arthik abhiyan
ad banner

पर्यटनसम्बद्ध संस्थामा तडकभडक

Oct 4, 2019 
लेख | दृष्टिकोण
NA
author avatar भीमप्रसाद पन्त

पर्यटन सेवाप्रदायक विभिन्न संघसंस्थामा आबद्ध छन् । व्यावसायिक हकहितका लागि यस्ता संस्थाको महत्त्व हुन्छ । खासगरी नीतिगत रूपमा सरकारसँग व्यवसायीको अप्ठ्याराहरूको गाँठो फुकाइदिन आग्रह गर्न यस्ता संस्था सहयोगी हुन्छन् । व्यवसायमा थुप्रै समस्या हुन्छन् । व्यवसायीहरूबीच यस्ता समस्यामा गहन छलफल र विमर्श पनि हुने गर्छ, जसले गर्दा व्यवसायीहरू लाभान्वित पनि हुन्छन् । संगठन जति ठूलो भयो, जति जिम्मेवार भयो त्यति नै व्यवसायीका समस्यामा सरकारसँग वार्ता गर्न सहज हुन्छ । आफ्ना मागहरू मान्न सरकारलाई बाध्य पार्न पनि सकिन्छ ।

नेपालको पर्यटन क्षेत्रमा यस्ता संस्थाको संख्या बढ्दो छ । एकताबद्ध हुनभन्दा टुटफुट हुने क्रम पनि बढेको छ । यससँगै पर्यटनकर्मीहरूका संघसंस्थामा विकृति पनि बढ्दो छ । त्योभन्दा पनि यस्ता संस्था समग्र व्यवसायको हितका लागि भन्दा पनि केही स्वार्थी व्यवसायीहरूका लागि प्लेटफर्म बन्न थालेको आभास हुन थालेको छ ।

नेपालको पर्यटन क्षेत्रका संघसंस्थामा होटल एशोसिएशन अफ नेपाल (हान) सबैभन्दा पुरानो मानिन्छ । त्यस्तै नेपाल एशोसिएशन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पनि पुरानो सस्था हो । यिनीहरूले स्वर्ण जयन्ती नै मनाइसकेका छन् । तर, पर्यटन क्षेत्रमा अहिले दर्जनौं संघसंस्था खुलिरहेका छन् र खुल्ने क्रम जारी नै छ । संघसंस्था खुल्नु नराम्रो होइन, तर यस्ता संस्थाको नेतृत्व तहमा पुग्नका लागि निर्वाचनमा हुन थालेको खर्चको बाढी र तडकभडकले भने संस्था आफ्नो मूल लक्ष्यबाट विमुख भएको देखिन थालेको छ । व्यवसायीहरू यस्ता संस्थामा बस्दा आफ्नो व्यवसाय हेर्न भ्याउँदैनन् । त्यही भएर कतिपय व्यवसायी यस्ता संस्थामा नाइँ भन्न नसकेर मात्रै सदस्य बनेका पाइन्छन् । तर, कतिपय भने संस्थाको नेतृत्वमा जाने र यसलाई आप्mनो व्यक्तिगत स्वार्थ वा महŒवाकांक्षाका लागि प्रयोग गर्ने गर्छन् । हिमालय रेस्क्यु एशोसिएशन, नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्ट्स, नेपाल एशोसिएशन अफ टुर अपरेटर्स (नाटो) सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल,  (सोट्टो) ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ट्रेकिङ गाइड एशोसिएशन अफ नेपाल (ट्रेगान) ठमेल टुरिजम डेभलप्मेन्ट काउन्सिल, भिलेज टुरिजम  जस्ता संगठन बढी चर्चामा छन् । नेपाल पर्यटन बोर्डको वेबसाइटमा हेर्ने हो भने यस्ता संगठन थुप्रै देखिन्छन् । बोर्डबाट विभिन्न कार्यक्रम गर्न पनि यी संगठनले सहयोग लिने गरेका छन् । त्यस्तै यस्ता संगठन खोल्न प्रतिस्पर्धा भएको हुन सक्छ । यी संगठनका अधिवेशनमा उम्मेदवारहरूले गरेको खर्च र त्यसलाई दिएको महŒव हेर्दा संगठन नै आवश्यक छैन भन्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । एउटै व्यवसायीले लाखौं रुपैयाँ खर्च गरेर चुनाव जित्न खोज्नुको कारण के हो ? यसको जवाफ नखोज्ने हो भने भोलिका दिनमा पर्यटनसँग सम्बद्ध यस्ता संस्था बदनाम नहोलान् भन्न सकिँदैन ।

