्दी यातायात प्रालिका कार्यवाहक अध्यक्ष लालबहादुर थापाले सामान ढुवानी र घरायसी प्रयोजनको मात्र अनुमति लिएका निजी गाडीले यात्रु बोकेर मनोमानी भाडा असुल्ने गरेको र त्यसको अपजस आफूहरुले भोग्नुपरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्