ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अब नेपाल पनि विश्वस्तरमा आउनु पर्‍यो

२०७९ बैशाख, १८  
अन्तरवार्ता
Image Not Found

पछिल्लो समय व्यावसायिक वातावरण एवं उद्यमशीलताको माहोल बढ्दै गर्दा यस क्षेत्रमा आउनेहरूलाई सहज भएको छ । त्यसमा महिला उद्यमीको समेत उत्साहजनक उपस्थिति देखिन्छ । तर केही दशक अघिसम्म महिलालाई उद्यम व्यवसायमा आउन सहज थिएन । त्यही असजहताकै बीच यस क्षेत्रमा आउने महिला उद्यमीको परिचय भने यतिबेला निकै फराकिलो बनेको छ । म्यागी शाह तिनै महिला उद्यमीको प्रतिनिधि हुन्, जसले साढे ३ दशक अघिदेखि नेपालमा व्यावसायिक जगतमा ठूलो योगदान पुर्‍याएकी छिन् । प्रस्तुत छ, उनको व्यावसायिक यात्रा, नेपाली महिला उद्यमीको अवस्थालगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :

तपाईं कसरी नेपाल आउनुभयो ? कसरी व्यवसायमा लाग्नुभयो ? अलिकति पृष्ठभूमि बताइदिनुहोस् न ।

महिलाको विकासका लागि मौकामा बोल्न, हेर्न र गर्न पाउनुपर्छ भन्नेमा म शुरूदेखि नै लागिरहेको छु । म अमेरिकनको छोरी यहाँ नेपालको बुहारी भएर आएको छु । म पनि एउटा ठूलो परिवारकी छोरी हुँ । अमेरिकामा पढ्दै गर्दा विजय शाहजीसँग मेरो भेट भयो । त्यसपछि नेपाल आएर सन् १९७० मा हामीले बिहे गर्‍यौं । मेरो ससुरा पहिलेदेखि नै आफ्नो डिस्टिलरी व्यापारमा लाग्नुभएको थियो । अनि विजयबाबुले पनि नयाँ मशिन ल्याएर सन् १९७० मा जाउलाखेल डिस्टिलरी शुरू गर्नुभएको हो । 

त्यो बेला हाम्रा महिला दिदीबहिनी व्यापारमा लागेर अगाडि बढ्ने समय थिएन । मैले अरू महिला साथीहरूलाई भेटेर, हामी महिला उद्यमीहरू मिलेर गएमा राम्रो हुन्छ भनेर संगठन शुरू गर्‍यौं । एकजना इन्जिनीयर याङजी शेर्पा हुनुहुन्थ्यो । पटनाबाट पढेर नेपाल आएर उहाँले झोलुंगे पुल निर्माण गरिरहनुभएको थियो । उहाँको सहयोगमा सन् १९८७ मा हामीले महिला उद्यमी संघ शुरू गरेका हौं । त्यहाँ कोही बुटिकको काम गर्थे, कोही इन्जिनीयर थिए, म पनि पारिवारिक व्यवसायमा थिएँ । मलाई पनि कृषि व्यवसायमा रुचि जागेर रेशम खेतीमा अगाडि बढेँ । 

नेपाल आएर पनि पढाइलाई निरन्तरता दिनुभयो ?

नेपाल आएर नेपाली पढ्नुपर्‍यो । अमेरिकामा मैले नर्सिङ पढिरहेको थिएँ । बिजनेश म्यानेजमेन्ट थिएन । तर मेरो दखल म्यानेजमेन्टमै छ । 

नेपालमा कुन - कुन व्यवसायमा कसरी संलग्न हुँदै जानुभयो ? 
त्यतिबेला जाउलाखेल डिस्टिलरी जाउलाखेलमै थियो । मेरो श्रीमानमा प्रविधिमा निकै रुचि र यस सम्बन्धी खुवी पनि थियो । त्यसैले कम्पनी पनि सफल भएको थियो । मैले उहाँलाई व्यवस्थापन र बजारीकरणमा साथ दिएको थिएँ । बजार व्यवस्थापनका लागि म मेचीदेखि महाकालीसम्म नै पुगेँ । समस्याहरू हेरेँ । के कस्तो छ भनेर सबै कुरा त्यतिबेला नै देखेँ । 

