ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्वरोजगारको नमूना उदाहरण : दुनाटपरी व्यवसाय

२०७९ बैशाख, ३१  
सुदूरपश्चिम प्रदेश
Image Not Found

कञ्चनपुर । दुनाटपरी बेचेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बन्जरियाका श्यानीदेवी चौधरीले घरखर्च चलाउँदै आएकी छिन् । घरको कामबाट फुर्सद पाएका बेला उनी दुनाटपरी बनाउँछिन् । उनका अनुसार बनाइएका ती दुनाटपरी नजिकैको गुलरी बजार र कैलालीको धनगढी बजारमा विक्री हुने गर्दछ ।

‘बाँसको सिन्काले सालको पात गाँसेर दुनाटपरी बनाउँदै आएकोे छु । यसबाट महीनामा १० हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भनिन् ।

महाकाली सामुदायिक वनले दुनाटपरी बनाउने पात ल्याउन सहज गरिदिएको उनले बताइन् । विद्यालयमा पढ्ने बालबालिकाको खर्चसमेत दुनाटपरी विक्री गरी आएको पैसाले धान्ने गरेको उनको भनाइ छ ।

घरको अत्यावश्यक कार्यका लागि समेत दुनाटपरी बेचेर आएको पैसा खर्च हुने गरेको उनले बताइन् । धेरैजसो धार्मिक कार्यका लागि दुनाटपरीको प्रयोग हुन्छ । मन्दिर, बौद्ध गुम्बालगायतमा दुनाटपरीको बढी माग आउने गर्दछ । उनका अनुसार पहिला एक दुनाटपरी तीन रुपैयाँमा विक्री हुन्थ्यो । हाल मूल्य बढेर पाँच रुपैयाँमा विक्री हुन्छ । जति बनाउन सक्यो, त्यति नै फाइदा रहेको पनि उनले बताइन् ।

दुनाटपरी विशेषगरी साल र मालुको पातको बन्ने गरेको छ । सालको पातको दुनाटपरी धेरै दिनसम्म टिक्ने भएकाले त्यसको माग बजारमा बढी हुने गरेको छ । दुनाटपरी समेत विभिन्न प्रकारको हुने गरेको छ, जसमा बमुन्या पत्री, बोसो डोन्या, चिरी डोन्या, डोस्टी डोन्या बढी प्रचलित छन् । देख्नमा आकर्षक र ठूला आकारका दुनाटपरी ग्राहकले बढी रुचाउने गरेका छन् ।

उनका अनुसार बजार दुनाटपरीको माग धेरै छ, पुर्‍याउन सकिँदैन । जति बनाए पनि बजारमा विक्री हुन्छ । यससँगै सामुदायिक वनले उपभोक्ताको आय–आर्जनमा टेवा पुर्‍याउन सञ्चालन गरेको दुनाटपरी बनाउने तालीममा प्रशिक्षक भएर उनले २० जना महिलालाई शीप सिकाउने कार्यलाई निरन्तरता दिँदै आएकी छिन् । श्यानी जस्तै बिर्सना चौधरीसमेत दुनाटपरी बनाई बजारमा विक्री गर्ने कार्यमा संलग्न छिन् ।

धार्मिक कार्यसँगै थारू समुदायले दुनाटपरीमा खानाका परिकार पस्केर खाने कार्यसमेत हुँदै आएको छ । पहाडी समुदायले समेत धार्मिक कार्यमा दुनाटपरीको प्रयोग गर्दै आएका छन् । महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी दुनाटपरीको माग बजारमा बढ्दै गएकाले मेशिनको व्यवस्था गरी व्यावसायिक रूपमा दुनाटपरी उत्पादन गरी बजारमा विक्री गर्ने योजना रहेको बताउँछन् ।

यस व्यवसायमा आर्थिक रूपमा विपन्न रहेका उपभोक्ताको सहभागिता गराई आर्थिक रूपमा सबल पार्ने योजना रहेको उनको भनाइ छ । हिन्दू धर्ममा दुनाटपरीको प्रयोग व्यक्तिको जन्मदेखि मृत्यु संस्कारसम्ममा प्रयोग हुने गरेको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement