ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जहाँ संकट हुन्छ, त्यहाँ अवसर पनि हुन्छ

२०७९ बैशाख, २६  
अन्तरवार्ता
Image Not Found

अनेकौं चुनौती र समस्याकै बीच पछिल्लो समय महिला उद्यमीहरू व्यावसायिक क्षेत्रमा अगाडि आउन थालेका छन् । यसमा कतिपयलाई पारिवारिक व्यावसायिक पृष्ठभूमिले समेत सघाएको छ । पारिवारिक व्यवसायलाई कुशल नेतृत्व दिन सफल महिला उद्यमीमध्ये सहारा जोशी पनि नछुट्ने नाम हो । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)की द्वितीय उपाध्यक्ष समेत रहेकी जोशीले हिमालयन ब्याम्बोमा प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेर व्यवसायलाई गति दिइरहेकी छिन् । प्रस्तुत छ, उनको व्यावसायिक यात्रा, कम्पनीको अवस्था, उद्यमशीलता प्रवर्द्धनमा एनवाईईएफको भूमिका लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :

आफ्नो बारेमा बताइदिनुहोस् न । कहाँ पढ्नुभयो ? हिमालयन ब्याम्बोमा कहिलेदेखि जोडिनुभयो ?
म शुभतारा स्कुलमा पढेको हुँ । त्यसपछि म थाइल्याण्डमा गएँ । त्यहाँ इन्टरनेशनल ब्याकालरेट कोर्स र अस्ट्रेलियामा ब्याचलर कोर्स सकेर नेपाल फर्कें । त्यसपछि हाम्रो पारिवारिक व्यवसाय हिमालयन ब्याम्बोमा संलग्न भएको हुँ । त्यसमा हामी काठ र बाँसको फ्लोरिङ तथा फर्निचरको काम गर्छौं । ब्याम्बो हाउजिङको पनि धेरै काम गरेका छौं । एनवाईईएफमा आबद्ध भएको ५–७ वर्ष भयो ।

तपाईंले ग्य्राजुएसन कुन विषयमा गर्नुभयो ?
मैले ग्य्राजुएसन उद्यमशीलतामै गरेको हुँ ।

हिमालयन ब्याम्बोको बारेमा बताइदिनुहोस् न । व्यवसायको अवस्था कस्तो छ ? कहिलेदेखि शुरू भएको हो ? के के उत्पादन हुन्छ ? कहाँ बेच्नुहुन्छ ?
हिमालयन ब्याम्बो सन् २००० मा स्थापना भएको हो । पहिला यसको फ्याक्ट्री हेटौंडा औद्योगिक क्षेत्रमा थियो । अहिले चोभारमा सारेका छौं । शुरूमा ब्याम्बो (बाँस)को पार्केट र प्ल्यांक उत्पादन गथ्र्यौं । तर चीनबाट एकदमै सस्तोमा ब्याम्बो प्रडक्ट आउँदा प्रतिस्पर्धा गर्न गाह्रो भएकाले अहिले ब्याम्बो र काठ दुईओटैको काम गरिरहेका छौं । यो सबै स्वदेशी उत्पादन नै हो । ब्याम्बो पनि स्थानीय उत्पादन नै हो, जुन इलामतिरबाट ल्याउँछौं भने काठ धनगढीतिरबाट आउँछ । हाम्रो करीब ९० प्रतिशत उत्पादन स्थानीय स्रोतबाटै आपूर्ति हुन्छ । कोटिङको सामग्री भने बाहिरबाट आउँछ । मशिनरीदेखि कच्चापदार्थ, प्राविधिक सबै स्थानीय नै हो ।

हाम्रो उत्पादन काठको पार्केट हो । ब्याम्बोको हकमा यसबाट कम खर्च लाग्ने घर बनाउँछौं । ब्याम्बोका फर्निचर र काठमा आधारित कम्पोजिट फर्निचर उत्पादन गर्छौं । यस्तो कम्पोजिट फर्निचर ह्यान्डक्राफ्टबाटै उत्पादन गरिन्छ । यसमा शिकागोको एउटा कम्पनीसँग सहकार्य गरेका छौं । उक्त कम्पनीले गरेको डिजाइनमा हामी उत्पादन गर्छौं । उत्पादित सामग्री पहिले अन्तरराष्ट्रिय बजारमा मात्र पठाउँथ्यौं । तर, कोभिडको कारण ढुवानी लागत धेरै भएर अहिले नेपाली बजार नै विस्तार गर्ने योजनामा छौं ।

