वैशाख २९, कोलम्बो (श्रीलंका) । श्रीलंकाको एउटा अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष, उनका सांसद छोरा नमल राजापाक्ष र अन्य १६ जनालाई देश छाडेर जान रोक लगाएको छ ।
यसै हप्ता कोलम्बोमा सरकार विरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाथि भएको आक्रमणबारे छानबिन भइरहेको छ । सोही मामिलालाई दृष्टिगत गरेर अदालतले सो रोक लगाएको हो ।
न्यूज फष्र्टबाइटको समाचार अनुसार फोर्ट म्याजिस्ट्रेट अदालतले सोमवार गोटागोगामा र माइनागोगामा प्रदर्शन स्थलमा भएको हमलाबारे भइरहेको जाँचलाई हेरेर सो रोक लगाएको हो । उक्त हिंसामा ९ जनाको मृत्यु भएको थियो भने करीब ३०० जना घाइते भएका थिए ।
अदालतले सो अनुरोध अपराध जाँच शाखाको अनुरोधमा लगाएको हो । अदालतको पछिल्लो प्रतिबन्धमा सत्तारुढ श्रीलंका पोदुजना पेरामुना (एसएलपीपी) का १३ जना सांसद पनि परेका छन् । यसमा जनसन फर्नान्डो, पवित्रा वन्नीराचची आदि समाविष्ट छन् ।
महिन्दा राजपाक्षका समर्थकहरुले सरकार विरोधी प्रदर्शनकारीहरुमाथि हमला गरेपछि सोमबार र मंगलबार श्रीलंकामा हिंसा शुरु भएको थियो । सो हिंसामा प्रदर्शनकारीहरुले कयौं सांसदहरुका घर र कार्यालयमा आगजनी गरेका थिए । सोको केही घन्टा पनि महिन्दा राजापाक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए भने श्रीलंकामा निषेधाज्ञापनि लगाइएको थियो ।
यसैबीच श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रनिल विक्रामसिंघे नियुक्त भएका छन् । उनलाई बिहीवार साँझ राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उनलाई श्रीलंकाका निवर्तमान प्रधानमन्त्री राजापाक्षले ट्विटरमार्फत बधाईसमेत दिएका छन् । एजेन्सी