ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

खेतीयोग्य उर्वर फाँट घडेरीमा परिणत

खाद्यान्नमा बढ्दो परनिर्भरताको अर्थशास्त्र

२०७९ जेठ, ५  
लेख | दृष्टिकोण
Image Not Found

करिब पाँच दशक अगाडि म त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको विद्यार्थी थिएँ । त्यसताका स्नातकोत्तर (एमए) मा अध्ययन गर्ने विद्यार्थीहरूले एक वर्ष गाउँगाउँमा गएर सेवा गर्नु पर्दथ्यो जसलाई राष्ट्रिय विकास सेवा (राविसे) भनिन्थ्यो । हाल दुई वर्षको कोर्स त्यो समयमा तीन वर्ष लाग्दथ्यो । म मात्र होइन त्रिभुवन विश्वविद्यालयका सबै केन्द्रीय विभागहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले करीब एक वर्ष गाउँका विद्यालयहरूमा अध्यापन गराउनुका साथै सामाजिक कार्य पनि गर्नु पर्दथ्यो । यसै सिलसिलामा सिन्धुली जिल्लास्थित खुर्कोटको तत्कालीन निम्न माध्यमिक विद्यालयमा पठनपाठनका निमित्त म पनि  खटिएको थिएँ । विद्यालयका शिक्षक शिक्षिका मात्र होइन त्यस विद्यालयमा म पहिलो राविसे भएको हुनाले सबै गाउँवासीहरू हर्षित र उत्साहित थिए । पहिलो कार्य त जनसहभागिता जुटाई विद्यालयहरूमा चर्पीको निर्माण नै प्राथमिकतामा पर्दथ्यो । म गएको विद्यालयमा पनि चर्पी थिएन । चर्पी निर्माणको एजेन्डाले विद्यालय प्रमुख र विद्यालय सञ्चालक समितिमा प्रवेश गर्‍यो र यो कार्य गर्न सबैको सहमति रह्यो । गाउँका मानिसहरू सहयोगी थिए । चर्पी निर्माणको निमित्त आवश्यक पर्ने स्रोत र साधन जनसहभागिताबाट जुटेको थियो । उनीहरूको सहयोगका साथै विद्यालयको तदारुकतामा उक्त कार्य सम्पन्न भयो । करीब तीन महिनाको अवधिमा अन्तरविद्यालय हाजिरी जबाफ प्रतियोगिता सञ्चालन र खेलकुद आयोजनाका साथै स्काउटिङ तालिम आदि कार्यक्रम गरियो । सामाजिक कुरीतिको विरुद्धमा उभिई गाउँका मानिसहरूमा चेतना जगाउनुको साथै छात्राहरूलाई विद्यालय पठाउन गाउँलेहरूलाई प्रोत्साहित गर्नु आदि कार्य भए ।

मधेश, पहाड र उपत्यकाका उर्वर फाँटहरू घरघडेरीका निमित्त धमाधम प्लटिङ भैरहेका छन् । यसलाई रोकथाम नगर्ने हो भने नेपालले निकट भविष्यमा खाद्यान्न संकट ब्यहोर्नुपर्ने निश्चित छ ।