यस्ता संस्थाको निर्वाचनमा पर्यटनका लागि कसले के योगदान दिन्छ भन्ने आधारमा भन्दा पनि व्यक्तिगत मुद्दा हाबी भएको पाइन्छ । उम्मेदवारहरूले गर्ने खर्च पनि निकै बढेको छ । अझ दुर्भाग्यको कुरा व्यवसायीको चुनावमा राजनीतिक पार्टीहरू पसे । यसलाई राजनीतिको आधार बनाइयो र उम्मेदवारहरूले फलानो पार्टीको भनेर प्रचार नै गरे । व्यवसायीको धर्म व्यवसाय नै हो । तर, त्यसलाई राजनीतिक आवरण दिँदा व्यवसायीको मूल मुद्दा नै बाहिरियो । यसले व्यवसायीहरूलाई एकतामा बाँध्नेभन्दा विभाजन ल्याउने काम ग¥यो । यस्ता अधिवेशनमा प्रजातान्त्रिक समूह र प्रगतिशील समूह भनेर समूहगत रूपमा निर्वाचन हुने गरेको छ । परिचयात्मक कार्यक्रम भन्दै राजधानीको पाँचतारे होटलमा डिनरसहितको भड्किलो कार्यक्रम पनि हुने गरेको छ । 

संस्थालाई पदाधिकारीहरूले राजनीति गर्ने थलो बनाएको आरोप स्वतन्त्र व्यवसायीहरूले लगाएका छन् । चुनावअघि लोकप्रिय नारा बनाउने र पदमा पुगेपछि व्यवसायीको हितमा भन्दा व्यक्तिगत सम्पर्क बढाउन र बनाउन पदाधिकारीहरू लागिपरेको आरोप व्यवसायीहरूले लै लगाउँदै आएका छन् । प्रायः संस्थाको दुईवर्षे कार्यकाल हुन्छ । यो कार्यकालमा व्यवसायीका समस्यालाई लिएर लबिङ गर्नुभन्दा सरकारी अधिकारीहरू र मन्त्रीहरूसँग हिमचिम बढाउँदैमा बित्ने गरेको छ । यस्ता संस्थामा १÷२ सयदेखि २ हजारसम्म सदस्य छन् तर यस्तै विकृतिका कारण धेरैले सदस्यता नवीकरण गर्न चासो नदिएको अवस्था पनि छ । अधिवेशनहरू  भड्किलो र खर्चिलो हुँदै गएकोमा पर्यटन  व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

अधिवेशन भड्किलो र खर्चिलो मात्र भएको छैन, व्यवसायीहरूबीच तीव्र ध्रुवीकरण हुन थालेको छ । अधिवेशनकै लागि मात्र भए पनि सदस्यता लिने र चुनावका बेलामा आर्थिक लाभ लिने प्रवृत्ति पनि बढेको छ । यसले गलत संस्कार बसाल्न थालेको छ । यी संस्थामा आफूलाई नेतृत्वमा स्थापित गर्न मरिहत्ते गर्ने व्यक्तिहरूले पार्टीगत सम्बन्ध बनाउने गरेका छन् । यसको अर्थ राजनीतिमा जानका लागि यी संस्थालाई भर्‍याङ बनाउने प्रवृत्ति पनि बढिरहेको छ । यसले व्यवसायको हित गर्छ कि गर्दैन भन्नेमा भने कमैको ध्यान गएको छ ।

त्यसैले पर्यटन सम्बद्ध संघसंस्थाले आफ्नो व्यवसाय र संस्थाको मर्यादा जोगाउन आचार संहिता नै बनाउनुपर्ने आवश्यकता देखिएको छ । पहिलो त अधिवेशनलाई कम खर्चिलो बनाउनु आवश्यक छ । सामान्य चियापानले हुनेमा पाँचतारे होटलमा डिनर दिने जस्ता काम बन्द गर्नुपर्छ । अर्को, व्यावसायिक संस्थामा राजनीतिक दलको मुद्दा र नारालाई भित्र्याउनु हुँदैन । हो, व्यक्तिगत रूपमा व्यवसायीहरूको पनि आफ्नो राजनीतिक आस्था र समर्थन हुन सक्छ । तर, व्यवसायमा पूर्ण व्यावसायिक नै बन्नुपर्छ । यसै गरी यस्ता संघसंस्था जति व्यावसायिक विषयमा मात्र केन्द्रित हुन सक्छन् त्यति नै व्यवसाय र व्यवसायीलाई राम्रो हुन्छ । संगठनको माध्यमबाट व्यवसायले भोगेको समस्या समाधान गर्न उच्च नैतिक साहस आवश्यक पर्छ । यसका लागि संगठनहरू नै पहिला व्यावसायिक बन्नुपर्छ । यसमा लाग्ने नेतृत्व पनि यस्तै खालको हुनुपर्छ र हामी सबैले यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्दै जानु आवश्यक छ ।

लेखक नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्