arthik abhiyan
ad banner

कारबाही नगर्दाको परिणति

Sep 27, 2019 
पाठक विचार
Image Not Found

कृषि विकास बैंकबाट करीब ५ करोड रुपैयाँ चोरी भएको पुष्टि भएको छ । चोरी भएको रकममध्ये ६० लाख निकालिएको बताइएको छ । यसअघि चिनियाँ ह्याकरले १ अर्बभन्दा बढी रकम एटीएम ह्याक गरेर निकालेका थिए । तर, अहिले भने नेपालीकै संलग्नतामा यस्तो चोरी भएको सार्वजनिक भएको छ । पटकपटक एटीएटम चोरी गर्न ह्याकरहरूले किन नेपाललाई नै रोजेका होलान् भन्ने प्रश्न सामान्य मानिसले समेत गर्न थालेका छन् ।  

चोरी भएको ४ करोड ७३ लाख रुपैयाँ कृषि विकास बैंकका विभिन्न ११ ओटा खातामा ट्रान्सफर भएको देखिएको छ । चोरीको मुख्य योजनाकार भारतमा रहेको अनुसन्धानले देखाएको छ । नेपालमा पक्राउ परेका ११ जना भारतमा रहेका योजनकारको ‘भरिया’ मात्रै रहेको बताइएको छ । चिनियाँहरूले गरेको ह्याकिङमा पनि भरियाहरूमात्रै पक्राउ परेका थिए । निश्चित प्रतिशत रकम पाउन उनीहरू भरिया बनेको देखिन्छन् ।

यसले ठूलै गिरोह नेपालका बैंकबाट पैसा चोरी गर्न लागिपरेको सहजै अनुमान लगाउन सकिन्छ । चिनियाँहरूले गरेको ह्याकिङ सरकारले पत्ता लगाउन सकेन । मुख्य योजनाकार सुरक्षित नै छ । अहिले पनि मुख्य योजनाकार सुरक्षित नै रहेको देखिन्छ । मुख्य योजनाकार पत्ता लगाउन  नसक्नु र उनीहरूले अपनाएको चोरीको प्रक्रिया राम्ररी विश्लेषण गर्न नसक्नु नेपालको कमजोरी हो । यही कमजोरी थाहा पाएकाले ह्याकरहरूको निशानामा नेपालका बैंकहरू परेका हुन् ।
 
 हो, समयमा नै थाहा पाएकाले चोरी गर्ने गिरोह सफल हुन सकेको छैन । तर, कुनै बेला सानो त्रुटि भयो भने ठूलो रकम घोटाला हुन सक्ने सम्भावना बढेको छ । वास्तवमा नेपालमा निक्षेपकर्ताको रकम सुरक्षित छैन । बैंकहरूले जतिसुकै राम्रो सफ्टवेयर प्रयोग गरेको दाबी गरे पनि ह्याकरहरूले नयाँ नयाँ किसिमले पैसा चोरी गर्ने प्रयास गरिरहेका छन् । 

नेपालका बैंकहरूमा रहेको ग्राहकको रकम सुरक्षित छैन भन्ने सन्देश पटकपटक घटेका घटनाले पुष्टि गरिरहेका छन् । यद्यपि यस्तो चोरीबाट कुनै पनि ग्राहकलाई व्यक्तिगत रूपमा असर परेको भने छैन । अहिलेको चोरीमा पनि कृषि विकास बैंकले ग्राहकको निक्षेप सुरक्षित रहेको दाबी गरेको छ । चोरी भएको रकम साउन र भदौ महीनाको ब्याज आम्दानी र अन्य आम्दानी मात्रै हो । त्यसैले ग्राहकहरू आत्तिनुपर्ने अवस्था छैन भन्ने प्रतिक्रिया बैंकले दिए पनि बैंकको रकम असुरक्षित छ भन्ने चाहिँ यस्तो चोरीले देखाइरहेको छ । 

चिनियाँहरूले गरेको चोरीमा पनि कतै न कतै नेपालीको संलग्नताको आशंका गरिएको थियो । पहिला एनआइसी एसियामा भएको स्विफ्ट काण्डमा पनि बैंकका कर्मचारीको संलग्नता वा लापरबाही कारण थियो भनिन्छ । तर, कसैलाई कारबाही गरिएन । यही कारबाही नगरिएकाले ह्याकरहरूको मनोबल बढेको हो । ह्याकिङ गर्ने समूह विदेशमा रहेको भन्दै बेवास्ता गर्दाको परिणति पटकपटक नेपालका बैंकहरूबाट पैसा चोरी हुने गरेको हो । यस्तोमा अन्तरराष्ट्रिय विज्ञ संस्थाहरूको सहयोग लिएर ह्याकरहरूलाई कारबाही गर्न सक्नुपर्छ । 

रामहरि कार्की
मण्डिखाटार, काठमाडौं

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्