arthik abhiyan
ad banner

सिन्धुलीका सामुदायिक विद्यालय : पुनर्निर्माणका लागि अझै  डेढ अर्ब बजेट आवश्यक

Oct 3, 2019 
शिक्षा
Image Not Found

सिन्धुली (अस) । २०७२ सालको भूकम्पले क्षति पुगेको सिन्धुलीका विद्यालय पुनर्निर्माणका लागि अझै डेढ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । ३११ ओटा विद्यालयको पुनर्निर्माणमा २ अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको र अझै २६४ विद्यालयको पुनर्निर्माणका लागि उक्त बजेट आवश्यक रहेको पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वय एकाइ (शिक्षा) कार्यालय, सिन्धुलीले बताएको छ ।

जिल्लाका ५७५ विद्यालयमध्ये हालसम्म ३११ ओटा विद्यालयको आशिंक तथा पूर्ण निर्माण सम्पन्न भएको एकाइ प्रमुख शिवकुमार सापकोटाले जानकारी दिए । भूकम्पका कारण जिल्लाका सबैजसो विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुगेको थियो ।

पुनर्निर्माण गर्नुपर्ने विद्यालयमा पनि कतिपयको आशिंक क्षति भएको वा केही कक्षाकोठा मर्मत गर्नुपर्ने जस्ता समस्या देखिएको सापकोटाले बताए । यद्यपि यथार्थमा यस्ता कतिपय विद्यालयमा विद्यार्थी संख्या न्यून भएकाले मर्ज गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

जिल्लामा रहेका विद्यालयको पुनर्निर्माण गर्नुपर्ने हो/होइन, मर्ज गर्नुपर्ने हो वा होइन भन्ने विषयमा एक स्वतन्त्र निकायबाट अनुगमन र मूल्यांकन गर्नु आवश्यक रहेको सापकोटाले औंल्याए । ‘कतिपय विद्यालयमा हाजिरी रजिस्टरमा विद्यार्थी संख्या धेरै देखिन्छ,’ उनले भने, ‘तर विद्यालयमा नियमित पढ्न आउने विद्यार्थीको संख्या भने एकदमै न्यून देखिन्छ,’ उनले भने । स्वतन्त्र निकायबाट अनुगमन गरी यस्ता विद्यालयलाई निरुत्साहित पार्ने हो भने राज्यको ठूलो लगानी जोगिने उनको बुझाइ छ ।

पुनर्निर्माण प्राधिकरणको स्थापना भएको ५ वर्षमा जिल्लाका सम्पूर्ण विद्यालयको पुनर्निर्माण पनि सकिने सापकोटाले बताए । आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका विद्यालयको पुनर्निर्माण सकिने उनको भनाइ छ । ‘पुनर्निर्माणका लागि अवधि पर्याप्त छ,’ उनले भने । बजेट अभाव नभएमा तोकिएकै अवधिमा नेपाल सरकारले लिएको लक्ष्यअनुसार पुनर्निर्माण सम्पन्न हुने उनले दाबी गरे । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्