arthik abhiyan
ad banner

पाँचौं अधिकारसहितको हवाई सम्झौता

Oct 3, 2019 
सम्पादकीय
NA


नेपाल र अस्ट्रेलियाबीच फिफ्थ फ्रीडम (पाँचौं  स्वतन्त्रता वा अधिकार) सहित प्रारम्भिक हवाई सम्झौता भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रधान कार्यालयमा नेपाल र अस्ट्रेलियाका प्रतिनिधिबीच हवाई सेवा सम्बन्धमा प्रारम्भिक हस्ताक्षर भएको हो । 

नेपालको हवाई सेवाका लागि अस्ट्रेलिया महत्त्वपूर्ण गन्तव्य हो । अस्ट्रेलियामा नेपालीहरूको बाक्लो बसोवास छ । उनीहरू नेपाल आउँदाजाँदा विदेशी विमान सेवा प्रयोग गर्न बाध्य छन् । त्यस्तै विगतमा अस्ट्रेलिया नेपालको प्रमुख पर्यटन बजार थियो । त्यहाँबाट गुणस्तरीय पर्यटक आउँथे । तर, प्रत्यक्ष उडान नभएका कारण नेपालले त्यहा“को बजार गुमाउन पुग्यो । अहिले भएको सम्झौताले अस्ट्रेलियाबाट लुम्बिनी र पोखराको विमानस्थल पनि उडान गर्न पाउने व्यवस्था गरिएकाले तिनको उपयोगका लागि पनि ढोका खुलेको छ । त्यसैले प्रारम्भिक नै भए पनि अहिले अस्ट्रेलियास“ग हवाई सम्झौता हुनु निकै सकारात्मक काम हो । अब विधिवत सम्झौता गरी यसलाई कार्यान्वयन गर्न नेपाल अघि सर्नुपर्छ । 

नेपाल वायु सेवा निगमका विमानले उडान गन्तव्य नपाएर निगमको घाटा प्रतिदिन बढिरहेको छ । तर, नेपालबाटै विश्वका विभिन्न विमान कम्पनीहरूले मनग्य आम्दानी गरिरहेका छन् । जेजसरी हुन्छ यो विडम्बनाको अन्त्य गर्न सरकारले पहलकदमी लिनु आवश्यक देखिएको छ ।

अहिले भएको सम्झौतामा पाँचौं अधिकारको प्रावधान पनि परेको छ । अस्ट्रेलियाका विमानले दिल्लीबाहेक अन्य दक्षिण एशिया, दक्षिण पूर्वएशिया मध्यपूर्वको कुनै दुई विन्दु उपयोग गर्न पाउने व्यवस्था यसमा गरिएको छ । त्यस्तै नेपालले पनि अस्ट्रेलियामा यो सुविधा पाउनेछ, जसले गर्दा नेपालले अस्ट्रेलिया हुँदै न्यूजील्यान्डको उडान गर्न पाउनेछ । नेपाललाई सिंगापुरले पनि पाँचौं अधिकारको सुविधा दिएको छ । यसको मतलब नेपाल वायु सेवा निगमले अस्ट्रेलिया उडान गर्न शुरू गर्‍यो भने सिंगापुरमा जहाज रोकेर यात्रु झार्न र त्यहाँबाट अस्ट्रेलिया जाने यात्रु थप्न पाउनेछ ।
नेपालले आफ्नो उडान सेवा विस्तार गर्न फिफ्थ फ्रीडमलाई प्राथमिकतामा राखेको छ । पर्यटन मन्त्रालयले जारी गरेको निर्देशिकामा सकेसम्म सबै मुलुकसँग फिफ्थ फ्रीडम माग्ने र सार्क सदस्य राष्ट्रहरूसँग यसको अधिकार सुरक्षित गर्ने नीति लिएको छ । 

हवाइ उडानमा नौओटा स्वतन्त्रताको व्यवस्था छ । कुनै देशमा नरोकिईकन त्यसको आकाश प्रयोग गर्न पाउनु पहिलो स्वतन्त्रता हो भने तेल हाल्न र मेन्टेनेन्सका लागि मात्रै रोक्न पाउनु दोस्रो । एउटा देशबाट अर्को देशमा उडान गर्न पाउनु तेस्रो अधिकार हो भने कुनै देशबाट आफ्नो देशमा उडान गर्न पाउनु चौथो अधिकार हो । आफ्नो देशबाट विभिन्न देश हुँदै यात्रु ओराल्दै र चढाउँदै गन्तव्यमा जान पाउनुलाई पाँचौं अधिकार मानिन्छ । वाइडबडी विमानका लागि यस्तो अधिकार आवश्यक हुन्छ किनभने सीधा उडानमा पर्याप्त यात्रु नपाउन सक्छ । यसो गर्दा विमान पूर्ण क्षमतामा उड्न पाउ“छ र विमान सेवा नाफामा जान्छ । 

नेपालले अस्ट्रेलियासहित ४० ओटा देशसँग हवाई सम्झौता गरिसकेको छ । तर, दुर्भाग्य सातओटा देशमा मात्रै उडान गर्न सकेको छ । हवाई सम्झौताअनुसार ती देशका विमान कम्पनीले नेपालमा उडानको सुविधा पूरै उपयोग गरेका छन् भने नेपालले विभिन्न बहानामा गन्तव्य पाउन सकिरहेको छैन । यसको बलियो उदाहरण हो : चीन । सम्झौताअनुसार चीनले नेपालमा प्रशस्त उडान भरिरहेको छ भने नेपालले हालसम्म एउटा पनि गन्तव्य पाउन सकेको छैन । त्यसैले सम्झौता गर्नु राम्रो भए पनि त्यसको कार्यान्वयन नेपाललाई फाइदा हुने गरी हुनुपर्छ । अर्थात् नेपालले पनि सम्झौता भएका देशमा उडानको सुविधा पाउनुपर्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्