अहिले पनि व्यवसायमै सक्रिय हुनुहुन्छ ? 
अहिले अफिस दिनहुँ जान्नँ । विजयबाबु चाहिं दिनहुँ जानुहुन्छ । टेक्नोलोजी र ब्लेन्डिङहरूमा उहाँ एकदमै ध्यान दिनुहुन्छ ।

अहिले कम्प्युटर छ, सेल फोन छ । तर त्यसैले गर्दा काम जटिल पनि भयो ।
 

जहिले जाउलाखेल डिस्टिलरी भन्ने मात्र थियो, ती दिनहरू कसरी सम्झनुहुन्छ ? 
त्यो बेला नेपालको अर्थतन्त्र पनि सानो थियो । व्यावसायिक बजार प्रवर्द्धनका लागि मान्छे सजिलै पाइँदैनथ्यो । हाम्रो मार्केटिङमा दुईजना मानिस थिए । र, उनीहरू अर्डर मात्र लिन्थे । अर्डर मात्र लिने काम नै त्यतिबेलाको मार्केटिङ थियो । अहिले १०० जना छन् । शीप भएको मान्छे राख्नुपर्‍यो । ब्राण्डको शीप, सेल्सको शीप भएको प्रोफेशनल मानिस राखिएको छ । 

व्यवसाय गर्न पहिले सजिलो थियो कि अहिले ? 
त्यतिबेला कम्प्युटर पनि थिएन । अहिले कम्प्युटर छ, सेल फोन छ । तर त्यसैले गर्दा काम जटिल पनि भयो । व्यवसायमा धेरै जानकारीे आइरहन्छन् । त्यसबेला आफै अध्ययन गरेर जवाफ दिन सक्ने हुनुपथ्र्याे । तर अहिले प्रोफेशनल मान्छे भएकाले मैले जवाफ दिनु परेन ।

जो आँट गर्ने महिला हुनुहुन्छ, उहाँहरूलाई घरबाट साथ/ सहयोग चाहियो ।
 

तपाईं आफैले मूल्यांकन गर्नुपर्‍यो भने कत्तिको सफल वा असफल भए जस्तो लाग्छ ? 
त्यो बेला हामी सफल भएकै हो । म गर्वका साथ भन्न सक्छु– हामी नम्बर १ नै थियौं । अहिले पनि म भन्छु हामी नम्बर १ नै हौं । सबैजना परिवार लागेर आआफूले केही न केही जिम्मा लिएर हेरचाह गरिएको छ । त्यो बेला सरल थियो, अहिले जटिल भएको छ । तर रमाइलो पनि छ । 

अहिले तपाईंको यो व्यवसाय पारिवारिक रहेन, पब्लिक लिमिटेड कम्पनी भइसक्यो । अब परिवारले भन्दा प्रोफेशनलले हेर्नेमा गइसक्यो । त्यो हिसाबले पनि तपाईं आफूलाई धेरै सफल मान्नुहुन्छ नि, होइन ?
सफल मान्नुपर्‍यो नि, होइन र ? हामीहरू सबै मिलेर सफल भएका हौं । छोराको जमानामा आएर उनकै नेतृत्वमा पब्लिक कम्पनीमा गएका हौं । हामी अझै केही थप पनि गर्ने कि भनेर सोच्दै छौं । किनभने इन्भेस्टमेन्ट हाम्रो व्यक्तिगत परिवारलाई भारी भयो । हाम्रो हिमालयन डिस्टिलरी त राम्रै गरिरहेको छ । शेयर बजारमा आफ्नो स्थान लिइरहेको छ । अब विश्वस्तरमा हाम्रो नेपाल आउनु पर्‍यो । 

