वैशाख १९, टोकियो । पछिल्लो समय विश्वभर घरको औसत मूल्य बढेको छ ।
अमेरिकादेखि बेलायतसम्म सबैतिर घर, अपार्टमेन्ट अनि जग्गाको भाउ आकाशिएका छन् । जापानको राजधानी टोकियोमा पनि गत वर्ष नयाँ घरको औसत मूल्य बढेर ४ करोड ३३ लाख येनमा पुगेको छ ।
मानव संशाधन कम्पनी रिक्रुइटले २ हजार ५०२ जना नयाँ घर क्रेताहरुमाझ गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो । गत वर्षको औसत मूल्य रिक्रुइटले सन् २०१४ देखि यस्तो खालको सर्वेक्षण गर्न थालेयताकै उच्च हो । समीक्षा अवधिमा धेरैजसो नयाँ घरको मूल्य ३ करोड येनदेखि ४ करोड येनबीच रहेको थियो ।
१६ दशमलव ८ प्रतिशत क्रेताले घर ३ करोड येनदेखि ३ करोड ५० लाख येनसम्म तिरेर किनेका छन् । १७ प्रतिशतको भाउ ३ करोड ५० लाख येनदेखि ४ करोड येन थियो । ११ प्रतिशतले भने घरको लागि ६ करोड येनभन्दा बढी मूल्य तिरेको पाइएको छ । एउटै घरको लागि यति धेरै रकम तिर्नेको यो अनुपात सन् २०२० को प्रतिशतभन्दा दोब्बर धेरै हो ।
स्थानका आधारमा मध्य टोकियोको २३ ओटा वडामा घरको मूल्य बढेर ६ करोड ६ लाख येनमा उक्लिएको छ । पश्चिम टोकियोमा नयाँ घरको औसत भाउ ४ करोड ६३ लाख रहेको थियो । कानागावामा औसत मूल्य ४ करोड १४ लाख येन थियो । एजेन्सी