शुरूमा विभिन्न किसिमका उतारचढाव झेल्नुपरे पनि राष्ट्रिय सहकारी बैंक अहिले देशका सहकारी संस्थाहरूको अभिभावक बैंक बन्न पुगेको छ । यो सहकारी संघ संस्थाहरूले मात्रै सञ्चालन गरेको देशको एक मात्र बैंक हो ।
छरिएर रहेका पूँजीलाई सहकारी संस्थामार्फत अर्थतन्त्रको मूलधारमा ल्याउने उद्देश्यले २०१९ सालमा सहकारी बैंक ऐन जारी भई २०२० सालमा सहकारी बैंक स्थापना भएको थियो । सो बैंकलाई सहकारीका अतिरिक्त कृषि विकास सम्बन्धी बैकिङ कार्यसमेत गर्नेगरी २०२४ सालमा कृषि विकास बैंकमा परिणत गरियो ।
वि.स. २०४६ सालको राजनीतिक परिवर्तनपछि सहकारी आन्दोलनलाई गति प्रदान गर्ने सरकारको उद्देश्यअनुरूप पुनः सहकारी ऐन २०४८ र नियमावली २०४९ लागू भयो । यसले पुराना सहकारी संघसंस्थाहरूलाई समेत कानुनको दायरामा ल्यायो । सहकारीको पक्षमा आन्दोलनरत पक्षको सक्रियता र सरकारको सहयोगमा सहकारी ऐन २०४८ लाई ०५७ मा पहिला पटक संशोधन गरी सहकारी बैंकको पुनःस्थापनाको प्रावधान राखियो । आर्थिक वर्ष २०५७/५८ मा सरकारले रू १ करोड रकम विनियोजन गरी बैंक स्थापनाको शुरुवात गर्यो । देशभरि छरिएर रहेका ३ सय सहकारी संघसंस्थाको सक्रियता र नेपाल राष्ट्र बैंकको सिफारिसमा २०६० असारमा राष्ट्रिय सहकारी बैंक स्थापना भयो ।
राष्ट्रिय सहकारी बैंक अहिले स्थापनाको आठौं वर्षमा छ । यस बैंकमा नेपालका १० ओटा विषयगत केन्द्रीय सहकारी संघको शेयर स्वामित्व रहेको छ ।
वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३