arthik abhiyan
ad banner

दशैंको सार्वजनिक यातायात

Sep 30, 2019 
सम्पादकीय
NA


सरकारले सबै सार्वजनिक यातायातलाई दशैंका लागि टिकट बुकिङ खोल्न निर्देशन दिए पनि साना सवारीको भने टिकट बुकिङ खुलेको छैन । साना सार्वजनिक यातायातले भाडा समेत मनपरी लिएको यात्रुहरूको गुनासो छ । बुकिङ खुलेकामा पनि टिकट नपाइएको गुनासो यात्रुहरूको छ ।

जनगुनासो बढेपछि यातायात व्यवस्था विभागले साना सवारीसाधनलाई पनि बुकिङका लागि आग्रह गरेको छ । तर, यस्ता यातायात साधन यातायात व्यवसायी महासंघमा आबद्ध नभएकाले निर्देशन लागू गर्न गाह्रो भएको विभागको भनाइ छ । दशैंका लागि दैनिक १ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिने गरेको प्रहरीको भनाइ छ । तर, ती यात्रु सुरक्षित रूपमा समयमा नै गन्तव्यमा पुगून् भनेर सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।

काठमाडौं भित्रिने मुख्य नाका मानिएको नौबीसे–नागढुंगा खण्डमा अत्यधिक जामका कारण यात्रुले सास्ती खेप्नुपरिरहेको छ । काठमाडौं आउँदै गरेको बिरामी यात्रुको गाडीमै मृत्यु भयो । यसले दशैंको यात्रा कति कष्टकर छ भन्ने प्रमाणित गरिदिएको छ । जामका बेला स्थानीय व्यवसायीले मनपरी शुल्क लिएर खाद्यान्न विक्री गर्दा यात्रु थप मारमा पर्ने गरेका छन् । यद्यपि आइतवार त्यहा“को जाम कम भएको छ ।
 
दशैंका बेलामा हुने यस्तो सास्ती प्रत्येक वर्ष दोहोरिने गरेको छ । दशैं नजिकिएपछि सडक मर्मत गर्न शुरू गर्ने र दशैंमा सम्भावित जामको बारेमा थाहा पाएर पनि बेवास्ता गर्ने प्रवृत्ति नै समस्याको जड हो । समस्याले चर्को रूप लिएपछि निर्देशन दिने मन्त्रीहरूले पूर्वतयारी गर्नचाहिँ किन निर्देशन नदिएका होलान् त ? यसले नेपालका नेतृत्व र कर्मचारीतन्त्र जनताका समस्याप्रति संवेदनशील नभएको पुष्टि गर्छ ।
 
दशैंका बेलामा प्रायः सडक दुर्घटना बढी हुने गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्न तथा हतारमा गन्तव्यमा पुर्‍याएर बढी टिप ओसार्नु नै दुर्घटनाको प्रमुख कारक हो । त्यसो त सवारीसाधनको अवस्था राम्ररी नजाँची सडकमा गुडाउने गरिएकाले पनि दुर्घटना बढी हुने गरेको हो । यसलाई रोक्न यसपटक भने सिप्रदी ट्रेडिङको सहयोगमा सवारीसाधनको अवस्था जाँचेर मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएको छ । तर, गोंगबु बसपार्कमा मात्रै यस्तो सुविधा भएकाले अन्य क्षेत्रबाट छुट्ने सवारीसाधनको भने परीक्षण हुन सक्ने देखिँदैन । केही मात्रामा यसो हुनु पनि सकारात्मक नै हो ।

ट्र्याकमात्र खोलिएका सडकमा अत्यधिक यात्रु लिएर सवारीसाधन गुड्न दिँदा पनि दुर्घटना हुने गरेको छ । यस्तो ट्र्याक मात्र खोलिएका ठाउँमा सार्वजनिक सवारीसाधन चलाउन सरकारले प्रतिबन्ध लगाए पनि कच्ची बाटोमा ठूला सार्वजनिक सवारीसाधन चलिरहेका छन् । दुर्घटना भएपछि छानविन समिति बनाएर उम्कनुभन्दा अहिले नै यस्ता क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाउनु उपयुक्त हुन्छ ।
 
दशैंका लागि भनेर विशेष व्यवस्था गरिएको भन्दै सरकारी निकायले विशेष प्रचार गर्ने गरेका छन् । प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेको पनि देखिन्छ । तर, यस्ता कक्ष प्रचारका माध्यम मात्र बनेको सहजै देखिन्छ । यिनले यात्रुलाई सहयोग गरेको खासै देखिँदैन ।
 
दशैंका लागि कुनै पनि क्षेत्रमा जान सार्वजनिक यातायातका साधनले रूट परमिट लिन नपर्ने व्यवस्था गरेको छ । यसले जुन रूटमा यात्रुको बढी चाप छ त्यस क्षेत्रमा सवारीसाधन पर्याप्त पुग्ने देखिन्छ । तर, यसमा भाडा दरको अनुगमन नभएकाले ठगिने सम्भावना रहेको यात्रुहरूको गुनासो छ ।

दशैंतिहारजस्ता ठूला चाडपर्वमा यात्रुको आवतजावत बढी हुने हु“दा त्यसमा सरकारले बढी चासो दिनु ठीकै हो । तर, सार्वजनिक यातायातका बेथिति बाह्रै महीना देखिने गरेकाले त्यसका लागि सरकारले विशेष व्यवस्था गर्नु उत्तिकै आवश्यक छ । सार्वजनिक यातायात नसुधारेसम्म जनताले पाउने सास्ती कम हुँदैन भन्नेमा सरकारको ध्यान जानु अत्यावश्यक छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्