 

 

हिमालयन ब्याम्बो बीचमा बन्द भएको थियो, होइन ?
हामीले २००९ मा ‘टेकओभर’ गरेका हौं । त्यसअघि केही समय बन्द थियो । त्यसपछि यो निरन्तर चलिरहेको छ । म २०१५ देखि यसमा आबद्ध भएकी हुँ । यसलाई निरन्तर चलाइरहेकी छु ।

यसका उत्पादन नेपाली बजारमै विक्री हुन्छ कि विदेश पनि जान्छ ?
फर्निचर विदेश पनि जान्छ । पार्केट चाहिँ नेपाली बजार (होटल, रिसोर्ट र हाउजिङहरू)मा जान्छ । अलिकति लक्जरियस प्रडक्ट छन् । किनभने ठोस काठ अलि महँगो नै छ ।

गुणस्तर र दिगोपनमा अहिलेका ग्राहक एकदमै सचेत भएका छन् ।

विदेश कुन मात्रामा जान्छ ?
विदेश कोभिडको बेलामा पठाएनौं । पहिले हामीले दुबई, बहराइन, जापान लगायत देशमा पठाएका हौं । खेपको १०–२० हजार वर्गफिट पठाउने गरिएको थियो । अहिले पठाइएको छैन । अहिले स्थानीय बजारमै सीमित छौं । आशा छ, अब फेरि पठाउन थालिन्छ । कोभिडको अवस्था कस्तो रहन्छ, त्यसमा भर पर्छ ।

नेपाली बजारमा यो कति परिमाणमा जान्छ ?
नेपाली बजारमा पनि वर्ष अनुसार हुन्छ । अहिले अलिकति कम नै छ । विस्तारै बढ्दै छ । १४ हजारदेखि २० हजार वर्गफिटजति नेपाली बजारमा जान्छ । त्यो भनेको ५ देखि ६ करोड रुपैयाँ बराबरको हुन्छ ।

कति जनालाई रोजगार दिइएको छ ?
अहिले हामीसँग २० जना कालीगढ मात्र छन् । कार्यालयमा पाँचजना छन् । इन्स्टलेशन टीम छुट्टै हुन्छ । बजारको माग अनुसार बाहिरबाट जनशक्ति जुटाएर पनि काम गर्छौं ।

कालीगढ नेपाली नै छन् कि ? बाहिरका ?
धेरैजसो हामी नेपाली नै छौं ।

उत्पादनमा प्रतिस्पर्धा कस्तो छ ?
प्रतिस्पर्धा एकदमै छ । हाम्रा उत्पादनमा खास काठ नै प्रयोग हुन्छ । तर बजारका अन्य उपादन काठको लेमिनेटेड हुन्छ । यद्यपि त्यस्ता उत्पादनसँग हाम्रो सीधा प्रतिस्पर्धा भने हुँदैन । त्यो एकदमै सस्तो विकल्प हो । हाम्रो उत्पादन प्रतिवर्गफिट रू. ८०० भन्दा बढी पर्छ भने लेमिनेटेड पार्केट  प्रतिवर्गफिट रू. १०० देखि १२० सम्ममा पाइन्छ । हाम्रै जस्तो उत्पादन गर्ने चाहिँ अन्य एक–दुईओटा कम्पनी होलान् । तर गुणस्तर र फिनिसिङमा हामी नै अगाडि छौं ।

कुनै बेला सालको काठको पनि पार्केट बनाउनु हुन्थ्यो । त्यो अहिले पनि छ ?
त्यो अहिले छैन । हामी सिसम, अस्ना, टिक र हिमालयन चेरी गरी खास चारओटा काठमा मात्र काम गर्छौं । चेरी युकालिप्टस काठ हो । त्यो चाँडै हुर्कन्छ । यो वातावरणमैत्री पनि भएकाले हामीले यसमा जोड दिएका छौं । सामुदायिक वनहरूबाट त्यो ल्याउँछौंं ।

