ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जन्मदिनमा मल उपहार दिने प्रोफेसर डाक्टरको कथा : टीयूमा प्राध्यापन गर्दा गर्दै गड्यौलामा दिल बस्यो

२०७९ बैशाख, २७  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । करीब ३ दशक त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागमा प्राध्यापन गरेकी डा. आनन्दशोभा ताम्राकार त्यो प्राज्ञिक कर्मबाट भन्दा भर्मी कम्पोस्ट मल (गँड्यौलाले बनाउने मल) बाट बढी चिनिन्छन् ।

२६ वर्षअघि भारतको बैंगलोरबाट ५ सयओटा गँड्यौला ल्याएर नेपालमा भर्मी कम्पोस्ट मलको व्यावसायिक उत्पादन थालेकी आनन्दशोभाले हालसम्म देश–विदेशका हजारौं मानिसलाई प्रशिक्षण दिइसकेकी छन् । उनकै कारण नेपालमा भर्मी कम्पोस्ट मलको प्रयोग बढिरहेको छ ।

गँड्यौलाले कुहिने वस्तु खाएर निकाल्ने गोबर नै भर्मी कम्पोस्ट मल हो । यसका लागि रातो गँड्यौला आवश्यक हुन्छ । यो गँड्यौला ४ इन्च जति लामो हुने ताम्राकार बताउँछिन् ।

तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

सबैखाले हावापानीमा यसलाई हुर्काउन सकिने भएकाले नेपालमा यसको ठूलो सम्भावना देख्छिन् उनी । ‘गँड्यौलालाई जति बढी खानेकुरा दियो त्यत्ति नै धेरै सन्तान उत्पादन गर्न सक्ने सामथ्र्य राख्छ र मल उत्पादन बढ्छ,’ आर्थिक अभियानसँगको कुराकानीमा उनले भनिन् । 

कसरी आयो त आनन्दशोभाको मनमा गँड्यौला मलको सोच ?

विश्वविद्यालयमा पढाउँदाताका एकपटक उनी काम विशेषले अमेरिका पुगिन् । त्यहाँ गँड्यौलाबाट मल उत्पादन गरेको देखेपछि यस्तो काम आफ्नै देशमा गर्न सके माटोको प्राकृतिकपन जोगाउन सकिने उनलाई लाग्यो । ‘केही वर्षपछि भारत जाँदा त्यही प्रविधिबाट मल उत्पादन भइरहेको देखें,’ उनी भन्छिन्, ‘त्यहीँबाट उत्पादन विधि सिकेर फर्केपछि यो काम थालेकी हुँ ।’ शुरुताका विश्वविद्यालयमा पढाउने प्रोफेशरले पनि यस्तो गन्हाउने काम गर्छन् त भन्नेहरू पनि निस्किए । कतिपयले गिज्याए ।

श्रीमान्ले समेत ‘तिमी धेरै गन्हाउन थाल्यौ यो काम छाडिदेऊ’ भनेर सुझाए । तर, त्यस्ता प्रतिक्रियाले उनलाई विचलित बनाएन । उल्टै दृढता थप्यो ।

हामी हाम्रो घरमा दिनहुँ उत्पादन हुने फोहोर कि त जलाउँछौं कि नगरपालिकाको गाडीमा पठाउँछौं । उनको बुझाइमा फोहोर जलाउनु भनेको पैसा जलाउनुसरह हो । फोहोर जलाउँदा वातावरण प्रदूषित हुन्छ । गँड्यौला पालेर भर्मी कम्पोस्ट मल उत्पादन गरे वातावरणमा प्रदूषण पनि थपिँदैन, रासायनिक मल किन्न वर्षेनि विदेशिने पैसा पनि स्वदेशमै रोक्न सकिन्छ । 

नाइलन र पोलिस्टरबाहेक सबै खालका कपडा, तरकारीका बोक्रा, सडेगलेका फलफूल, गोबर, कागज, घाँसपातलगायत गल्ने र कुहिने सबै वस्तुको प्रयोग यसमा गर्न सकिन्छ ।

तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

भर्मी कम्पोस्ट मल तयार हुन कम्तीमा २ महीना लाग्ने उनले जानकारी दिइन् । उनका अनुसार भर्मी कम्पोस्ट बनाउने विधि यस्तो छ– एउटा भाँडोमा गँड्यौला र कुहिने वस्तु राखेर माथिबाट बोराले छोप्नुपर्छ । अनि हल्का पानी छ्यापेर राखिदिनुपर्छ । बेलाबेलामा बोरा हटाएर चलाइदिनुपर्छ । गँड्यौलाको शरीरमा सोझै सूर्यको प्रकाश पर्न दिनु हुँदैन । वर्षात्को पानीबाट पनि यसलाई जोगाउनुपर्छ । गँड्यौलालाई आहाराको रूपमा कुहिने खालका वस्तु दिइरहनुपर्छ । नत्र गँड्यौला मर्छ ।

