arthik abhiyan
ad banner

पर्यटन प्रवद्र्धनको पर्खाइमा नौबहिनी

Sep 13, 2019 
प्रदेश समाचार
Image Not Found
author avatar राजेश जीसी

नौबहिनीका पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधार नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती देखिएको छ ।

 

भदौ २७, प्यूठान । प्रशस्त सम्भावना भए पनि प्रचार प्रसारको अभावले प्यूठानको नौबहिनी गाउँपालिकामा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । यहाँ नौबहिनी झरना, नौबहिनी गुफा, नौबहिनी सुर्खेत, नौबहिनी मन्दिर, गौमुखी ताल, कटबरा दह, मलरानी गुफा लगायत दर्जनौं पर्यटकीय स्थल छन् । यो जिल्लाकै सबैभन्दा धेरै पर्यटन सम्भावना बोकेको गाउँपालिका समेत हो । तर आवश्यक भौतिक पूर्वाधार तथा प्रचार प्रसार अभावले पर्यटकीय गतिविधि बढ्न सकेको छैन । 

नौबहिनी आन्तरिक पर्यटनको हब बन्ने सम्भावना छ । प्राकृतिक, भौगोलिक तथा धार्मिक सम्पदाले भरिपूर्ण हुँदा हुँदा पनि यहाँ पर्यटक आकर्षण नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । नौबहिनीका पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधार नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती भएको उनको भनाइ छ । साथै होमस्टे, होटल लगायत सुविधा नहुँदा यहाँ पुग्ने पर्यटकलाई वासस्थानको समस्या हुने गरेको छ । नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ खलेसबाङमा रहेको नौबहिनी प्रचारप्रसारको पर्खाइमा छ । झरनासम्म पुग्न सडक नहुँदा पर्यटक पुग्न सकेका छैनन् । झरनासम्म पुग्ने पैदलमार्ग बनाइए पनि स्तरीय नभएको वडाध्यक्ष शेरबहादुर सेन ठकुरीले बताए । ‘स्याउलीबाङ जिल्लाकै दुर्गम मानिन्छ,’ उनले भने, ‘भौगोलिक विकटताले पनि यहाँको विकासमा चुनौती भएको छ ।’

यद्यपि पछिल्लो समय पालिकाभित्रका पर्यटकीय स्थलको प्रचारप्रसार तथा पूर्वाधार विकासको काम थालिएको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताए । ‘केही पर्यटकीय स्थलमा पैदलमार्ग तथा सडक निर्माण गरिसकेका छौं,’ उनले भने, ‘अन्य भौतिक पूर्वाधारका लागि डीपीआर तयार गरेका छौं ।’

नौबहिनी क्षेत्रको पर्यटन विकासका लागि गाउँपालिकाले छुट्टै योजना बनाएर अगाडि बढिरहेको अध्यक्ष रिजालले बताए । ‘अबको १ वर्षभित्र स्याउलीबाङलाई यातायातको पहुँचमा पु¥याइनेछ,’ उनले भने । यस क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलको पहिचान गरी गुरुयोजना बनाएर काम गरिने उनको भनाइ छ । झरनाको अवलोकनका लागि आउनेहरूका लागि पूर्वाधार विकास गरी प्रचार प्रसार तीव्र पारिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्