उद्यमशीलता बढाउन हाम्रो शिक्षाक्षेत्रदेखि नै सुधारका काम गर्नुपर्छ ।     

नेपाली ग्राहकले हिमालयन ब्याम्बोका उत्पादनलाई धेरै रुचाएका छन् कि अन्य सस्ता प्रडक्टलाई ?
हाम्रो त खास ग्राहक नै हुनुहुन्छ । हाम्रा जति ग्राहक हुनुहुन्छ, उहाँहरू हाम्रा प्रडक्ट दोहोर्‍याएर लिने खालको हुनुहुन्छ । साथै हामीले एउटा घरमा सेवा दियौं भने उहाँहरूले अर्कोमा पनि सिफारिश गर्नुहुन्छ ।

यो कहाँ पाइन्छ ? शोरूम देशैभरि छ कि खास ठाउँमा मात्र ?
हाम्रो शोरूम छैन । अफिस थापाथलीमा छ । वर्ड अफ माउथ र बीटुबी विक्री हुन्छ । धेरैजसो होटल र अपार्टमेन्टहरूमा जान्छ । सीमित ग्राहक हुनुहुन्छ ।

माग आएपछि मात्र उपलब्ध गराउने खालको हो ?
कुनै कुनै काठ एकदमै महँगो हुन्छ । त्यो हामी स्टकमा पनि राख्दैनौं । कुनै क्लाइन्टले तोकेरै अर्डर गर्नुभयो भने उहाँहरूले भनेअनुसारको बनाइदिनैपर्छ ।

कच्चापदार्थ आयात गरिरहनुपर्ने जरुरी छैन ?
कच्चापदार्थ खासै आयात गरेका छैनौं । तर कोटिङका जुन लेयर अर्थात् प्रोटेक्टिभ लेयर हुन्छ, त्यो र वुड ओइल, यूभी कोटिङ बाहिरबाट ल्याउनुपर्छ ।

नेपालमै ब्याम्बो रोप्ने, राटेन अथवा केन प्रडक्सनमा जाने किसिमको सम्भावनामा केही खोजी गर्नुभएको छ ?
त्यसमा पनि धेरै अध्ययन गरेको हो । तर यसले हाम्रो आपूर्ति शृंखला धेरै लामो हुने भयो । रोप्नेदेखि लिएर अन्तसम्ममा हामीलाई अनुसन्धान तथा विकासको लागि छुट्टै कोष नै खडा गर्नुपर्ने भयो । एक/दुईचोटि समुदायमै गएर ‘तपाईंहरू बाम्बो रोप्नुस्, हामी लिन्छौं’ भनेर एक/दुईओटा गरैरसरकारी संस्थासँग पनि कुरा गरेर काम गर्न खोज्यौं । तर अहिलेसम्म सफल भएको छैन । तर त्यसमा लागि नै रहेका छौं । निजी कम्पनीले त्यत्रो लामो आपूर्ति श्रृंखला धान्न सक्दैन ।
 
अमेरिकी कम्पनीसँग डिजाइनिङमा पार्टनरशिप छ भन्नुभयो । त्यो कुन किसिमको हो ?
हामीले सहकार्य गरेको एलडटसँग हो, जुन निर्यातको विषयमा हो । उहाँहरूले डिजाइन गर्नुहुन्छ । हाम्रा स्टाफहरू उहाँहरूको डिजाइनमा तालीमप्राप्त भइसकेका छन् । उहाँहरूले अमेरिकामा पनि बेच्नुहुन्छ । त्यसकारण हामीले स्थानीय बजारलाई त्यति ध्यान दिएका थिएनौं । अब चाहिँ हाम्रो योजनामा स्थानीय बजार पनि छ ।