नेपालमा रुस्लान भोड्का भनेको भोड्काको ‘जेनेरिक नेम’ नै भयो । तर बियरमा चाहिं भास्र्टाइनर जस्तो जर्मन ब्रान्डले पनि त्यति राम्रो गर्न सकेन । किन होला ?
त्यो त स्पष्टै छ । हाम्रो नेपालको उपभोक्तालाई बढी अल्कोहल भएकोे बियर चाहिन्छ । तर भास्र्टाइनर त स्याम्पेन बियर हो । यसमा ४ दशमलव ५ प्रतिशत मात्र अल्कोहल छ । यहाँका उपभोक्तालाई किक चाहिन्छ । किक हुन ७–८ प्रतिशत अल्कोहल चाहिन्छ । पारखीहरूले त भास्र्टाइनर नै खोजेरै खान्छन् । अहिले हाम्रो बडवाइजर बियर पनि आइसकेको छ । बडवाइजर पनि ८ प्रतिशत किकवाला त होइन । तर यसले चाहिं राम्रो गरिरहेको छ । त्यसैले हामीले उपभोक्ताको रुचि अनुसारको ८ प्रतिशत अल्कोहलवाला अरू बियर पनि ल्याएका छौं । सबैभन्दा गाह्रो काम नै उपभोक्ताको चित्त बुझाउनु हो ।

अमेरिकामा महिलालाई विश्वास गर्छन्, यहाँ विश्वास नै गर्दैनन् । 
 

जाउलाखेल ग्रूप अफ इन्डस्ट्रिजको फेमिली बिजनेशलाई पब्लिक कम्पनीमा कसरी रूपान्तरण गर्नुभयोे ? कस्तो कस्तो समस्या आयो ? त्यसबारे अलिकति बताइदिनुस् न ?
कङ्लोमरेटसम्म पुग्न एउटा त आफ्नो समय अनुसारकोे वृद्धि/ विकास नै कारण हो । अहिले हाम्रा बोटलिङ हाउसहरू, एसियन डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी, विजय डिस्टिलरी र हिमालयन डिस्टिलरी छन् । विभिन्न समस्या भएकाले अर्को कम्पनी खोल्दै जानुपर्‍यो । विभिन्न ठाउँ - ठाउँमा प्रडक्सन पनि गर्नुपर्‍यो । यो सबै व्यावसायिक सन्तुलनका लागि गरियो । २/ ४ ठाउँमा प्रडक्सन भइराख्यो भने जनशक्ति, आपूर्ति आदिमा सन्तुलन राख्न सजिलोे हुन्छ । नेपालको व्यावसायिक वातावरण, श्रम सम्बन्ध धेरै राम्रो छैन । त्यही भएर हामीले ठाउँठाउँमा प्रडक्सन युनिट राख्यौं र अघि बढ्न सफल भयौं । समय समयमा प्रविधि परिवर्तन हुन्छ, अनि नयाँ कुरा गर्नुपर्ने हुन्छ । त्यो पनि गर्दै गएर हामी यसमा सफल भयौं ।


नेपालका महिला उद्यमी र अमेरिकाका महिला उद्यमीबीच तुलना गर्नुपर्‍यो भने कसरी गर्नुहुन्छ ? 
त्यहाँका महिलालाई शुरूदेखि नै ‘जा, गएर काम गर’ भनिन्छ, नेपालमा त त्यस्तो हुँदैन । तपाईंहरू दिदीबहिनीलाई ‘जा जा भन्नुहुन्न’ भने नजा भन्नु बराबर हो । यहाँ जो आँट गर्ने महिला हुनुहुन्छ, उहाँहरूलाई घरबाट साथ/सहयोग चाहियो । मैले धरैजनाले राम्रो गरेको देखेको छु । बुवाले छोरीलाई काम गर्न पठाएको देखेको छु, श्रीमानले पनि साथ दिएको देखेको छु । अर्कोतिर, साथ नदिएको पनि देखेको छु । 

अमेरिकामा चाहिँ ‘स्मल बिजनेश इज द ब्याक बोन अफ द इकोनोमी’ भन्ने मान्यता छ । महिलाहरू थुप्रै बिजनेशमा लागिरहेका छन्, सफल पनि भइरहेका छन् । त्यहाँका महिलाका लागि वित्तीय सहयोगका लागि बैंक कर्जा अझै सजिलो छ । अमेरिकामा महिलालाई विश्वास गर्छन्, यहाँ विश्वास नै गर्दैनन् । 

