वैशाख ३०, काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन अवधिमा आचारसंहिता उल्लघन गर्ने १८ ओटा अनलाइनलाई नेपालमा नखुल्ने गरी कारबाही गरेको छ ।
सूचना विभागमा दर्ता समेत नभएका त्यस्ता अनलाईन नेपालमा खोल्न नमिल्ने बनाएको काउन्सिलले ४ ओटा युट्युब च्यानललाई कारबाही गर्न भने प्रहरीलाई पत्राचार गरेको छ ।
त्यस्तै काउन्सिलले मतदानको दिन निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने १८ सञ्चारमाध्यमलाई पनि कारबाही गरेको छ ।
शुक्रवार निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई ती सामग्री तत्काल हटाई क्षमाचायना गर्न निर्देशन दिएको छ ।
तीमध्ये आठवटा सञ्चारमाध्यमले तत्काल सामग्री हटाएको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।
सञ्चारमाध्यमले भूलसुधार गरी क्षमायाचनासहित सम्प्रेषित सामग्री हटाउनु र गल्ती स्वीकार्ने तत्परता देखाउनु सकारात्मक भएको बोहराले बताए ।
ती सञ्चारमाध्यमले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता पालनामा सजग रहने प्रतिबद्धतासमेत जनाएका छन् ।
तर केही सञ्चारमाध्यमले मौखिकरूपमा भूलसुधारको प्रतिबद्धता जनाए पनि भूलसुधार गरेको भने पाइएन । त्यस्ता सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीमा काउन्सिलले विशेष अनुगमन जारी राखेको छ ।
काउन्सिलले आज अनुगमन गरेका विभिन्न सञ्चारमाध्यममध्ये आचारसंहिता विपरीतका सामग्री सम्प्रेषित गरेका सञ्चारमाध्यमलाई तत्काल हटाउन पत्र र फोनमार्फत निर्देशन दिएको थियो ।
काउन्सिलले निर्वाचनको मौन अवधिभर ६५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । यस्तै यो अवधिमा दर्ता/सूचीकरण नभएका १८ वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही भएको छ ।
अनुगमनका क्रममा सञ्चारमाध्यमसँग आबद्धता रहेको नदेखिएका चारओटा युट्युब च्यानललाई निर्वाचन आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गरेका कारण अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्यूरोमा पत्राचार गरिएको बोहराले जानकारी दिए । रासस