arthik abhiyan
ad banner

चिनियाँ राष्ट्रपतिको भ्रमण

Oct 13, 2019 
सम्पादकीय
NA

नेपालमा २३ वर्षपछि चीनको उच्चस्तरीय भ्रमण भएको छ । नेपालकी राष्ट्रपति विद्या भण्डारी विमानस्थलमै पुगेर चीनका राष्ट्रपति सी चिनफिङको स्वागत गरेर नेपाल–चीन सम्बन्ध र चिनियाँ राष्ट्रपतिलाई उच्च महत्व र सम्मान दिइएको छ ।

चीनका राष्ट्रपतिको भ्रमण नेपालका लागि विशेष महत्व रहेको छ । २३ वर्ष अगाडि चीनको आर्थिक र सामरिक महत्व यति धेरै थिएन । तर, अहिले ऊ विश्वको दोस्रो अर्थतन्त्र बनिसकेको छ र महाशक्तिका रूपमा उदाउँदै छ । यस्तोमा नेपालका लागि राष्ट्रपति सीको भ्रमणको राजनीतिक महत्व छ । खासगरी नेपालको भू–राजनीतिले दुई विशाल र उदीयमान अर्थतन्त्र भएका मुलुकसँग विशेष सम्बन्ध आवश्यक रहेको देखाउँछ । यस्तोमा चिनियाँ राष्ट्रपतिको भ्रमणबाट चीन नेपालसँग गहिरो, दिगो र विशेष सम्बन्ध गाँस्न इच्छुक छ भन्ने संकेत मिल्छ । बजार र अर्थतन्त्रका दृष्टिले नेपाल सानो भए पनि भूराजनीतिक सन्तुलनका लागि नेपालले विशेष भूमिका खेल्न सक्छ । खासगरी पहिलो विश्व शक्ति बन्ने चीनको महत्वाकांक्षामा छिमेकी प्राथमिकतामा परेको संकेत यो भ्रमणले दिएको छ ।

राष्ट्रपति सीको भ्रमण हुने चर्चासँगै चीनसँग हुने सम्झौता र सहमतिलाई लिएर अनेक तर्क, बहस र सुझावहरू दिने क्रम चलेको हो । धेरैले नेपालले चीनसँग माग्नुपर्ने सहयोगका बारेमा आआप्mनो राय दिएका छन् । तर, लिने र दिनेभन्दा पनि दिगो आर्थिक विकासका आधार तय गर्न दुईपक्षीय सम्बन्ध प्रगाढ बनाइनु उपयुक्त हुन्छ ।

नेपाल र चीन दुवैले कनेक्टिभिटी र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छन् । ‘ट्रान्स हिमालय मल्टी– डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ अर्थात् सीमापार बहुआयामिक सम्पर्क सञ्जालमा जोड दिएको छ । नेपालले चीनको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा नेपाल सहभागी भइसकेको छ । यसै आधारमा नेपालले १०–१२ ओटा जति आयोजनाहरूमा सहयोगको अपेक्षा राखेको छ ।

नेपालले चीनसँग अपेक्षा गर्ने एउटा प्रमुख विषय हो : व्यापारघाटा कम गर्ने उपाय । चीनस“गको व्यापारघाटा निकै फराकिलो छ र यो प्रतिवर्ष बढ्दो छ ।

नेपालले सबैभन्दा बढी प्राथमिकतामा राखेको विषय चाहिँ केरुङ–काठमाडौं रेल निर्माण नै हो । तर, रेल निर्माणलाई मात्रै प्राथमिकतामा राख्नुचाहिँ हुँदैन भन्नेमा पक्कै पनि नेपाल सरकारको ध्यान गएको हुनुपर्छ । हो, चीनसँगको सम्बन्ध र रेलकै बारेमा पनि नेपालमा सत्ता पक्ष र प्रतिपक्ष लगायत सबैको करीब करीब एकमत छ । यस्तो एकमतको सन्देश जाँदा पक्कै पनि चिनियाँ पक्षलाई नेपालको भनाइले प्रभाव पार्न सक्छ ।

नेपालले चीनसँग अपेक्षा गर्ने एउटा प्रमुख विषय हो ः व्यापारघाटा कम गर्ने उपाय । चीनसँगको व्यापारघाटा निकै फराकिलो छ र यो प्रतिवर्ष बढ्दो छ । नेपालले निर्यात गर्न सक्ने वस्तुहरूमा सुविधा दिने नेपालले गरेको प्रस्ताव चीनले मानेको छैन । चीनले नेपालबाट आायत हुने हजारौं वस्तुमा छूट त दिएको छ तर ती वस्तु निर्यातयोग्य छैनन् । यस्तोमा व्यापारघाटा कम गर्न के गर्न सकिन्छ भन्नेमा नेपाल सरकारले स्पष्ट माग राख्न सक्नुपर्छ ।

नेपालले आपूmले गर्नुपर्ने काम नगर्दा चीनले नेपालको भनाइ कत्तिको पत्याउँछ भन्नचाहिँ सकिँदैन । उदाहरणका लागि कोरला नाकामा चीनले भन्सारका लागि आवश्यक सम्पूर्ण पूर्वाधार बनाइसके पनि नेपालले भने जग्गा छुट्याउनेबाहेक अन्य काम केही पनि गरेको छैन । यस्तोमा उत्तर सीमाका नाका खोल्ने विषय त्यति सहज नहुन पनि सक्छ ।

तर, राष्ट्रपति सीको भ्रमणले नेपालका लागि विभिन्न अवसरका ढोकाहरू खुल्ने निश्चित छ । सीको आगमनको अर्थ त्यहाँको सरकारी संयन्त्र नेपालप्रति निकै सहयोगी हुनु हो भनिन्छ । यस्तोमा चीनको विकासबाट नेपालले लिने फाइदा निकै छन् । पर्यटनमा नै ठूलो फड्को मार्न सकिने विश्लेषण गर्न थालिएको छ ।

 अवसर पाए पनि त्यसको उपयोग गर्न नेपाल चुकेको उदाहरण निकै छन् । अहिले चीनले देखाएको उदारता र आत्मीयता पनि दीर्घकालीन आर्थिक लाभ लिन सक्ने गरी उपयोग गर्न सकिएन भने यस्तो अवसर पाउन धेरै वर्ष कुर्नुपर्ने हुन्छ । अतः नेपाल चीन सम्बन्धलाई दिगो बनाउन र आपसी आर्थिक लाभ लिन सक्ने गरी विकसित गर्ने नीति लिनु आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्