महिलाहरू फुड प्रडक्टमा सफल भइरहेका छन् । 
 

भनेपछि यहाँका महिला उद्यमीलाई बैंक, समुदायले त्यति विश्वास गरिसकेका छैनन् ? 
विस्तारै गर्दै छन् । आजभोलि छोरा मान्छेले पनि कति ठाउँमा व्यवसायमा दुःख पाइरहेका छन् । पैसा लिएर भाग्ने प्रवृत्ति पनि देखिन्छ । महिलाहरू त्यस्तो गर्दैनन् काम गर्छन् । योजना बनाएर भाग्दैनन् । महिलाले सकेसम्म ठगठाग गर्दैनन् । 

तपाईं व्यवसायमा आएको पनि ३०–४० वर्ष त भयो होला । यो यात्रामा नेपाली महिला उद्यमीको स्थिति पहिले र अहिले कस्तो देख्नुहुन्छ ? 
अहिले धेरै जना आइरहेका छन् । सानो स्तरबाट शुरू गरेको छ । अर्को, ठूलो स्तरबाट पनि शुरू गर्दै आएका छन् । ट्राभल, टुरिजममा पनि छ, हस्तकलाका व्यवसायमा पनि धेरै छन् । त्यसबाट सफल पनि भइरहेको देखिन्छ । बुटिक, रेडिमेड प्रडक्टहरूमा आइरहेका छन् । महिला उद्यमी मार्केटिङ कोअपरेटिभमा चाहिँ महिलाहरू फुड प्रडक्टमा सफल भइरहेका छन् । 

काम गरिरहेका महिला उद्यमी अथवा उद्यम गर्न चाहने महिलाका लागि के सुझाव दिन चाहनुहुन्छ ? 
सबैभन्दा ठूलो कुरा आट गर्न सक्नुपर्‍यो । बरु गल्ती नै गरौं, तर गल्तीबाट सिकौं । त्यही ठूलो कुरा हो । अनि सहयोग लिनुस् न, सहयोग लिनुपर्‍यो, खोज्नुपर्‍यो । अहिले त महिलालाई अगाडि बढाउन धेरै संगठनहरू पनि छन् । गर्न खोज्नेले गर्न सक्छ, सहयोग पाउने जमाना आइसकेको छ । अहिले हेर्नुस् न उच्च शिक्षामा पनि धेरै महिला छन् । मेरो उमेरका महिलाले पनि काम गरेर, सफल भएर अर्को पुस्तालाई हस्तान्तरण गरिसक्नु भएको छ । 

सबैभन्दा ठूलो कुरा आँट गर्न सक्नुपर्‍यो । बरु गल्ती नै गरौं, तर गल्तीबाट सिकौं ।
 

महिलाले पुरुषको तुलनामा बैंकबाट कर्जा नै नपत्याउने समस्या भोगेको पाइन्छ । राष्ट्र बैंकले विनाधितोे १५ लाखसम्म ऋण दिने भनेको छ । तर त्यो लिन पनि उहाँहरूलाई ‘महाभारत’ छ । यस्तो स्थितिमा पहिलेभन्दा परिवर्तन आएको छ कि छैन ? 
म त परिवर्तन भयो भन्छु । अस्तिमात्र फेयर ट्रेड ग्रुपको कार्यक्रममा गएको थिएँ । त्यहाँ एकजना वयस्क उद्यमी हुनुहुन्थ्यो । उहाँले हामी बुढीहरूलाई देखेर तिमीहरूको जमानामा विस्तारित परिवारबाट फुत्केर आउनुपर्ने थियो रे, कसरी आयौ ? कति गाह्रो भयो ? भनेर सोध्नुभयो । म सानो परिवारकोे मान्छे, मलाई कति गाह्रो भयो, छोरालाई लिएर हिँड्नुपर्‍यो, मैले कारको पछाडिको सिटमा छोरालाई सुताएर हिँड्नुपर्‍यो भन्नुभयो । हामीले के जवाफ दियौं भने, सानो परिवार नहुँदा बच्चा हजुरआमासँग छोडेर निस्कन पायौं । 