मधेश र पहाडको संगम स्थल छ खुर्कोट जहाँबाट ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा आदि जिल्लाका मानिसहरू मधेशका जिल्लाहरू उदाहरणस्वरूप सर्लाही, महोत्तरी, धनुषा आदिमा आवत जावतको केन्द्र खुर्कोट नै रहेको छ ।  त्यस समयका साथै आज पनि माथि उल्लिखित क्षेत्रका बासिन्दाहरूको बजारको केन्द्र नै रहेको छ । केही वर्ष यता धुलिखेल–बर्दिबास र खुर्कोट–मन्थली–चरिकोट–जिरी–कटारी–ओखलढुंगा–खोटाङ सडकलाई यसले चुम्बन गर्ने मौका पायो ।  पूर्व, पश्चिम, उत्तर र दक्षिण सबैतिरको सडकको जमघटले व्यापारिक केन्द्रको विकास हुनु आफैमा अनौठो होइन । यसैको परिणामले देवकोटा गाउँको नजिकै सानो बजारको विकास भएको छ जहाँ होटेल, लजका साथै विभिन्न प्रकारका खुद्रा पसलहरू खुलेको देख्न सकिन्छ । मानिसहरूको आवतजावतको थलो खुर्कोटले मुहार नै फेरेको रहेछ । तर स्थानीय बासिन्दाहरूको मुहार भने फेरिएको देख्न मुस्किल नै छ । साढे चार दशक अगाडि जुन अनुहारहरू थिए आज पनि तिनै अनुहारहरू देख्न सकिन्छ । आर्थात् बाटोघाटोको विकासले स्थानीयको जीवनस्तर र रहनसहनमा परिवर्तन आएको देख्न सकिंदैन । त्यसताकाका घरका छानाहरू खरका थिए भने आज जस्ताका । फरक यति नै देख्न सकिन्छ । ठूल्ठूला होटेल तथा लजहरूको विकास भएको छ । ती सबै स्थानीयवासीहरूको स्वामित्वमा होलाजस्तो लाग्दैन । अन्यत्रबाट आएका मानिसहरूको स्वामित्व रहेको छ । क्षेत्रीबाहुनको बस्ती । केवल खेतीपाती र जागिर बासिन्दाहरूको पेशा थियो । त्यसले आज पनि निरन्तरता पाइरहेको छ । यस बाहेक आजको वैदेशिक रोजगारको परिवेशमा गाउँका युवायुवतीहरू विदेशिएका छन् । विशेष गरेर देवकोटा र आचार्यहरूको बस्ती थियो । त्यसताका यी एक अर्काका विरोधीको रूपमा चिनिने गर्थे । सामाजिक काममा पनि राजनीतिक रङ दिनु उनीहरूको खेती थियो त्यसताका । मलाई पनि राजनीतिक रङ दिन गाउँलेहरू पछि पर्दैनथे । सामाजिक कार्य गर्न यसले केही छेकेबार लगाउँथ्यो । यति हुँदाहँुदै पनि सामाजिक कार्यमा सबैको साथ र सहयोगले भने निरन्तरता पाइरह्यो ।

सुनकोशीको तिर र महाभारत शृंखलाको फेदमा अवस्थित खुर्कोट व्यापारिक केन्द्रका साथै खेतीपातीको लागि अत्यन्त उर्वर जमिनको धनी छ । उर्वर जमिन भने सीमित रहेको छ । त्यसताका खेतीपातीको लागि उपयुक्त जमिनमा बस्ती थिएन । बस्ती सबै महाभारत शृंखलाको फेदको पाखामा अवस्थित थियो जहाँ कृषिजन्य विशेष गरेर खाद्यान्न वस्तुको उतपादकत्व कमी हुन्छ । । मकै, गहुँ र धान यहाँका मुख्य बाली हुन् । सिञ्चाइको सुविधा भएको जमिनमा कृषकहरू वर्षको तीन बाली लगाउने गर्दछन् । खेतीयोग्य जमिन सीमित भए पनि अत्यन्त उर्वर हुनाले करीब एकहजार घरपरिवारको जीविकोपार्जन यसैमा निर्भर रहेको छ । खुर्कोट र झागाझोलीको बीचमा मुलकोट पर्दछ । मुलकोटमा रहेको जमिन पनि अत्यन्त खेतीयोग्य र उर्वर छ । त्यस्तै अन्य फाँटहरू जस्तै खाल्टे, रातमाटा, झागाझोली, कुशेश्वर आदि हुन् । सबै करीब पाँच छ हजार घरपरिवारको जीविकोपार्जनको आधार हुन् ।

