arthik abhiyan
ad banner

वित्तीय सुधार सहयोग कटौती

Sep 29, 2019 
१० वर्ष अघि
NA


नेपाल राष्ट्र बैंकले कार्यान्वयन गरिरहेको वित्तीय क्षेत्र प्राविधिक सहयोग परियोजनाको काम सन्तोषजनक नभएको भन्दै दातृ संस्थाहरूले परियोजनाका लागि पूर्वघोषित सहयोग रकममा कटौती गर्ने भएका छन् । परियोजनाका लगानीकर्ता विश्व बैंक र बेलायती सहयोग नियोग (डिफिड) बीच छलफल भइरहेको बताइएको छ । सन् २००८ को सुरुदेखि सन् २०११ को अन्त्यसम्म सञ्चालन हुने परियोजनाको लागि पौने अर्ब रुपैयाँ (१ करोड १ लाख डलर) खर्चिने घोषणा गरेका ती संस्थाहरूले विगत २ वर्षदेखि कुनै उपलब्धि नदेखिएको भन्दै सहयोग कटौती गर्न लागेका हुन् । परियोजनाबारे बुझ्न केही समयअगाडि नेपाल आएको ‘आईडीए मिसन’ को प्रतिवेदनको आधारमा सहयोग कटौती गर्न लागेको स्रोतको भनाइ छ । ‘मिसनका प्रमुख कियाचाई सोफास्टियन फोङले राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरूसँगको भेटमा परियोजनाको कार्य प्रगतिबारेमा असन्तुष्टि जनाएका थिए । त्यतिबेलै सहयोग राशिमा कटौती हुनसक्ने आभास हामीले पाएका थियौं,’ राष्ट्र बैंकका एक अधिकारीले भने । 

नेपाल राष्ट्र बैंकको सुदृढीकरण, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको पुनर्संरचना र कर्जा सूचना केन्द्रको सुधार तथा ऋण असुली न्यायाधिकरणको क्षमता अभिवृद्धि र यान्त्रीकरण गरिने कुरा परियोजनाअन्तर्गत रहेका थिए । विश्व बैंकको नेपाल कार्यालयका नाम उल्लेख गर्न नचाहने एक अधिकारीले परियोजना बन्द नहुने तर सहयोग रकममा भने उल्लेख्य मात्रामा कटौती हुन लागेको जानकारी आफूले पाएको बताए । राष्ट्र बैंकका अधिकारीहरूले भ्रष्टाचारको मुद्दाको कारण करिब २ वर्ष नेपाल राष्ट्र बैंक गभर्नरविहीन भएकाले काम अगाडि बढ्न नसकेको बताउने गरेका छन् । तर, त्यो जवाफबाट दातृ संस्थाहरू सन्तुष्ट भएको अवस्था छैन । नेपाल राष्ट्र बैंकको बैंक तथा वितीय संस्था नियमन विभागका प्रमुख सुशीलराम माथेमा दातृ संस्थाहरू असन्तुष्ट भएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् ।

वर्ष ५, अंक ६ २०६६, असोज २६ – कात्तिक २

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्