काठमाडौं (अस) । अर्घाखाँची सिमेन्टद्वारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
उत्पादनको गुणस्तर सरकारद्वारा प्रमाणित भएकाले गुणस्तरीय सिमेन्टको उत्पादन एवं बिक्री वितरणलाई प्राथमिकतामा राखिने कम्पनीले बताएको छ । ‘हालसम्म ३३ ग्रेड वा सोसहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणीकरणले उपभोक्तालाई उद्योगका उत्पादनको प्रयोग गर्न थप निश्चिन्त बनाउनेछ’, कम्पनीका महाप्रबन्धक उद्धव कार्कीले भने ।
गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यो वर्षदेखि एनएचएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो ।
अर्घाखाँची सिमेन्टल हाल क्लिंकर, ओपिसी र पिपिसी सिमेन्ट उत्पादन गरिरहेको छ । गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै कम्पनीले आईपीओमा जाने तयारी सुरु गरिसकेको छ ।
०७५ देखि कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पुर्याएको कम्पनीले निषेधाज्ञाका बाबजुद आर्थिक वर्ष ०७७/७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको उद्योगका प्रमुख वित्त अधिकृत राजु पौडेलले जानकारी दिए ।