arthik abhiyan
ad banner

परम्परागत छविमा परिवर्तन आवश्यक छ

Oct 2, 2019 
लेख | दृष्टिकोण
NA
author avatar दीपकराज जोशी

विगतमा नेपाललाई सिंगापुर र स्वीट्जरल्यान्ड जस्तो बनाउने भनेर निकै पटक भनियो । तर, लाओस, मेकङ, भुटानबाट आउनुभएका अतिथिहरूको प्रस्तुतिपछि मलाई के लाग्यो भने ती देशबाट हामीले धेरै कुरा सिक्न सक्छौं । 

लाओसले जसरी प्लास्टिकको फोहोरलाई व्यवस्थित गरेर आफ्नो देशलाई पर्यटनयोग्य क्षेत्रमा परिणत गरेको छ, त्यसबाट नेपालले सिक्न जरूरी छ । त्यसैगरी लाओसको पर्यटकका स्रोत देशहरू कसरी यूरोपेली देशहरूबाट चीनलगायत अन्य मुलुकमा फेरिन पुगे भन्ने अर्को उल्लेखनीय कुरा पनि जान्न पाइयो । भुटानले कसरी यो प्रतिस्पर्धात्मक युगमा पनि आफ्नै मौलिक प्रकारको पर्यटनको विकास गरेको छ भनेर पनि बुझ्न पाइयो ।

भुटानको संस्कृति–धार्मिक पर्यटन र मेकङको एकीकृत पर्यटनजस्ता पहल हाम्रा सन्दर्भमा निकै महत्त्वपूर्ण हुन सक्छन् । विश्वको पर्यटन कसरी विलासी प्रकारको पर्यटनबाट रूपान्तरणकारी पर्यटनमा परिवर्तन भइरहेको छ, त्यसतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । पर्यटन अनुभवको आदान–प्रदान र नेटवर्किङको आधारमा फस्टाउँछ । नेपाल भ्रमण वर्षको सन्दर्भमा पनि हामी यस्ता पक्षहरूमा केन्द्रित हुनुपर्छ ।

नेपाली पर्यटनको परम्परागत छवि परिवर्तन गर्न लाग्नुपर्ने समय आएको छ । हाम्रा प्रमुख पर्यटक स्रोत राष्ट्रमा नेपाल हिमाल, वन्यजन्तु र जंगलको देश हो भनेर लामो समयदेखि परिचित छ । नेपालसँग पर्यटकलाई दिन यीबाहेक धेरै कुरा छन् । नेपालको ‘मौसमी’ गन्तव्यको छवि पनि परिवर्तन गर्न आवश्यक छ । यसका लागि हाम्रो विभिन्न संस्कृति, चाडपर्वलाई पर्यटन प्रवद्र्धनमा प्रयोग गर्न सकिन्छ । यसबाट देशभित्रका गन्तव्यहरूलाई वर्षैभरि पर्यटक आउन सक्ने बनाउन सकिन्छ । 

भ्रमण वर्षले रमणीय दृश्य, साहसिक पर्यटन मात्र होइन यहाँको संस्कृति, रीतिरिवाज र समाजलाई ‘लाइफ टाइम एक्सपेरियन्सेज’को नाराबाट प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । हामीले यसका लागि पर्यटक स्रोत देशहरूको पहिचान गरिसकेका छौं । अहिले पूर्वाधार हाम्रो लागि विशेष चासोको विषय हो । तर, यसमा सुधार हुँदै आएको पनि छ ।

समग्र पर्यटन व्यवसायबाट कसरी देशको आय वृद्धि गर्ने र अर्थतन्त्रलाई टेवा पुर्‍याउने भन्नेमा हाम्रो पर्यटन केन्द्रित हुन जरुरी छ । यसका लागि सबैले आआफ्नो ठाउँबाट हातेमालो गर्न आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्