arthik abhiyan
ad banner

पुल जीर्ण हुँदा जोखिमपूर्ण यात्रा

Oct 1, 2019 
यातायात
Image Not Found
author avatar सौरभ यादव


राजविराज । तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित दशगजा क्षेत्रमा रहेको भाटे पुल जीर्ण हुँदा सर्वसाधारण जोखिमपूर्ण रूपमा सीमा पार गर्न बाध्य छन् । उक्त पुल पक्की बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा स्थानीयको दिनचर्या कष्टकर बनेको हो । दशगजा हुँदै बग्ने खाँडो नदी वारपार गर्न कुनै बेला सप्तरीका तिलाठी र आसपासका मानिस डुंगा प्रयोग गर्थे । नदी वारपारमा सहज बनाउन ६ दशकअघि स्थानीय जोखन रायले नदीमा भाटे पुल बनाए । जोखनको निधनपछि छोरा छेदीले बाबुको बिँडो थामे । वर्षायाममा पुलको पुनर्निर्माण गर्ने र वारपार गर्नेहरूबाट पाएको अन्न र पैसाले परिवार पाल्दै आएका छेदीको पनि केही वर्षअघि निधन भयो । छेदीका छोरा रामचन्द्रले पुख्र्यौली कामलाई निरन्तरता दिए पनि अस्वस्थताका कारण मर्मत गर्न नसक्दा पुल जीर्ण हुँदै गएको छ ।

दुवै देशको सिमानामा रहेको उक्त पुल भएर दैनिक ५–७ सय मानिस वारपार गर्छन् । तर पुल पक्की बनाउनेतर्फ तीनै तहका सरकारले पहल गरेका छैनन् । समान भाषा, वेशभूषा, संस्कार तथा संस्कृतिका कारण दुवै देशका नागरिकबीच पारिवारिक तथा मैत्री सम्बन्ध छ । यो सम्बन्ध टिकाइराख्न पुलको महत्त्वपूर्ण भूमिका हुने भए पनि सम्बन्धित निकायले स्तरोन्नतिमा ध्यान नदिएको स्थानीयको गुनासो छ । सप्तरीको तिलाठी, लौनियाँ, सकरपुरा, बेल्ही, कोइलाडी, रम्पुरा, लोखरम, लालापट्टी, राजविराज, हनुमाननगर, कल्याणपुर, रूपनीसहित अधिकांश क्षेत्रका मानिस बजारका लागि भारतीय बजार कुनौली जाने गरेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्