arthik abhiyan
ad banner

विदेशबाट फर्केर व्यावसायिक मौरीपालन

Oct 4, 2019 
प्रदेश ०४
Image Not Found
author avatar अर्जुन कार्की

बागलुङ । देशका लाखौं जनशक्ति वैदेशिक रोजगारीमा छन् । देशमा अवसरको कमी र विभिन्न बाध्यताले विदेशिएकाहरू निश्चित समयपछि घर फर्कन्छन् । केही पैसा पनि ल्याउँछन् । तर सबैले त्यो पैसाको सदुपयोग गरेर उद्यम गर्न सकिनेबारे सोच्दैनन् । अन्ततः उनीहरूको गन्तव्य पुनः विदेश नै हुने गर्छ । यस्तै परिस्थितिका बीच बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका यामबहादुर थापा भने वैदेशिक रोजगारीबाट फर्केर मौरीपालनमा रमाएका छन् । 

टन्न पैसा कमाउने र घर परिवारलाई सुखी राख्ने सपना बोकेर साउदी अरब पुगेका थापा आप्mनै उद्यम गर्ने सोचले केही वर्षमै नेपाल फर्के । विदेशबाट फर्किएर शुरूमा उनले बंगुरपालन थाले । तर त्यसमा कठिनाइ भएपछि उनी अहिले मौरीपालनमा लागेका हुन् ।

बंगुरपालनबाट पनि राम्रो आम्दानी भए पनि जनशक्ति अभावले निरन्तरता दिन नसकेको थापाले बताए । ‘छोराछोरी पनि पढ्न घर छाडेर शहर पसेपछि बंगुरपालन छाडेर मौरीपालन रोजेँ,’ उनले भने । अहिले उनी व्यावसायिक मौरीपालन तथा कृषि गरिरहेका छन् ।

थापाले २ वर्षअघि ८ घारबाट शुरू गरेको मौरीपालन अहिले बढेर ४० घारमा पुगेको छ । केही समयमै २ सय घार पु¥याउने योजना सहित अघि बढेको उनले सुनाए । गत वर्ष मह बेचेर ३ लाखरुपैयाँ भन्दा बढी खुद मुनाफा गरेको उनले बताए । ‘विदेशमा गएर वर्षमा यति पैसा जोगाउन सकिन्न,’ उनले भने, ‘तर घरमै बसेर राम्रो आम्दानी गर्न पाउँदा खुशी छु ।’

मौरीपालन अन्य व्यवसायभन्दा धेरै सजिलो हुने थापाको अनुभव छ । मौसमले साथ दिए यो पेशाबाट मनग्गे आम्दानी हुने उनले बताए । मौरीपालन गरेपछि कुश्मा कृषि ज्ञानकेन्द्रबाट १० ओटा घार सहयोग प्राप्त गरेको उनको भनाइ छ । स्थानीय तहहरूले सहयोग गरेमा युवा जनशक्तिलाई स्वदेशमै रोक्ने सकिने उनले बताए । ‘नेपालीहरू विदेशमा गएर जस्तो सुकै काम गर्न तयार हुन्छन्,’ उनले भने, ‘त्यो मेहनत यहीँ गर्न सके विदेशको भन्दा राम्रो कमाइ र सन्तुष्टि पाउन सकिन्छ ।’

मौरीपालन सजिलो तर चुनौती पनि उत्तिकै हुने थापाले बताए । ‘विभिन्न रोग लाग्ने, अरिंगालले खाने समस्या आउँछ,’ उनले भने, ‘यस्तै लामो समयसम्म बादल लागेमा, मौसम खराब भएमा यसबाट राम्रो आम्दानी लिन सकिँदैन ।’ खराब मौसममा  मह उत्पादन घट्ने भएकाले आहाराको व्यवस्था गर्नुपर्ने उनले बताए । यस्तै आधारभूत तालीम ल्याएर मात्र यो पेशा शुरू गरेमा व्यावसायिक रूपमा सफल बन्न सकिने उनले सुझाए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्