तपाईंको बुझाइमा महिला उद्यमीका समस्या के - के हुन् ?
समस्या त त्यही हो, कर्जामा विश्वास नै गरिँदैन । अहिलेका महिलालाई अगाडि बढ्न नेटवर्क चाहिन्छ, ज्ञान लिने ठाउँ चाहियो । जमानामा हामी पनि भारतमा कति घुमेर महिला उद्यमीको काम हेर्‍यौं । मैले रेशमको काम गर्दा कर्नाटक गएर धेरै कुरा सिकेँ । सिक्ने मौका पाइन्छ, मलाई विश्वास छ । अहिले भारतभन्दा अझ बाहिर जान सकिन्छ । सिक्नका लागि यूरोप पनि छ । अनि एनजीओ र फेयर ट्रेड गु्रपबाट पनि धेरै नेटवर्किङ भइरहेको छ । 

अहिलेका महिलालाई अगाडि बढ्न नेटवर्क चाहिन्छ । 

तपाईंले सामाजिक काममा पनि आफूलाई निकै व्यस्त राख्नुभएको छ । धेरै उदार भएर सहयोग गरिरहनुभएको हामीले सुनेका छौं । तपाईंले अहिलेसम्म गरेको सामाजिक काममा के कस्ता सफलता हात पार्नुभयो ? 
सबैभन्दा पहिला त महिला उद्यमी संघ नै छ । त्यसमा म संस्थापनादेखि नै सदस्य छु । त्यो हुँदाहुँदै म अर्को संगठन टेवामा पनि छु । नेपाली जनताबाट फन्ड उठाएर दुर्गम क्षेत्रको महिलाका लागि हामीले टेवाबाट अनुदान दिइरहेका छौं । उहाँहरूलाई एउटा अफिस शुरू गर्न लेखाको तालीम दिने, मिटिङ चलाउन तालिम दिने काम टेवाले गरिरहेको छ । म मानसिक स्वास्थ्य सम्बन्धी काम गर्ने संस्था आशा दीप भन्नेमा पनि लागिरहेको छु । त्यसमा पनि म संस्थापक सदस्य नै हुँ । मानसिक स्वास्थ्य सबैका लागि जरुरी छ । ‘नो हेल्थ विदाउट मेन्टल हेल्थ’ भन्ने विश्व स्वास्थ्य संगठनको नारा पनि छ । अहिलेका युवाहरूमा पनि मानसिक स्वास्थ्यको समस्या देखिरहेका छौं । मनमा शान्ति छैन भने हामी अरू काम नै गर्न सक्दैनौं । त्यसैले यस विषयमा पनि मैले एकदमै लागेर प्रयास गरिरहेको छु । तर म अहिले अवकाश हुन खोजिरहेको छु, आफू अध्यक्ष भएको ठाउँमा अहिले सदस्य मात्र भएर बसिरहेको छु । अहिलेको जमानामा युवाहरू उठेर आफ्ना नयाँ कार्यक्रम ल्याउनुपर्छ । अगाडि बढ्नुपर्छ ।

तपाईंले गरेका सामाजिक काम अथवा महिला उद्यमशीलताको बारेमा भन्नुपर्ने थप केही छ कि ? 
अन्त्यमा म के भन्छु भने आँट गर्नुपर्छ । सबभन्दा ठूलो कुरा नै आँट हो । गल्तीबाट हट्नु हुँदैन, गल्ती त हुन्छ नै । गल्ती एउटा मौका हो । त्यही सम्झनुपर्‍यो । अनि आँट गरेर अगाडि बढ्यो भने आफू, आफ्नो परिवार र आफ्नो समाजलाई अगाडि बढाउन सकिन्छ । युवाहरू मिलेर आउनुपर्छ । नयाँ तरिकाहरू, आफ्नो टेक्नोलोजी, आफ्नो लगानी गरेर अगाडि बढ्नुपर्छ ।

(जाउलाखेल ग्रूप अफ इन्ड्रस्ट्रिजकी निर्देशक रहेकी उनी हालै स्ट्याण्डर्ड चार्टर्ड न्युबिज बिजनेश वुमन समिट एन्ड अवार्डस २०२२ मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी थिइन् ।)

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement