arthik abhiyan
ad banner

पर्व र अर्थको अध्यात्म

पूर्वीय दर्शनमा अर्थसम्बन्धी केही चिन्तन

Oct 1, 2019 
लेख | दृष्टिकोण
NA
author avatar ज्योति दाहाल

दशैं पर्वसँग आएर तिहारसँग शरदको याम बिदा हुन्छ । पूर्वीय पात्रोअनुसार असोज र कात्तिक महीना शरदऋतु हो । वर्षायामको समाप्ति र हिउँद यामको शुरुआत हुनुअघिको शारदीय यामलाई सामवेदमा ‘वर्षाण्यनु शरदो हेमतः शिशिर इन्नु रन्त्य’ अर्थात् वर्षा (साउन–भदौ) ऋतुपछि आउने शरद, हेमन्त र शिशिरऋतु आनन्ददायक हुन्छ भनिएको छ । शारदीय याममा धानका बालाले खेल्ने बयेली, आकाश जस्तै नीला नदी, जाडो न गर्मीयुक्त समय हुनुका कारण सामवेदले यसो भनेको हो । अघिपछि कहिल्यै नबज्ने नेपालकै मौलिक मालश्री धुन घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म बजाइन्छ । दशैंपर्व एक तर प्रभाव अनेक छ । 

पर्वका चार पक्ष 
कुनै पनि पर्वका चारओटा महत्त्वपूर्ण पक्ष हुने हुँदा फजूल खर्च वा आडम्बर मात्र पनि ठान्नु हुँदैन, पर्वलाई । पहिलो, आफ्नो सांस्कृतिक विरासत पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने अवसर हो, पर्व । त्यसैले यजुर्वेदमा ‘सा प्रथमा संस्कृतिर्विश्ववारा’ भनिएको हो । दोस्रो, समाजमा भ्रातृत्व, मैत्रेय, सद्भाव, प्रेम र स्नेह जगाउने उत्तम अवसर पर्व हो । ऋग्वेदले पर्वको सामाजिक पक्षलाई इंगित गर्दै ‘आनो भद्राः क्रतवो, यन्तु विश्वतः’ अर्थात् सबैतिरबाट शुभ प्राप्त होस् र ‘अन्यो अन्यमभिर्यत’ (एकअर्कासँग प्रेम बढ्छ) भनेको छ । तेस्रो, चार पुरुषार्थमध्येको एक पुरुषार्थ धर्म हो । मानवले धारण गरेको नीतिनियम, सदाचार र आचारविचार नै धर्म हो । मनुले ‘इति धारयते धर्म’ भनेका छन् । त्यस्तै, चाणक्यले ‘सुखस्य मूलम् धर्म’ भनेका छन् । शास्त्रले ‘धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षतः । तस्माद्धर्मो न हन्तव्यः मा नो धर्मो हतोवधीत् ।। अर्थात् नाश भएका धर्मले नाश गर्छ, रक्षा गरेका धर्मले रक्षा गर्छ । त्यसैले नाश हुने धर्मले कहिल्यै नाश नगरोस् भन्नका लागि कहिल्यै धर्मको नाश गर्नु हुँदैन । त्यसैले, पर्वको धार्मिक स्थान महत्त्वपूर्ण छ । चौथो, पक्षका रूपमा आर्थिक पक्ष अत्यन्त महत्त्वपूर्ण छ । पर्वमा हुने खर्चले मुद्रा परिचालन बढाउँछ र यसले देशको आर्थिक विकासमा गति ल्याउँछ । 

जीवन र धन 
पर्वका चार पक्ष भएजस्तै मानव जीवनका पनि चारै पक्ष छन् । धर्म, अर्थ, कर्म र मोक्ष चार पुरुषार्थ हुन् । मानव यी चार कुरा प्राप्तिको मार्गमा लाग्नुपर्ने हुन्छ । ‘अर्थ’ शब्द ‘ऋग्’ धातुबाट बनेको छ । यसको अर्थ गति हो । जीवन गतिशील हुनु नै अर्थ हो । अर्थलाई मानव जीवनको मूलशास्त्र मानिएको छ । चाणक्यले ‘मनुष्याणां वृत्तिरर्थः मनुष्यवती भूमिरित्यंर्थः । त्यस्याः पृथिव्यां लाभपालनोपायः’ अर्थात् ‘मानिसको व्यवहार वा जीविका, मनुष्ययुक्त भूमिको नाम, भूमि प्राप्त गर्ने र रक्षा गर्ने शास्त्रलाई अर्थशास्त्र’ भनेका छन् । अर्थको विषयमा आचार्य वात्स्यायनले कामसूत्रमा ‘विद्या भूमिहिरण्य पशुधान्य भाण्डोपस्कर मित्रादीनामर्जन–मर्जितस्य विवर्धनमर्थ’ अर्थात् विद्या, सुनचाँदी, धनधान्य, भाँडावर्तन, काठपात, घरगृहस्थी र मित्र सबै अर्थ हुन् भनेका छन् । ऋग्वेदमा ‘रयी दवो दुहितरो विभातीः प्रजावन्तं यच्चातास्मु देवीः’ अर्थात् हे ! ईश्वर हामीलाई धन र सन्तानबाट परिपूर्ण गर्नुहोस् भनिएको छ ।

धनार्जनको बाटो 
माथिका दुई अनुच्छेदमा पर्व र जीवनका विविध पक्षका बारेमा सामान्य चर्चापश्चात् जीवनलाई सुखमय बनाउने बाटो धनार्जन के कसरी हुन्छ वा गर्न सकिन्छ भन्ने बारेमा संक्षेपमा चर्चा गरिन्छ । सम्पत्ति वा धन प्राप्त हुने बाटो अनेकौं हुन्छन् । देवर्षि नारदले १२ ओटा र मनुले सातओटा विधि बताएका छन् । मनुले ‘सप्त वित्तगमा धर्मा दायो लाभः क्रयो जयः । प्रयोगः कर्मयोगश्च सत् प्रतिग्रह एव च ।।’ अर्थात् दाय (उत्तराधिकार वा अंश), लाभ (व्यावसायिक नाफा), क्रय (खरीद), जय (बाजी, जुवा, पुरस्कार), प्रयोग (कृषि, लगानी), कर्मयोग (नोकरी आदि सेवाबाट प्राप्त पारिश्रमिक), सत् प्रतिग्रह (दान)बाट सम्पत्ति प्राप्त हुन्छ भनेका छन् । आधुनिक समयमा पनि धन प्राप्त हुने विधि यिनै सातओटा हुन् । 

महाभारतमा ‘उद्योगं पुरुषलक्षणम्’ (उद्योग पौरखीको लक्षण हो) भनिएको छ । धनार्जनको बाटो सहज छैन कठिन छ त्यसैले ‘मज्ज्यन्त्य विचेतः’ (ज्ञानविना धोका खाइने) तथा ‘अनुब्रुवाणो अध्येति न स्वपन्’ (अभ्यासबाट सिकिने) हुँदा लगानीका कुनै पनि क्षेत्रमा प्रवेश गर्नुअघि त्यसका बारेमा जानेर बुझेर मात्र लाग्नुपर्छ । लगानीमा सुझबुझको महत्त्वलाई यजुर्वेदमा ‘अशिक्षायै प्रश्निनम्’ भनिएको छ । देवर्षि नारदले ‘यत्रश्रीर्यौवनं वापि परदारोपि तिष्ठति । तत्र सर्वान्धिता नित्यं मूर्खत्वं चापि जायते’ (जहाँ धन, यौवन र परस्त्री हुन्छ, त्यहाँ सबै अन्धा र मूर्ख हुन्छन्) भनेका छन् । ऐतरेय ब्राह्मणले ‘इन्द्र इच्चरतः सखा’ लगनशील व्यक्तिलाई सदा ईश्वरले साथ दिन्छन् भनेका छन् । महाभारतमा ‘उत्थानं संयमो दाक्ष्यमप्रमादो धृतिः स्मृतिः । समीक्षं च समारम्भो विद्धि मूलं भवस्य तु’ अर्थात् ‘उद्योग, संयम, दक्षता, सावधानी, धैर्य, स्मृति र सोचविचार नै उन्नतिको मूल हो’ भनिएको छ । धनार्जनको बाटोमा हिँड्दा आप्mनो बुद्धिविवेकको बढी उपयोग गर्नुपर्ने तथ्यलाई मनन गराउन ऋग्वेदमा ‘न स्रेधन्तं रयिर्नशत’ भनिएको छ । 

