ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भर्मी कम्पोष्ट मलको उपयोगिता

२०७९ बैशाख, २८  
सम्पादकीय
Image Not Found

नेपालमा रासायनिक मलको आपूर्ति व्यवस्था राम्रो नहुँदा किसानहरूले खेतीको समयमा मल पाउन नसक्नु सधैंको समस्या हो । एकातिर चाहिएको बेला मल पाउन सकिएको छैन भने अर्कोतर्फ सोही रासायनिक मल आयात गर्दा ठूलो रकम विदेशिने गरेको छ । सरकारले मलमा अनुदान दिए पनि त्यसबाट कृषिक्षेत्रले कति लाभ लिएको छ, स्पष्ट तथ्यांक पाइँदैन । रासायनिक मलको विकल्पमा प्रांगारिक वा जैविक मलको सम्भावना छ तर त्यसतर्फ ठोस र व्यापक कार्यक्रम लागू भएको छैन । जैविक मलमध्ये पनि भर्मी कम्पोष्ट (गँड्यौला मल) को नेपालमा निकै सम्भावना देखिन्छ । प्राध्यापन पेशाबाट निवृत्त डा. आनन्दशोभा ताम्राकारको काम हेर्दा नेपालमा रासायनिक मलको विकल्पमा यसलाई ल्याउन सकिने देखिन्छ ।

सीमित व्यक्तिले उपयोगमा ल्याएको भर्मी कम्पोष्ट मलको प्रयोगले आयातित वस्तु मात्र राम्रा हुन्छन् भन्ने सोचलाई चुनौती दिएको छ तर अहिलेको आवश्यकता यही सोच र कार्यलाई व्यापक बनाउनु हो ।

नेपालमा यस्तो मल बनाउन विभिन्न गैरसरकारी संस्थाहरूले तालीम दिएको पाइन्छ । त्यस्तै सरकारले अनुदान दिएको पनि पाइन्छ । तर पनि यसको व्यापक प्रयोग बढ्न सकेको छैन । खासगरी तरकारी खेती र कौसी खेतीमा गँड्यौला मलको प्रयोग बढ्दो देखिन्छ । पछिल्लो समय स्वास्थ्यप्रति सचेतना बढेसँगै अर्ग्यानिक तरकारीको माग बढ्दो छ भने अर्ग्यानिक खेती पनि बढ्दो छ । अर्थात् बिस्तारै किसानहरू पुर्खाले गरेको खेतीपातीको प्रविधिलाई केही सुधार गरी पछ्याउनेतर्फ लागेका छन् । गँड्यौला मल अर्ग्यानिक खेतीका लागि निकै सहयोगी देखिन्छ । अर्ग्यानिक उत्पादनको माग संसारभरि नै भएकाले यसरी कृषि उत्पादन गर्ने किसानको भविष्य पनि राम्रो देखिन्छ ।

गँड्यौला मल विश्वभरि नै प्रचलनमा रहेको पाइन्छ । भारतमा यसको मल बनाउन सरकारले ५० प्रतिशत अनुदान दिने गरेको छ । त्यसैले नेपालमा पनि यस्तो मल बनाउन किसानहरूलाई प्रशिक्षण दिनुपर्ने देखिन्छ । यो मल बनाउने तरीका सिकाउने मात्र होइन, यसको प्रयोगले हुने फाइदाका बारेमा व्यापक सचेतना छर्ने हो भने सर्वसाधारणले प्रयोगमा ल्याउने सम्भावना देखिएको छ ।

भर्मी कम्पोष्टमा बढी अनुदान दिने र यस्तो अनुदान सबैका लागि सहज बनाउने हो भने मलको समस्या समाधान गर्न सहयोग हुने देखिन्छ । यसले आयातित रासायनिक मललाई पूरै विस्थापित गर्न नसके पनि विकल्प भने बन्न सक्नेमा कुनै द्विविधा छैन । गँड्यौला मलमा बिरूवाका लागि चाहिने नाइट्रोजन, पोटासियम, भिटामिन, क्याल्सियम, जिन्क र आइरन राम्रो परिमाणमा पाइन्छन् । गोठको मलभन्दा यो ५ गुणा बढी लाभदायी रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

भर्मी कम्पोष्ट भनेको गँड्यौलाले कुहिने खालका पदार्थहरूलाई खाएर बनाएको मल हो । यसो गर्दा फोहोर व्यवस्थापनमा पनि ठूलो सहयोग मिल्छ किनभने कुहिने खालका फोहोरबाट मल बनाउन सकिन्छ । गँड्यौला बढी भए माछा, हाँस, कुखुरा आदिलाई दाना बनाउन पनि सकिन्छ । यसरी गँड्यौला मल बढी प्रयोग गर्न थालियो भने रासायनिक मलको माग घटाउँछ र नभई नहुने खेतीमा रासायनिक मल सहज उपलब्ध हुन सक्छ । गँड्यौला मलले माटोको उर्वरा शक्ति र यसको प्राकृतिक गुण कायमै राख्न मद्दत गर्छ । त्यसैले यसको प्रचारका लागि काम गर्नुपर्छ भने बजारको व्यवस्था गरेर गँड्यौला मल बनाउन पनि प्रोत्साहन गर्न सकिन्छ ।

नेपालमा विगतमा अर्ग्यानिक मल मात्रै प्रयोग हुन्थ्यो । तर, उब्जाउ बढाउन रासायनिक मल र विषादीको प्रयोग बढेपछि वातावरणीय लगायतका थुप्रै समस्या सृजना भएको पाइन्छ । रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आइरहेको छ । यी विविध समस्या समाधानका लागि पनि भर्मी कम्पोष्ट मल निकै उपयोगी हुने देखिन्छ ।

आधुनिक खेतीका नाममा रासायनिक मलकै प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य गरी यसका सम्भावित विकल्प खोज्न ढिला गर्नु हुँदैन । यसो गर्दा रासायनिक मल खरीदमा विदेशिने ठूलो रकम स्वदेशमै रहन्छ भने अर्कोतर्फ स्वदेशी शीप र ज्ञानको पनि उपयोग हुन्छ । सीमित व्यक्तिले उपयोगमा ल्याएको भर्मी कम्पोष्ट मलको प्रयोगले आयातित वस्तु मात्र राम्रा हुन्छन् भन्ने सोचलाई चुनौती दिएको छ । अहिलेको आवश्यकता यही सोच र कार्यलाई व्यापक बनाउनु हो । रासायनिक मलको सम्भावित विकल्पमध्ये भर्मी कम्पोष्ट मल पनि एक हो भन्ने बुझाइ आमसर्वसाधारण समक्ष पुग्नु/पुर्‍याउनु अहिलेको आवश्यकता हो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement