वैशाख २८, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले जापानस्थित कारखानाका थप प्रडक्शन लाइनमा उत्पादन बन्द गर्ने भएको छ ।
चीनको शाङ्हाईमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लकडाउन कसिलो बनाएपछि कम्पनीले जापानमा आठ ओटा कारखानाका १४ ओटा प्रडक्शन लाइनको सञ्चालन बन्द गर्ने भएको छ ।
साङ्हाईमा बन्दाबन्दी कसिलो भएपछि कम्पनीलाई अटो पार्ट्स किन्न गाह्रो भएको भन्दै आगामी सोमवारदेखि लागू हुनेगरी टोयोटाले मंगलवार यो महीना ६ दिनसम्म कारखाना बन्द गर्ने निर्णय गरेको हो । चीनमा कोभिडका कारण प्रभावित हुन टोयोटा पछिल्लो ठूलो कम्पनी बनेको छ ।
कम्पनीले यसअघि यो महीना विश्वभर ७ लाख ५० हजार थान सवारी साधन उत्पादन गर्ने लक्ष्य लिएको भएपनि पछिल्लो निर्णय पछि उत्पादन घटेर ७ लाख थानमा आउने अनुमान गरिएको छ ।
योसँगै जापानमा कम्पनीका आंशिक रुपमा बन्द भएका कारखानाको संख्या १२ मा पुग्नेछ । जापानमा टोयोटाको कुल १४ ओटा कारखाना छ । कम्पनीले यसअघि नै चिपको अभावका कारण मेमा ९ कारखानाका १० ओटा लाइनमा केही सञ्चालन रोक्ने गत महीना बताएको थियो । एजेन्सी