arthik abhiyan
ad banner

मातृशक्तिको पर्व : बडादशैं

Oct 3, 2019 
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

असत्यमाथि सत्यको विजय भएको खुशियालीमा मनाइने बडादशैंमा विशेषगरी विभिन्न दैवीशक्तिको पूजाअर्चना गरिन्छ । दैत्यशक्तिलाई परास्त गर्न विभिन्न देवताको सामूहिक एकतामा नवदुर्गा भवानीको उत्पत्ति भएको अवसरमा दशैं मनाउन थालिएको शास्त्रीय मान्यता छ । पितृशक्तिले असुरको अन्त्य गर्न नसकेर पुकारेपछि मातृशक्तिले विभिन्न रूप धारण गरी चण्ड, मुण्ड, महिषासुरको वध गरिएको पर्व हो बडादशैं ।

विशेषगरी दुर्गा देवीको उपासना र शक्ति पीठहरूमा पूजाआजा गरी दशैं मनाइन्छ । भगवती दुर्गाले महिषासुरको वध गरी समग्र मानव जातिको रक्षा गरैकेले दशैंमा नवदुर्गाको पूजाअर्चना गरिन्छ । दशैंमा विशेषगरी घटस्थापनादेखि नवमीसम्ममा अष्टमातृकाका रूपमा रहेका ब्राह्मी, मोहेश्वरी, वैष्णवी, कुमारी, वाराही, इन्द्रायणी, महाकाली र चामुण्डा (महालक्ष्मी)को पूजाआजा गरिन्छ । यी अष्टमातृकाको एकल रूपमा नयाँ दुर्गा (नवदुर्गा)को जन्म भई असुर जातिमाथि विजय गरेको शास्त्रीय मान्यता छ । 

शाक्त मतअनुसार दुर्गा सप्तशतीमा महिषासुरलाई देवी दुर्गाले वध गरेको दिनको रूपमा बडादशैं मनाइने संस्कृतिविद् डा. मिलन शाक्य बताउँछन् । हिन्दू मतअनुसार आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको दिन हो । बौद्ध मतमा सम्राट् अशोकले युद्धमा गरेका नरसंहारको प्रायश्चित् गर्न अहिंसा र शान्तिको मार्ग अपनाउन शस्त्र त्याग गरेको दिनको रूपमा विजयादशमी रहेको उनको भनाइ छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार शाक्त सम्प्रदायमा आस्था राख्ने मानिसले तान्त्रिक विधिअनुरूप मातृशक्तिको पूजा गरिने संस्कृति नै दशैं हो । घटस्थापनादेखि शुरू हुने दशैं कोजाग्रत पूर्णिमाका दिन समापन हुन्छ । 

दशैंको सातौं दिन अर्थात् महासप्तमीदेखि विजयादशमीको दिनसम्मलाई विशेष दिनको रूपमा लिइन्छ । दशैं परापूर्व कालदेखि नै मनाउँदै आएको भए पनि शाहवंशको पालादेखि गोरखाको दरबारबाट ल्याएको फूलपाती काठमाडौंको वसन्तपुरको जमरा घरमा भिœयाउने चलन छ । सप्तमीको दिनदेखि बलि दिने प्रचलन छ भने महाअष्टमीको दिन शक्ति पीठहरूमा पूजाआजा गरी बलि दिने गरिन्छ । यो दिन नेवार समुदायले कुछिभ्वे (दुई माना चिउरासहितको विशेष भोज) खाने गर्छन् । 

दशैंको नवौं दिन नवमी पर्वका रूपमा मनाउने गरिन्छ । यो दिन विशेषगरी काठमाडौंको तलेजु भवानीको पूजाअर्चना गरिन्छ भने घरघरमा देवी माताको पूजाआराधना गर्ने प्रचलन पनि छ । नेवार समुदायमा यो दिनको बिहान घरेलु औजार, मेशिनरी सामान, सवारीसाधनको पूजाआजा गर्ने चलन छ । यस्तै, अधिकांश नेवार समुदायले यो दिन ढुकुटी कोठामा दुर्गा पूजा गरी हाँस, कुखुरा वा बोका बलि दिने पनि गर्छन् ।

यो दिन भक्तपुरमा महिषासुरको प्रतीकको रूपमा रहेको राँगालाई नवदुर्गा भवानीको देवघरदेखि ब्रह्मायणी पीठसम्म जात्रा गरी दौडाउने चलन छ । यही दिन कालरात्रि पर्ने भएकाले नवदुर्गा देवगणले महिषासुरको प्रतीकको रूपमा रहेको राँगा (खमे)को वध गरी आलो रगत पिउने परम्परा छ । आफूले वर्षभरि प्रयोगमा ल्याउने सवारीसाधनहरूको समेत पूजा गर्ने प्रचलन समेत रहिआएको छ । 

महानवमीको कालरात्रिमा महिषासुरको वध गरिएकोमा दशौं दिन हर्षोल्लासपूर्वक विजयादशमीको खुशियाली मनाइन्छ । साथै यही दिन मान्यजनबाट टीका तथा आशिष थाप्ने प्रचलन छ । यो दिन दशैंको मुख्य दिनका रूपमा रहेकाले आफ्ना मान्यजनबाट टीका ग्रहण गर्न जानेहरूको घुइँचो पनि देखिन्छ ।

