ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बेमौसमी वर्षाले दैनिक आधा करोड युनिट विद्युत् उत्पादन बढ्यो, यो वर्षलाई ऊर्जा संकट टर्‍यो ! 

२०७९ बैशाख, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । ऊर्जा संकटको मुखैमा पुगिसकेको नेपाललाई बेमौसमी वर्षाले संकटबाट बाहिर ल्याएको छ ।

आन्तरिक उत्पादन घटेर २ करोड युनिटभन्दा तल आइसकेको अवस्थामा भारतबाट पनि पर्याप्त बिजुली किन्न नपाएपछि औद्योगिक क्षेत्रमा त लोडसेडिङ नै शुरु भइसकेको थियो ।

उद्योगीहरूले विद्युत् आपूर्ति नियमित नभए चरणबद्ध आन्दोलन गर्ने घोषणा समेत गरिसकेको अवस्थामा नेपालमा अकस्मात शुरु भएको वर्षाले विद्युतको माग घटाउनुका साथै उत्पादन ‍पनि बढाएपछि तत्काललाई संकट टरेको हो ।

सुख्खा याममा नेपालको विद्युत् उत्पादन घट्दा भारतबाट आयातित विद्युतले नेपालको माग धान्दै आएकोमा यो वर्ष भने भारतमै ठूलो ऊर्जा संकट देखिएपछि नेपालले चाहिएजति विद्युत् किन्न सकेको थिएन ।

भारतबाट विद्युत् नआउँदा औद्योगिक क्षेत्रको आपूर्ति कटौति गर्न शुरु गरिसकेको अवस्थामा नेपालमा एकाएक वर्षा शुरु भएको हो ।

वर्षा हुनु अघिसम्म नेपालको आन्तरिक उत्पादन १ करोड ९८ लाख २ हजार युनिट मात्रै रहेको थियो । जबकी विद्युत माग भने ३ करोड ३२ लाख २० हजार युनिट रहेको थियो । अपुग १ करोड ३४ लाख १८ हजार युनिट विद्युत् मध्ये भारतबाट ८८ लाख ६९ हजार युनिट विद्युत् आयात भइरहेको थियो । बाँकी ४५ लाख ५० हजार युनिट विद्युत् अपुग भएपछि औद्योगिक क्षेत्रमा आपूर्ति रोकिएको थियो ।

तर गत हप्ता शनिवारदेखि यो हप्ता आइतवारसम्म नियमित जसो वर्षा भइरहेपछि यो बीचमा आन्तरिक उत्पादन नै झन्डै आधा करोड युनिट बढेको छ । यसले गर्दा औद्योगिक क्षेत्रमा पनि नियमित विद्युत् आपूर्ति सम्भव भएको हो ।

आइतवार ३ करोड २० लाख ७६ हजार युनिट विद्युत् माग रहेकोमा भारतबाट ७३ लाख ९३ हजार युनिट आयात गरिएको छ । बाँकी आन्तरिक उत्पादनबाटै आपूर्ति गरिएको विद्युत् प्राधिकरणको तथ्याङ्क छ ।

अहिले विद्युत् प्राधिकरणका आयोजनाबाट करीब ६ लाख युनिट विद्युत उत्पादन बढ्दा प्राधिकरणकै सहायक कम्पनीका आयोजनाबाट १३ लाख युनिट र निजी क्षेत्रका आयोजनाबाट सर्वाधिक २५ लाख युनिट विद्युत उत्पादन बढेको प्राधिकरणको तथ्याङ्क छ ।

आइतवारको तथ्याङकमा विद्युत् प्राधिकरणका आयोजनाबाट ८९ लाख ८ हजार युनिट, सहायक कम्पनीबाट ५२ लाख २४ हजार युनिट र निजी क्षेत्रका आयोजनाबाट १ करोड ५१ लाख युनिट विद्युत उत्पादन भएको छ ।

जबकी यस अघिको शुक्रवारको तथ्याङ्कमा प्राधिकरणका आयोजनाबाट ८३ लाख १८ हजार युनिट, सहायक कम्पनीबाट ३९ लाख १९ हजार युनिट र निजी क्षेत्रका आयोजनाबाट ७५ लाख ६५ हजार युनिट मात्रै विद्युत् उत्पादन भइरहेको थियो ।

मौसम विज्ञान विभागले आगामी शुक्रवारसम्म देशका विभिन्न ठाउँमा वर्षा हुने पूर्वानुमान गरेको छ । शुक्रवार सम्मै पानी परेको खण्डमा त्यसले त्यसपछिको २/३ दिनसम्म नै विद्युत् उत्पादन बढ्न सक्ने  अनुमान छ । त्यसपछि भने हिउँ पग्लिएका कारण नै विद्युत् उत्पादन स्वतह बढ्ने प्राधिकरणको भनाइ छ ।

जेठ दोस्रो सातादेखि वर्षे सिजन नै शुरु हुने हुँदा यो वर्षको ऊर्जा संकट लगभग समाधान भएको निस्कर्षमा प्राधिकरणका अधिकारीहरू पुगेका छन् ।

वर्षा याममा भने नेपालको आन्तरिक विद्युत् उत्पादन सबै खपत नभएर खेर जाने अवस्था आउने गरेको छ । प्राधिकरणले वर्षामा खेर जाने विद्युत् भारतमा बेच्नको लागि टेन्डर आह्वान गरिसकेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement