ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालमा करीब ४७ लाख उच्च रक्तचापका बिरामी, जोगिने उपाय के ?

२०७९ जेठ, ३  
स्वास्थ्य र जीवन शैली
Image Not Found

जेठ ३, काठमाडौं । नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । 

विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन् । 

उनका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र चार लाखले मात्र औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उनको भनाइ थियो । 

उच्चरक्तचाप तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मध्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निस्क्रिय जीवनशैलीले हुने गर्दछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले रक्तचापबाट बच्नका लागि सन्तुलित जीवनशैली अपनाउनु पर्ने बताए । 

उनले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारीसमेत गरेको जानकारी दिए ।

उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौलाको समस्याजस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नु पर्नेमा जोड दिए । उनले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढाई यस वर्ष नियमित औषधि सेवन गर्ने संख्या १० लाख पुर्‍याउने बताए । 

विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले रक्तचापको उपचारसँगै जनचेतनासमेत जगाउनुपर्ने बताए । उनले रक्तचापको रोकथामका लागि स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट नै विशेष सेवा प्रवाह गरिरहेको जानकारी दिए । महानिर्देशक सिंहले नियमित रक्तचाप परीक्षण र औषधि सेवनले रोगको रोकथाम गर्न सकिने बताए ।  

वरिष्ठ हृदयरोग विशेषज्ञ डा ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेरसमूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिए । उनले काठमाडौंमा पेसागतरुपमा काम गर्ने युवामा बढी उच्चरक्तचाप देखिएको छ भने । 

डा अनिलले नुनले मात्र उच्च रक्तचाप नभएर गुलियो र चिल्लो खानेकुरा खाँदा पनि रक्तचाप बढ्ने बताए । उनले ५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको थाहा नपाउने भएकाले यसको  रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।

‘दीर्घ जीवनको आधारः नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर नै यो दिवस मनाइदै छ । टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकाइ महसुस हुने, एक्कासि नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या उच्च रक्तचापका लक्षण हुन् । 

कसरी बच्ने ? 
उच्च रक्तचापबाट बच्नका लागि धु्रमपान तथा मदिरासेवन नगर्ने, हरियो सागसब्जी तथा फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित व्यायाम तथा योग गर्ने गर्नु पर्दछ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x