नवदुर्गाका प्रतीकका रूपमा रहेका अष्टमातृकाहरू
ब्राह्मी
ब्रह्मायणी भनेर पुजिने ब्राह्मी सृष्टिकर्ता ‘ब्रह्मा’को स्त्रीशक्ति रूप हुन् । ब्रह्मायणी पहेँलो अनुहारका हुन्छन् । मायालु र दयालु स्वभाव भएकी देवी पनि मानिन्छ । विद्यादेवी सरस्वतीलाई कतिपय ग्रन्थहरूमा ‘ब्राह्मी’को रूप भनिएको छ । अष्टमातृका गणमा शुरूमा रहने ब्रह्मायणीले हाँसलाई बनाएको मानिन्छ । हातमा कमण्डलु, रुद्राक्ष माला, पुस्तक र कमल लिएकी देवी हुन् ब्रह्मायणी । 

माहेश्वरी
सेतो वस्त्रमा सजिने दुर्गा भवानीको नाम माहेश्वरी हो । शिवको नारी रूप नै ‘माहेश्वरी’ भएको बताइन्छ । हिन्दू धर्ममा माहेश्वरी देवीलाई ‘रुद्री’, ‘रुद्रायणी’, ‘शांकरी’ र ‘शिवा’ पनि भन्ने गरिन्छ । महेशका नामहरू रुद्र, शंकर, शिव र महेशबाट यो नाम भएको बताइन्छ । नन्दीको सवार गर्ने माहेश्वरीका चार हात छन् । त्रिनेत्री देवी माहेश्वरीले त्रिशूल, डमरु, बञ्चरो र खप्परको करुवा बोकेकी हुन्छिन् । शिवले जस्तै उनले पनि घाँटीमा सर्पको माला लगाएकी हुन्छन् ।

कौमारी
कौमारी देवीलाई कुमारको स्त्री रूप मानिन्छ । अत्यन्तै सुन्दर देखिने सुकन्याजस्ती कौमारी युद्धकी देवी हुन् । कुमारीले पनि कुमारले जस्तै मयूरलाई वाहन बनाएकी हुन्छिन् । ‘कुमार’ (कार्तिकेय)कै अर्को रूप मानिने कौमारी देवीलाई ‘कुमारी’, ‘कार्तिकेयानी’, ‘जगदम्बिका’, ‘जगदम्बा’ र ‘अम्बिका’को नामले पनि पुज्ने गरिन्छ । 

वैष्णवी
वैष्णवी देवीलाई ‘वैष्णो देवी’, भद्रकाली र ‘त्रिकुट’ पनि भनिन्छ । ‘वैष्णवी’ भगवान् विष्णुको स्त्रीरूप हो । चीलको सवार गरेर चार हातमा त्रिशूल, तलवार र कमल लिएकी वैष्णवी देवी हुन् ।

वाराही
सुँगुरको जस्तो मुहार भएकी देवी ‘वाराही देवी’ हुन् । याक्ती अजिमा भनेर पनि पुजिने वाराहीलाई ‘वराह देव’की स्त्रीलिंगको रूपमा लिइन्छ । गाईको सवार गरेकी र चार हात भएकी वाराही देवीलाई अष्टमातृका गणमा सबैभन्दा शक्तिशाली देवीको रूपमा पुजिन्छ ।

इन्द्रायणी
इन्द्रको स्त्री शक्ति नै इन्द्रायणी हुन् । ऐरावत हात्तीको सवार गर्ने इन्द्रायणी इन्द्रजस्तै क्रोधित हुन्छिन् । चारओटा हात रहेकी इन्द्रायणीले नवरात्रिको षष्ठीको दिन उदयी भई असुर जातिसँग युद्ध लडेको बताइन्छ । इन्द्रायणीलाई पूजा गरे ईष्र्याको अन्त्य हुने विश्वास छ । 

महाकाली
सबैभन्दा रिसाहा र कालो वर्णकी देवी महाकाली हुन् । महाकालको स्त्री रूपको रूपमा रहेको महाकाली सबैभन्दा नराम्री रूप भएकी देवी हुने । अत्यन्त रिस र क्रोध भएकी महाकालीले नै चण्ड, मुण्डको वध गरेकी हुन् । 
महाकाली देवीलाई हिन्दू धर्ममा समय र मृत्युको प्रतीक मानिन्छ । संहारकर्ता त्रिमूर्तिदेव शिवको अर्धांगिनी पार्वतीको क्रोधित रूप पनि मानिन्छ । मार्कण्डेय पुराणमा महाकालीलाई ‘दुर्गा देवी’को एक पक्षको रूपमा मानिएको छ । महाकाली सिंहको सवार गर्ने तथा १६ ओटा हात भएकी देवी हुन् ।

चामुण्डा (महालक्ष्मी)
चामुण्डी, चामुण्डेश्वरी र चर्चिका पनि भनिने ‘चामुण्डा’ देवीलाई लक्ष्मी देवीको क्रोधित रूप मानिन्छ । ६४ ओटा तान्त्रिक देवीहरूको समूह ‘योगिनी’को प्रमुख देवी हुन्, चामुण्डादेवी । दुई भयंकर दानव ‘चण्ड’ र ‘मुण्ड’को वध गर्न लक्ष्मी देवीले एकदमै क्रोधित रूप लिएकी हुन् । त्यसैले, उनलाई ‘चामुण्डा’ देवी भनिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्