व्यावसायिक आकार बढाउन सकिने सम्भावना कत्तिको छ ? त्यसबारे केही सोच्नुभएको छ ?
व्यावसायिक आकार कत्रो बनाउने भन्ने त बजारमै निर्भर हुन्छ । अहिले बढ्दै गएको छ । दिगोपनका कुरा पनि हुन्छन् । ब्याम्बोको बारेमा धेरै जानकार भएका छन् । पहिले ब्याम्बो भनेपछि एकदमै सस्तो भन्ने सोचिन्थ्यो । भुइँचालोको बेलामा हामीले ब्याम्बोका धेरै घर बनायौं । पुन:स्थापना केन्द्र, अस्थायी आश्रयस्थलहरू बनायौं । त्यो गर्दा बजारमा यसबारे ज्ञान र सोधपुछ पनि बढेको छ । लक्जरी मार्केटमा दिगोपनका हिसाबले अहिले ग्राहक एकदमै सचेत भएका छन् ।

यसमा विदेशी लगानी ल्याउने, थप व्यापक बनाउने सोच छ कि ?
अहिले नै त छैन । अहिले हामी यथावस्थामै चलिरहेका छौं । यद्यपि सम्भाव्य अवसर पनि हेरिरहेका छौं ।

नेपालमा नयाँ फर्निचर प्रडक्ट पनि ल्याउन लागिएको भन्नुभएको छ । त्यसबारे थोरै बताइदिनुहोस् न ।
त्यो अहिले योजनाकै तहमा छ । एउटा भारतीय कम्पनी (स्टार्टअप नै हो) सँग सहकार्य गर्दै छौं । निधो भइनसकेको हुनाले नाम चाहिँ अहिले नभनिहालौं । त्यो अनलाइन–बेस्ड ई–कमर्श फर्निचर स्टोर हो । नेपालमा अहिले ई–कमर्श एकदम बढिरहेको छ । तर फर्निचरमा त त्यस्तो छैन । हामीले भारतीय कम्पनीको डिस्ट्रिब्युटरशिप भन्दा पनि सिस्टम लिने हो । उहाँहरूको फ्रेन्चाइजमा काम गर्दै छौं । यो हिमालयन ब्याम्बो भन्दा भिन्नै व्यवसाय हो ।

मेहनतपूर्वक अथक रूपमा काम गर्न सक्ने हो भने नेपालमा राम्रा अवसर छन् । 

एनवाईईएफको द्वितीय उपाध्यक्ष हुनुहुन्छ । यो संस्थाले के गर्छ ?
यो युवाहरूको संस्था हो । यो अहिले १८ वर्षमा चलिरहेको छ । शुरू गर्दा यसमा ४० देखि ५० जना युवा उद्यमी हुनुहुन्थ्यो । अहिले देशभर ११ ओटा च्याप्टर छन् । उत्पादन, सेवा, व्यापार लगायत धेरै क्षेत्रबाट ७०० भन्दा बढी सदस्य हुनुहुन्छ । एनवाईईएफ धेरै समावेशी संस्था हो । पुरुष र महिला सबै जना हुनुहुन्छ । देशभरिका युवा आबद्ध हुनुहुन्छ । हामी युवा उद्यमशीलता प्रवर्द्धन गर्छौं । देशैभरि सकारात्मक सोच प्रवर्द्धन गर्छौं ।

संस्थाले युवा र युवा उद्यमशीलताका लागि के के गरेको छ ? बुँदागत रूपमै भनिदिनुस् न ।
हामीले भर्खरै स्टार्टअप कम्युनिटी शुरू गरेका छौं । च्याप्टरमा गएर सानो सानो बैठक शुरू गरेका छौं । त्यो गर्दा स्टार्टअपहरूमा के कस्ता समस्या छन्, कस्ता स्टार्टअप आइरहेका छन् भन्ने थाहा हुन्छ । उहाँहरूको चासो बुझेर अझ ठूलो प्लेटफर्ममा लैजान सकिन्छ । अर्को, हामीले ‘मेड इन नेपाल’ अभियान शुरू गरेका छौं । महिला युवा उद्यमीलाई प्रवर्द्धन गर्ने, संस्थालाई समावेशी बनाउने काम भइरहेको छ । अर्को, नलेज हब प्लेटफर्म शुरू गरेका छौं । यो एउटा पोर्टल हो, जहाँ हामी खोज/अनुसन्धानको सुविधा उपलब्ध गराउँछौं । गतवर्ष आईएलओसँग मिलेर स्टार्टअप पोलिसीको मस्यौदा बनाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएका छौं ।