उमेर ७० वर्ष कटिसक्यो । विश्वविद्यालयको सेवाबाट अवकाश लिएको पनि १० वर्ष बित्यो । तर, कामप्रतिको उनको जोश र जाँगर जस्ताको तस्तै छ । आनन्दशोभाका एक छोरा र एक छोरी अमेरिका बस्छन् । अर्की छोरी नेपालमै छिन् । श्रीमान् दिवंगत भएपछि काम नै उनको साथी भएको छ । भन्छिन्, ‘श्रीमान्को निधनपछि पनि कहिल्यै एक्लो महसूस गरेकी छैन ।’

घरको एउटा फ्ल्याटलाई उनले प्रयोगशाला बनाएकी छन् । त्यहीँ बसेर किताब पढ्छिन्, नयाँनयाँ अनुसन्धानका काम गर्छिन् । दिनभरि गँड्यौलाको रेखदेख र मल उत्पादनमा व्यस्त हुन्छिन् । किन्न आउनेलाई विक्री गर्छिन् । ‘मेरो जीवनको हिरो भनेको नै यही गँड्यौला हो । विश्वविद्यालयको जागिरले भन्दा यसले मलाई धेरै ठाउँमा चिनायो । यो मेरो शोख हो,’ कुराकानीका क्रममा उनको सन्तुष्टि छताछुल्ल भयो, ‘खान र बाँच्न त मेरो पेन्सनले नै पुग्छ ।

तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

 

बाँच्नुमात्रै जीवनको उपलब्धि होइन रहेछ । कुनै न कुनै काममा लागिरहनुपर्छ । यो मलले मलाईभन्दा पनि मपछिको पुस्तालाई लाभ होस् भन्ने मेरो चाहना छ ।’ त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्रमा र जर्मनीबाट वातावरणीय व्यवस्थापन विषयमा स्नातक अनि भारतको गोरखपुर विश्वविद्यालयबाट कीट विज्ञानमा पीएचडी गरेकी आनन्दशोभालाई त्यो ज्ञानबाट समाजलाई केही नयाँ योगदान गर्न सकौं जस्तो लागिरहन्छ रे ! अझ अर्को रोचक कुरा त बाँकी नै छ । कसैको जन्मदिन, विवाह वर्षगाँठ जस्ता शुभ कार्यमा जाँदा आफूले उत्पादन गरेको भर्मी कम्पोस्ट मल नै उपहार लैजाने गरेको उनले बताइन् । यसो गर्दा आफ्नो कामबारे अरूलाई जानकारी हुने र उपहार पाउनेले त्यो मल करेसाबारीमा प्रयोग गरे अर्ग्यानिक तरकारी खान पाउने उनको बुझाइ छ । 

१ किलो भर्मी कम्पोस्ट मल उत्पादन गर्न ७ रुपैयाँसम्म लागत पर्छ । बजारमा यसलाई किलोको २५ रुपैयाँसम्ममा बेच्न सकिन्छ । यसमा नाइट्रोजन, फोस्फोरस, पोटासियम, भिटामिन, क्याल्सियम, जिंक र आइरनको मात्रा राम्रो हुन्छ । यो गोठे मलभन्दा ५ गुणा लाभदायक रहेको अध्ययनहरूले देखाएको बताउँछिन् उनी । 

रासायनिक मलको तुलनामा यसको मूल्य एक चौथाइ मात्रै पर्छ । भर्मी कम्पोस्टमा पानी सोस्ने क्षमता धेरै हुने भएकाले बिरुवालाई घरीघरी पानी दिइरहनु पनि नपर्ने उनले बताइन् । 

एकपटकको सिँचाइबाटै लामो समय माटोमा पानीको मात्रा रहन्छ । गँड्यौलालाई कालो सुनको उपनाम दिने उनले पछिल्लो समय रातो गँड्यौला सेवनबाट मानव स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे पनि अनुसन्धान गर्दै छिन् । निकै थोरै लगानीमा काम शुरू गर्न सकिने भएकाले नेपालमा यो मल उत्पादन र प्रयोगको सम्भावना राम्रो देख्छिन् उनी ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Bir Chalaune

[May 10, 2022 01:28pm]

सबैका लागि यकदम उपयोगी र प्रेरणादायक



   

Riddhi Siddhi Cement