माइक्रोसफ्टले सफ्टवेयर निर्माता कम्पनीहरूलाई आफ्ना उत्पादनहरू नि:शुल्क दिने भएको छ । बिज स्पार्क कार्यक्रम अन्तर्गत कम्पनीले झन्डै २ सय कम्पनीहरूलाई यसरी नि:शुल्क सफ्टवेयर प्रदान गर्नेछ । सक्कली सफ्टवेयर प्रयोग गर्न पे्ररित गर्ने उद्देश्यले यस्तो गर्न लागिएको नेपालका लागि माइक्रोसफ्टको बजार विकास साझेदार अनलिमिटेड टेक्नोलजिज प्रालिका महाप्रबन्धक दीपेन्द्रराज बज्राचार्यले बताए । तीन वर्षभन्दा पुरानो र १५ जनाभन्दा बढी कर्मचारी भएको सफ्टवेयर कम्पनीहरूले भने यो सुविधा पाउने छैनन् । साना र नयाँ कम्पनीहरूले सक्कली सफ्टवेयर किन्न नसक्ने हुँदा यो सुविधा दिन लागिएको उनले जानकारी दिए । यस्ता कम्पनीहरूले सफ्टवेयर तीन वर्षसम्म नि:शुल्क पाउनेछन् । माइक्रोसफ्टले अफिस प्याकेज, विन्डोजलगायतका सबै सफ्टवेयर नि:शुल्क वितरण गर्नेछ । हरेक कम्पनीलाई कर्मचारीबराबरको संख्यामा सफ्टवेयर दिइनेछ । यस्तो सुविधा पाउने कम्पनीले १५ हजार डलरभन्दा बढी मूल्यका सफ्टवेयर पाउनेछन् । व्यवसायमा सफल हुने कम्पनीहरूले तीन वर्षपछि भने १ सय डलर माइक्रोसफ्टलाई तिर्नुपर्नेछ । विश्व व्यापार संगठनको एन्टी डम्पिङ कानुनबाट जोेगिन यस्तो गर्नुपरेको बज्राचार्यले बताए ।
‘वर्षेनि लगभग ३ हजार सूचना प्रविधिका विद्यार्थी थपिन्छन्,’ उनले भने ‘तर यसको तुलनामा सक्कली सफ्टवेयर प्रयोग गर्ने निकै कम छन् ।’ यसैबीच, माइक्रोसफ्टले नेपाललगायतका गरिब मुलुकका विद्यार्थीहरूलाई अफिस २०१० सफ्टवेयरमा ८० प्रतिशत छुट दिने भएको छ ।
वर्ष ५, अंक ४२, २०६७, जेठ असार ७–१३