ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विद्युत् उत्पादनपछि ४७ गुणाले बढ्यो तामाकोशीको घाटा, ५ अर्बको विद्युत् बेच्दा पनि कसरी घाटामा ?

२०७९ जेठ, ४  
समाचार
Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको खुद नोक्सानी यस वर्ष १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत वर्षको तुलनामा ४७ गुणाभन्दा बढीले वृद्धि भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनी ३ करोड ५० लाख रुपैयाँभन्दा केही बढी मात्र खुद नोक्सानीमा रहेको थियो ।

४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यस आयोजनाबाट गत भदौ २५ गतेदेखि नै व्यवसायीक रुपमा विद्युत् उत्पादन शुरु भइसकेको छ ।

चैत मसान्तसम्म ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीको ब्याज खर्च ह्रास कट्टीका कारण यस वर्ष खुद नोक्सानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

गत वर्ष १० लाख ४७ हजार रुपैयाँ मात्र ह्रास कट्टी गरेको कम्पनीले यस वर्ष २ अर्ब ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी ह्रास कट्टी गरेको छ । गत वर्ष ब्याज खर्च गर्नु नपरेको कम्पनीले यो वर्ष ३ अर्ब ५५ करोड ५९ लाख रुपैयााभन्दा बढी रकम ब्याजमा खर्च गर्नु परेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले व्यापारिक उत्पादन शुरु भएकै वर्ष कम्पनीको खुद नोक्सानी बढ्नुको प्रमुख कारण ह्रास कट्टी रहेको बताए ।

तेस्रो त्रैमास व्यापारिक उत्पादन कम हुने अवधि भएकाले आगामी वर्षदेखि नोक्सानीमा सुधार हुने अपेक्षा रहेको श्रेष्ठले बताए ।

आगामी त्रैमासमा विद्युत् विक्री आम्दानी बढ्ने र कम्पनीले कर्जा रकम घटाउँदै जाने उदेश्य रहेकाले ब्याज खर्च कम हुने उनको विश्वास छ ।  हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष २ अर्ब ७१ करोड ४५ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।

गत वर्षसम्म कम्पनीको जगेडा कोष ८२ करोड ५६ लाख रुपैयाँभन्दा केही बढी मात्र ऋणात्मक रहेको थियो । कम्पनीको दिर्घकालिन कर्जा गत वर्ष ४० अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ४१ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै गत वर्ष २ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको अल्पकालिन कर्जा यस वर्ष ५ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो वर्ष गत वर्षको तुलनामा कम्पनीको कर्जा रकममा वृद्धि भएको छ । 

आर्थिक वर्ष ०७३/७४ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजना २०७२ सालको विनाशकारी भूकम्पले पुर्‍याएको क्षति, त्यसपछि मधेस आन्दोलनका कारण ढुवानी र इन्धन आपूर्तिमा आएको अवरोधका साथै कोभिडको महामारी लगायतका कारणले आयोजनाको निर्माण कार्यमा ढिलाई भएको थियो ।

२०७८ साल असार २१ गतेदेखि आयोजनाको विद्युत् उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । पछि भदौ २५ गतेदेखि आयोजनाको ६ ओटै युनिटबाट विद्युत् उत्पादन शुरु भएको थियो ।

अहिले आयोजनाको वित्तीय अवस्था खस्किनुमा विविध कारणले लम्बिएको निर्माण अवधि र लागत प्रमुख कारण हो ।  निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजना निर्माण सम्पन्न हुँदा भने ८४ अर्ब रुपैयाँ खर्च भएको थियो ।

त्यो समयमा निर्माण लागत बढेको भार भने यतिबेला आम शेयरधनीहरुमा परिरहेको छ । व्यापारिक उत्पादन शुरु भएकै वर्षदेखि कम्पनीले लाभांश वितरण गर्ने आशामा रहेका लगानीकर्ताहरु यतिबेला निराश बनेका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x