arthik abhiyan
ad banner

अवैध राउटर आयात तथा विक्री गरे कारबाही 

Sep 30, 2019 
प्रविधि
NA


काठमाडौं (अस) । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन तथा वाईफाई राउटरहरूको अवैध आयात तथा विक्री गर्नेहरूलाई कारबाही गर्ने भएको छ । प्राधिकरणले हालै सार्वजनिक सूचना प्रकाशित गर्दै यस्तो सामग्रीको अवैध आयात गर्नेलाई दूरसञ्चार ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । ‘केही समययता बजारमा स्तर स्वीकृति अर्थात् टाइप अप्रुभल नभएका मोबाइल फोन, राउटर लगायत रेडियो उपकरण विक्री भइरहेको गुनासो आएकाले त्यस्ता उपकरण विक्री वितरण नगर्न सबैलाई सूचित गरिन्छ’ प्राधिकरणको सूचनामा भनिएको छ ।

प्राधिकरणले अवैध रूपमा आयात भएका मोबाइल फोन, राउटर लगायत सामग्री विक्री वितरण भएको पाइएमा प्राधिकरणमा जानकारी गराउन समेत अनुरोध गरेको छ । नेपालमा आयात र प्रयोग हुने विभिन्न ब्रान्डका मोबाइल फोन तथा दूरसञ्चार सेवामा प्रयोग हुने राउटर लगायत रेडियो उपकरणहरू आयात गर्नुपूर्व टाइप अप्रुभल गराउनुपर्ने कानूनी प्रावधान छ ।

मोबाइलका लागि टाइप अप्रुभल दूरसञ्चार प्राधिकरणले प्रदान गर्ने गरेको छ । यस्तै आयातित यस्ता डिभाइसको आईएमईआई नम्बर समेत दर्ता गर्ने तथा प्रयोगका लागि अनुमति दिँदै आएको छ । प्राधिकरणले स्वीकृतिविना मोबाइल आयात र प्रयोग गरेको भेटिएमा दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही हुने चेतावनी दिएको छ । अबको ६ महीनाभित्र प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्नेछ, जसले अवैध मोबाइल आयात र विक्रीलाई समेत रोक्ने प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्