arthik abhiyan
ad banner

मार्जिन कारोबारका लागि ३३ कम्पनीको शेयर योग्य 

Sep 13, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । मार्जिन कारोबारका लागि यस वर्ष ३३ कम्पनीको शेयर योग्य देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा भएको व्यवस्था बमोजिम ती कम्पनीहरुको शेयर कारोबार योग्य रहेको बताएको हो । आर्थिक वर्ष २०७६/७७ का लागि वाणिज्य बैंकतर्फ १२, विकास बैंकतर्फ ७, लघुवित्त कम्पनीतर्फका ९, हाइड्रोपावर ३, होटल्स एक र एक अन्य समूहतर्फको  कम्पनीको शेयर कारोबार योग्य रहेको नेप्सेले उल्लेख गरेको छ ।

मार्जिन कारोबार सुविधा प्रदान गर्नका लागि नेप्सेले गत असार १२ गतेदेखिनै नेपाल राष्ट्र बैंकबाट पहिलो चरणमा सैद्धान्तिक सहमति पाएका  कम्पनीहरुलाई स्वीकृति प्रदान गर्न शुरु गरिसकेको छ । हालसम्म २१ ब्रोकर कम्पनीहरुले नेप्सेबाट मार्जिन कारोबारका लागि स्वीकृति पाईसकेका छन् । ब्रोकरहरुको आग्रहमा मार्जिन कारोबारका लागि छुट्टै हितग्राही खाताको माग भई सिडिएसले सोही बमोजिमको सफ्टवेयर निर्माण गरिसकेको छ । स्वीकृति पाएका ब्रोकर कम्पनीहरुले इन्टरनल व्याक अफिस तयार गरी सिडिएसको निर्देशन कुरेर बसेका छन् । सिडिएसले पनि मार्जिन कारोबारका लागि छुट्टै व्यवस्था गरी उक्त व्यवस्था बोर्डबाट स्वीकृत गराईसकेको छ । सिडिएसले सो व्यवस्था विनियमावलीमा समावेश गर्न बोर्डको निर्देशन बमोजिम केन्द्रिय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई भदौ १८ गते स्वीकृत गराएको हो । 

हाल नेपालमा सञ्चालित ५० धितोपत्र दलाल व्यवसायीकै लागि यो सुविधा उपलब्ध गराउने उदेश्य भए पनि उनिहरुको स्वेच्छाले यो सेवा प्रदान गर्न सक्नेछन् । ब्रोकर कम्पनीहरुले वाणिज्य बैंकको तुलनामा कम ब्याज दरमै मार्जिन कर्जा प्रवाह गर्ने बताएका छन् । मार्जिन कारोबार उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तिमा रू. ५ करोड हुनुपर्नेछ ।

दलाल व्यवसायीले मार्जिन कारोबार उपलब्ध गराउँदा कम्तिमा १० हजार शेयरधनी भएको, खुद सम्पत्ति चुक्तापूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दश प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महीनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीकोे शेयरमा मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम कार्य सम्पादन गरिरहेको ३३ कम्पनीको सूची नेप्सेले सार्वजनिक गरेको हो । ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार सुविधा आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म उपलब्ध गराउन सक्नेछन् । 

मार्जिन कारोबारका लागि योग्य शेयर भएको कम्पनीहरु :

स्रोत : नेपाल स्टक एक्सचेञ्ज 

प्रतिक्रिया दिनुहोस्