वैशाख ३१, मनाङ । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का कान्छा घले निर्वाचित भएका छन् ।
उनी ८६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१९ मत प्राप्त गरेका छन् । यस्तै गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ धावा गुरुङ निर्वाचित भएका छन् ।
उनले ७४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रिन्जेन ध्वर्जे गुरुङले ७१९ मत प्राप्त गरेका छन् । मनाङ ङिस्याङ गाउँपालिकामा कुल ३ हजार ५३५ मतदातामध्ये १ हजार ६५७ मत मात्रै खसेको थियो ।
नासों गाउँपालिकाको मतगणना जारी रहेकोले शनिवार साँझसम्ममा गणना सकिने अपेक्षा गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए । उक्त गाउँपालिकाको अध्यक्षमा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसको अग्रता कायम रहेको उनले बताए ।
मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको छ । कुल ६ हजार ४९६ मतदाता रहेकोमा ४ हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए । सबैभन्दा धेरै ३ हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा १ हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको हो । रासस