arthik abhiyan
ad banner

नवलपुरमा २ करोड ५० लाखको खसीबोका विक्री

Oct 9, 2019 
समाचार
Image Not Found

असोज २२, कावासोती । नवलपरासीपूर्व नवलपुरमा रहेका दुई ओटा सहकारीले बडादशैंमा रू. २ करोड ५० लाख बराबरको खसीबोका विक्री गरेका छन् । गएको १० दिनको अवधिमा सहकारीले स्थापना गरेको संकलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका विक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेंसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैंमा मात्रै रू. २ करोड ३० लाखको मूल्य बराबरको खसीबोका विक्री गरेको छ । सहकारीले स्थापना गरेको संकलन केन्द्रमा किसानबाट संकलित खसीबोका विक्री गरिएको थियो । 

बडादशैं शुरु भएपछि नवमीसम्ममा १ हजार ७६३ ओटा खसीबोका विक्री गरेको सहकारीका व्यवस्थापक सुशीला परियारले बताइन् । गाउँपालिकाको पहाडी क्षेत्रका किसानबाट संकलित खसीबोका विक्री गरिएको उनले बताइन् । संकलन भएका खसी बोका स्थानीय बजारसँगै चितवन, पोखरा र काठमाडौंका व्यापारीले खरीद गरेको व्यवस्थापक परियारले बताइन् । उनका अनुसार सबैभन्दा धेरै खसीबोका चितवन निर्यात भएको छ । त्यसपछि पोखरा, काठमाडौं र स्थानीय बजारमा खपत भएको उनले बताइन् ।

सहकारीले सामान्य मुनाफा राखेर विगत पाँच वर्षदेखि कृषकबाट संकलित खसीबोका विक्री गर्दै आएको छ । यसले कृषकले उत्पादन गरेका खसीबोकाले सहजरुपमा बजार प्राप्त गरेका छन् भने मूल्यमा ठगिनबाट जोगिएका छन् । 

नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले समेत रू. २० लाख बराबरको खसीबोका विक्री गरेको छ । सहकारीले बडादशैं लक्षित गरेर थालेको खसीबोका बिक्रीबाट रू. २० लाख भित्राएको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष मञ्जु खनालले बताइन् । उनका अनुसार सहकारीले जिउँदो खसी प्रतिकिलोग्राम रू. ४६० मा विक्री गरिएकोे छ । किसानबाट रु ४५० मा खरीद गरी रु १० मात्र मुनाफा राखेर विक्री वितरण गरिरको सहकारी अध्यक्ष खनालले बताइन् ।

यस्तै मध्यबिन्दु नगरपालिका–१२, तमासपुरस्थित अरुण ज्योति सामाजिक महिला उद्यमी सहकारीले पनि बडादशैंमा कृषकबाट खसीबोका संकलन गरी विक्री गरेका छ । सहकारीले संकलन केन्द्र स्थापना गरी कृषकबाट खसीबोका संकलन गरेर विक्री गर्न थालेसँगै बाख्रापालन गर्ने कृषकलाई बजारीकरणको लागि सहजता भएको छ । रासस  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्