ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झापाका अधिकांश पालिकाले बनाए नयाँ भवन

२०७८ फागुन, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

झापा । झापाका १५ पालिकामध्ये अधिकांशले नयाँ प्रशासनिक भवन बनाएका छन् भने कतिपयले बजेट अभावमा बनाउन नसक्दा पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । जिल्लाका शिवसताक्षी, कनकाई, गौरादह, भद्रपुर र अर्जुनधारा नगरपालिकाले फराकिलो स्थानमा नयाँ प्रविधिमैत्री भवन बनाएर कार्यालय सारेका छन् । यी पालिकाभित्र रहेका अधिकांश वडा कार्यालयले समेत नयाँ भवन बनाएका छन् । मेचीनगर नगरपालिकाले पुरानै भवनमा काम गरिरहेको छ भने दमक र बिर्तामोड नगरपालिकाले पुरानो भवनलाई व्यवस्थित बनाई आवश्यक भवन थपेर सेवा प्रदान गरिरहेका छन् ।   

यसैगरी सात गाउँपालिकामध्ये झापा गाउँपालिकाले एक करोड ५६ लाख लागतमा प्रशासनिक भवन निर्माण गरेको छ । साढे चार वर्षसम्म भाडाको घरबाट गाउँपालिकाको सबै सेवा प्रवाह गर्दै आएकोमा वडा नं ३ मा आफ्नै भवन निर्माण गरेर अब सेवा प्रवाह गर्ने भएको हो । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय दाताले जमिन प्रदान गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यसअघि झापा गाउँपालिकामा चारओटा वडा कार्यालयको भवन निर्माण गरी सेवा प्रवाह भइरहेको बताए ।

स्थानीय देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी, चित्रबहादुर श्रेष्ठ र निताई राजवंशीले प्रदान गरेको जग्गामा बनेको भवनको पालिका अध्यक्ष जयनारायण साहले उद्घाटन गरेका छन् । कचनकवल गाउँपालिकाले समेत वडा नं ७ मा स्थानीय दाताले दिएको १५ कट्ठा जमिनमा नयाँ प्रशासनिक भवन धमाधम निर्माण गरिरहेको छ । डेढ वर्षअघिसम्म भाडामा रहेको कार्यालय हाल बनियानी स्वास्थ्यचौकी नयाँ भवन बनाएर सरेपछि सोही स्थानबाट पालिकाले सेवा प्रवाह गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

बाह्रदशी गाउँपालिकाले वडा नं ४ मा रहेको डेढ बिघा जमिनमा प्रशासनिक भवन निर्माणका लागि डिपिआर तयार गरे पनि बजेट अभावमा बनाउन नसकेको बताएको छ । कार्यालयले साविक गाविसको भवनमा नयाँ भवन थपेर हाल सेवा दिइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले बताए । हल्दीबारी गाउँपालिकाले वडा नं ५ मा स्थानीय दाताले प्रदान गरेको एक बिघा १८ कट्ठा जमिनमा पाँच करोड बढीको लागतमा भूकम्प प्रतिरोधी, अपांगतामैत्री सातओटा भवन बनाइसकेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)