काठमाडौं । न्यू बिजनेश एज प्रालिको आयोजनामा ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम मङ्सिर १० गते हुने भएको छ । कार्यक्रमको नारा ‘नेपाली युनिकर्नको खोजी’ रहेको छ । १ अर्बभन्दा बढीको व्यवसाय गर्ने स्टार्टअपलाई युनिकर्न भन्ने अन्तरराष्ट्रिय प्रचलन छ ।
नवीनतम सोच लिएर उद्यम गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले छनोट गरिएका त्यस्ता उद्यमीहरूलाई नगद पुरस्कारसहित अवार्ड दिन लागिएको हो ।
न्यू बिजनेश एज प्रालिका अनुसार सातै प्रदेशबाट स्टार्टअप बिजनेश गरिरहेका १५ सयभन्दा बढी उद्यमीहरूको विवरण संकलन गरिएको छ । यसमा सहभागी हुन चाहने स्टार्टअपले कात्तिक १५ गतेसम्म आर्थिक अभियान र न्यू बिजनेश एजको वेबसाइटमा उपलव्ध लिंकमा गएर आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्था छ । खासगरी कम्पनी दर्ता गरेर विगत ३ वर्षदेखि नवीनतम उद्यम गरिरहेका तर दर्ताको ७ वर्ष पूरा नगरेका उद्यमीहरूलाई छनोट गरिएको छ ।
कार्यक्रमअन्तर्गत आउँदो कात्तिक १२ गते भर्चुअल माध्यमबाट अन्तरक्रियात्मक प्रशिक्षण गरिँदै छ, जसमा विद्यमान तथा आकांक्षी स्टार्टअप र युवा उद्यमीहरू सहभागी हुन सक्नेछन् । कात्तिक ३० गतेभित्र उत्कृष्ट हुनेहरूको छनोट गरिँदै छ । यसका लागि स्वतन्त्र विज्ञहरू सम्मिलित एक निर्णायक मण्डल बनाइएको छ र यसले छनोटको काम थालिसकेको न्यू बिजनेश एजले जानकारी दिएको छ । उत्कृष्ट छनोट गरिएकाहरूलाई रू. ४ लाख पुरस्कार दिने व्यवस्था भएको पनि आयोजकले बताएको छ ।
न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य नवीनतम सोचका उद्यमीहरूलाई माथि उठ्न सघाउनु रहेको बताएका छन् । उनका अनुसार सरकार, राष्ट्र बैंकलगायतले नवीनतम व्यवसाय गर्नेहरूलाई प्रोत्साहन गर्ने बताइरहेको बेला निजीक्षेत्रबाट पनि त्यस्ता उद्यमीहरूको खोजी गर्न थालिएको हो । नवीनतम उद्यम गर्नेहरूलाई उकास्न सरकारले प्रयास गरेको तर सफल हुन नसकिरहेको बेला यस्तो खालको अवार्डले उद्यमीहरूलाई माथि उठाउन सहयोग पुग्ने न्यू बिजनेश एजको अपेक्षा छ ।
‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड’ को मुख्य प्रयोजक कुमारी बैंक लिमिटेड रहेको छ भने सहप्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेको छ । ‘एसोसिएट पार्टनर’मा नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ । यस्तै अवार्ड कार्यक्रमलाई आईएमई तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेका छन् । कार्यक्रमको टेक्निकल पार्टर मेङ्गो टेक छ ।
न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । गतवर्षदेखि उसले महिला उद्यमीहरूलाई पनि सम्मान गर्ने कार्यक्रम थालेको छ भने २०१३ देखि उत्कृष्ट कम्पनीहरूलाई छनोट गरेर पुरस्कृत गर्दै आएको छ ।