शेयरबजारमा लगानी 
महर्षि मनुले भनेका धन कमाउने सातओटा बाटामध्ये शेयर लगानीलाई लाभ (व्यावसायिक नाफा), प्रयोग (लगानी) र क्रय (खरीद)को स्वरूप मान्न सकिन्छ । तर, यसरी लगानी गर्नुअघि सोचविचारको पनि उत्तिकै भूमिका हुन्छ । शेयरबजारमा हुने लगानी जोखिमयुक्त हुन्छ । तर, शेयरबजारबाट अथाह लाभ पनि हुन सक्छ । कसरी लाभ लिने भन्नेमा आप्mनो रणनीतिक योजना, लगानी गरिने कम्पनीका बारेमा पर्याप्त जानकारी लिनु आवश्यक हुन्छ । यस्ता जानकारी कम्पनीले त्रैमासिक रूपमा प्रकाशन गर्ने वित्तीय विवरण, वार्षिक प्रतिवेदन, व्यवसाय नियमन गर्ने सम्बद्ध कानून, नियामकीय निर्देशन र परिपत्र, देशीय अर्थतन्त्र आदिको पनि ज्ञान लिनुपर्छ । शेयर लगानी गर्दा वार्षिक प्रतिफललाई एउटा आधार बनाएमा दीर्घकालमा राम्रो लाभ पाउन सकिन्छ । 

‘भद्रं कर्णेभिः श्रणुयाम’ राम्रा कुरा सुनेर (ज्ञान लिएर) शेयरबजारमा लगानी गर्न सकिन्छ । शेयरबजार अत्यन्त जोखिमयुक्त लगानीको क्षेत्र भएकाले ऋग्वेदमा भनिएको ‘अचेतनस्य पथः मा विदृक्षः’ (अज्ञानको बाटोमा) लागेर धनार्जन हुँदैन भन्ने तथ्यमा ध्यान दिनुपर्छ । थाहा नभएको र नबुझेको क्षेत्रमा लगानी गर्दा त्यसबाट पनि लाभ पाउन सकिँदैन । ‘अकेतवे केतुं कृण्वन्’ (अज्ञानीलाई ज्ञान देऊ) भनेर ऋग्वेदमा भनिएको हुँदा ज्ञान लिने विषयमा लगानी गर्दा सचेत हुनुपर्छ । ज्ञान मात्र लिएर हुँदैन प्रयत्नशील पनि हुनुपर्छ भनेर अथर्ववेदमा ‘सहो रूरोह रोहितः’ भनिएको छ । पाएको ज्ञानको सदुपयोग गरेर उन्नति गर्नु अवनति हुने कार्य नगर्नु भनेर अथर्ववेदमा नै ‘उद्यानं ते पुरुष नावयानम्’ भनिएको छ । ‘रमन्त्यां पुण्या लक्ष्मीः’ (इमानदारीपूर्वक आर्जन गरेको धन दिगो हुन्छ) भनेर अथर्ववेदले बताएको छ । 

महाभारतको शान्तिपर्वमा ‘आसीनश्च शयानश्च विचरन्नपि वा स्थितः । अर्थ योगं दृढं कुर्याद् योगरुचावाचैरपि ।’ अर्थात् जागृत र सुषुप्त हरेक अवस्थामा अर्थ प्राप्तिको बाटोमा लागेर आय बढाउनुपर्छ भनिएको छ । तर, मनुले ‘अक्लेशेन शरीरस्य कुर्वीत अर्थ संश्रयम्’ अर्थात् शरीरलाई कष्ट दिएर धन कमाउनु हुँदैन भनेका छन् । 

धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।
dahal_j@hotmail.com

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्