के छ त्यसमा ?
धेरै त याद छैन । मुख्यत: स्टार्टअपलाई परिभाषित गर्ने कुरा नै हो । नेपालमा स्टार्टअप भनेको स्पष्ट भएन । कति वर्षसम्म स्टार्टअपलाई मान्ने, स्टार्टअपलाई करमा कति छूट कसरी दिने भन्ने जस्ता विषय छन् ।

युवा उद्यमशीलताको बारेमा नीतिगत समस्या के देख्नुहुन्छ ? के भयो भने युवा उद्यमशीलता बढ्छ ?
उद्यमशीलता बढाउन हाम्रो शिक्षाक्षेत्रदेखि नै सुधारका काम गर्नुपर्छ । उद्यमशीलता भनेको उद्यमशील मानसिकता हो, करीअर पाथभन्दा पनि माइण्ड सेट नै हो । जागीर गर्दा पनि मेरो उद्यमशील मानसिकता हुन सक्छ । उद्यमशील मानसिकता भएको मान्छेले त्यही कामलाई अर्कै तरिकाले, थप सृजनशील तरीकाले गर्न सक्छ । त्यो मानसिकता बसाउन हामीले विद्यालय तहदेखि नै सिकाउनुपर्छ जस्तो लाग्छ । उद्यममा आइसकेपछि पनि कम्पनी खोल्दादेखि नै सरकारी प्रशासनका झन्झट बेहोर्नुपर्ने समस्या छ । अहिले त झन् वडा/पालिका, वाणिज्यमा दर्ता गर्नुपर्ने, करमा दर्ता गर्नुपर्ने भएको छ । कम्पनी मात्र दर्ता गरेर हुँदैन । त्यसलाई डिजिटल बनाउन सक्नुपर्छ । त्यसो भयो भने धेरै युवा उद्यमशीलतामा आउनुहुन्छ । अहिले त दर्तै नगरी काम शुरू गरिदिनुहुन्छ । शुरू गरेर मात्र हुँदैन । काम भएन भनेर बन्द गर्न सकिँदैन । किनकि बन्द गर्न एकदमै लामो प्रक्रिया हुन्छ । अहिलेका युवालाई धैर्य गर्न पनि अलि गाह्रो लाग्छ । कम्पनी खोल्यो, चलेन भने त्यतिकै छाडेर विदेश गइदिनुहुन्छ । फर्केर आएर कम्पनी चलाउन मन लाग्यो भने त्यहाँ त्यसको जरीवाना यति धेरै हुन्छ कि उहाँहरू त्यो कम्पनी त्यत्तिकै छाडेर फेरि अर्को कम्पनी खोल्नतिर लाग्नुहुन्छ । यो अवस्थामा सुधार आवश्यक छ ।

तपाईं उद्यमशीलताको यात्रामा केही वर्षदेखि दौडिरहनु भएको छ । तपाईंजस्तै व्यवसाय गर्न चाहने युवालाई के सुझाव दिनुहुन्छ ?
मेरो विचारमा जहाँ संकट हुन्छ, त्यहाँ अवसर पनि हुन्छ । विदेशतिर त सबै कुरा व्यवस्थित हुन्छ । सबै कुरा सिस्टममा हुनाले त्यहाँ काम गर्न एकदमै सहज छ । तर यहाँको अवस्था फरक छ । चुनौती र समस्या धेरै छन् । उद्यमशील मानसिकता भएको मानिसले अवसर देख्छ । ऊ त्यो समात्नतिर लागिहाल्छ । तर, नेपालमा काम गर्न, स्वरोजगार उद्यमी बन्न आफ्नै बलबुताले संघर्ष गर्नुपर्छ । अथक रूपमा काम गर्न सक्ने हो भने नेपालमा पनि राम्रो अवसर चाहिँ छन् ।

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement