ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्मार्ट लाइसेन्स : अर्को मास प्रिन्टर खरीदको तयारीमा विभाग

Nov 19, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत साउनमा खरीद गरिएको मास प्रिन्टर हालसम्म सञ्चालनमा नल्याएको यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छपाइका लागि अर्को त्यस्तै प्रिन्टर खरीदको तयारी गरेको छ । यही वर्ष खरीद गरेको मास प्रिन्टरले लाइसेन्सको माग धान्न नसक्ने भन्दै अर्को प्रिन्टर खरीदको गृहकार्य विभागले थालेको हो । 

एक मात्र मास प्रिन्टरले आवश्यकता अनुसार लाइसेन्सको छपाइ नसक्ने भन्दै विभागले आर्थिक वर्ष २०७५/७६ को अन्त्यतिर नै थप एक मास प्रिन्टर खरीद गर्ने योजना बनाएको थियो । सोही योजना अनुसार चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले मास प्रिन्टरसहित लाइसेन्स जाँच गर्न आवश्यक कार्ड रिडर तथा ट्राफिक 
नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्न आवश्यक कार्ड रेकर्डर मेशिन खरीदका लागि बजेट छुट्ट्याएको छ ।

विभागले २०७२ मङ्सिर दोस्रो सातादेखि कागजी लाइसेन्सको सट्टा स्मार्ट लाइसेन्स वितरण शुरू गरेको थियो । सोही अनुसार २०७४ साउनदेखि देशभरका १६ ओटै कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ वितरण शुरू गरियो । शुरूमा ९ ओटा सामान्य प्रिन्टर खरीद गरेको विभागले पाँचओटा बिग्रिएपछि र बाँकी चारओटा प्रिन्टरले राम्रो छपाइ गर्न नसकेपछि ‘आउटसोर्सिङ’ गरेर लाइसेन्स छाप्यो । तर उपलब्धिमूलक नतीजा नआएपछि विभागले आफै मास प्रिन्टर खरीद गर्ने योजना बनाएको थियो । गत वैशाखमा भारतको मद्रास सेक्युरिटी प्रिन्टर्ससँग खरीद सम्झौता गरेको विभागले साउन तेस्रो साता प्रिन्टर प्राप्त गरेको थियो । प्रिन्टर प्राप्त भएको ३ महीना बितिसक्दा पनि उक्त प्रिन्टर सञ्चालनमा आउन सकेको छैन ।

विभागसँग भएका चारओटा सामान्य प्रिन्टर मेशिनले दैनिक १५ सय ओटा मात्र लाइसेन्स छाप्ने गरेका छन् । विभागले पटक पटक मिति तोकेरै मास प्रिन्टर सञ्चालनमा ल्याई लाइसेन्सको समस्या समाधान गर्ने दाबी गरे पनि लाइसेन्स पाउनेको संख्या अत्यन्त न्यून छ । यस्तै लाइसेन्सका लागि आवेदन दिनेहरू बढिरहेका छन् । नयाँ मेशिन भएकाले दक्ष प्राविधिकको अभावका कारण त्यसलाई सर्भरसँग जोड्न, जाँच गर्न समय लम्बिएको विभागले बताउने गरेको छ । 

हाल सर्भरसँग जोड्ने काम सकिएको र मास प्रिन्टरको जाँच पनि सकिएकाले मंगलवारदेखि मास प्रिन्टर सञ्चालन गरिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘जाँच गर्दा प्रिन्टरमा कुनै समस्या नभएकाले २४ घण्टा नै प्रिन्टर सञ्चालन गर्नेगरी सबै तयारी सकिएको छ,’ उनले भने । जाँचको क्रममा २ हजार ओटा लाइसेन्स छापिएकोमा प्रिन्टरले छपाइ राम्रो गरेको उनले बताए ।

प्रिन्टर सञ्चालनमा आएपछि मास प्रिन्टर खरीदका लागि टेन्डर प्रक्रिया अघि बढाउने महानिर्देशक हमालले बताए । पहिलो प्रिन्टर सञ्चालनमा आए लाइसेन्सको समस्या धेरै हदसम्म कम हुने र दोस्रो प्रिन्टर ल्याइसकेपछि लाइसेन्स प्राप्त गर्न चालकले लामो समय कुर्नु नपर्ने उनको दाबी छ । विभागले हालसम्म १० लाख ओटा स्मार्ट लाइसेन्स वितरण गरेको छ । लाइसेन्स वितरण चुस्त हुन नसक्दा हाल ७ लाखभन्दा बढी चालक रसीदको भरमा सवारी चलाउन बाध्य छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Chandra k Rai

[Nov 19, 2019 03:25pm]

Lutna samma lut kan6a, lutna samma lut... Nooo mooorrr...



   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)