एक हजार परिवारको जीविकोपार्जनको आधार खुर्कोटको उर्बर भूमिले रूप बदल्न लागेको छ । स्थानीय बासिन्दालाई सुकुमबासी बनाउन अग्रसर भएको दृश्य जोकोहीले पनि देख्न सक्दछ । यो ठाउँको बासिन्दा म नभए पनि  यो ठाउँसँग धेरै पहिलेदेखि मेरो संलग्नता अत्यन्त नजिक रहेको हुनाले के भन्न सक्छु भने सीमित भए पनि यस ठाउँमा रहेको उर्वर भूमि खुर्कोटवासीको गहना हो जसले स्थानीय बासिन्दालाई रोजीरोटी प्रदान गरिरहेको छ । म खोटाङको भ्रमणमा केही दिन अगाडि गएको थिएँ । फर्कंदा घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आउने अवसर प्राप्त भयो । आउँदा आउँदै सीमित खेतीयोग्य जमिनमा घरघडेरीको लागि प्लटिङ भैरहेको ठाउँमा दृष्टि पुग्यो ।  हुन ता यो कुनै नौलो कुरा होइन चाहे उपत्यकाहरूका फाँटहरू हुन् या पहाड मधेशका  खेतीयोग्य फाँटहरू सबै मरुभूमिमा परिणत भइसकेका छन् र बाँकी फाँटहरू मरुभूमीकरणको प्रक्रियामा अग्रसर भइरहेका छन् । यो कुनै खास निश्चित ठाउँको विशेषता होइन । सबै ठाउँमा यसले जरो गाडिसकेको छ । खुर्कोटको यो उर्वर भूमिमा पनि घरघडेरीको लागि प्लटिङ भैरहेको छ । म सवार भएको बसको समय आधा घण्टा छिटो भएको कारणले चालकले खुर्कोटमा निर्मित सानो बजारमा रोकेर समय कटाइरहेको थियो । यसलाई मैले अवसरको रूपमा लिएँ । म सडकको बीचमा बनेको चौतारीमा मानिसहरूको जमघट देखेर त्यसतर्फ आकर्षित भएँ । शीतल तापेर चौतारीमा विराजमान मानिसहरू सबै खुर्कोटवासी । सबैलाई चिन्ने प्रयत्न गरे । यो क्रम दोहोरो नै रह्यो । चिनापर्ची गर्दै जाँदा एक अर्कालाई ठम्याउन सफल भइयो । यसै बीचमा अर्को एक भलाद्मीको आगमन भयो । मैले जिज्ञासा राखेँ –धान फल्ने खेत त घरघडेरीमा परिवर्तित हुन लागेछ ? के यो उचित कदम हो ? सबैको एक स्वर थियो –गल्ती भयो । यसो हुन दिनु हुँदैनथ्यो । हामी पनि जालमा पर्‍यौं । शहरीकरणको आशमा न उर्वर खेतीयोग्य जमिन रह्यो न शहरीकरण ।

मुलकोटको उर्वर भूमि सबै मासेर घरघडेरीमा परिवर्तित भएको छ । ठूल्ठूला घरहरू बनेका छन् । खेतीयोग्य उर्वर भूमिमा बस्ती बसालेपछिको परिणाम स्थानीयको उठिबास त स्वाभाविक नै भयो । यस्तोमा नेपालमा खाद्यान्न उत्पादनमा ह्रास आई खाद्यान्नको आपूर्तिमा परनिर्भर हुने तथ्यलाई नकार्न सकिंदैन ।

उपलब्ध तथ्यांक अनुसार सन् २००७ मा नेपालमा कुल भूभागको करीब १५ दशमलव ८ प्रतिशत खेतीयोग्य जमिन उपलब्ध थियो । सन् २०१८ मा १४ दशमलव ७ प्रतिशत मात्र खेतीयोग्य जमिन उपलब्ध छ । यसरी खेतीयोग्य जमिनमा ह्रास आउनुमा बाढीपहिरो जस्ता विभिन्न कारण हुन सक्छन् । तर माथि उल्लेख भएअनुसार मधेश, पहाड र उपत्यकाका उर्वर फाँटहरू घरघडेरीका निमित्त धमाधम प्लटिङ भैरहेका छन् । यसलाई रोकथाम नगर्ने हो भने नेपालले निकट भविष्यमा खाद्यान्न संकट ब्यहोर्नुपर्ने निश्चित छ । सरकारी उदासीनता नै यसो हुनुको प्रमुख कारण हो । समयमा नै यसलाई रोक्ने ठोस कदम नचाल्ने हो भने नेपाल खाद्यान्न आपूर्तिका निमित्त परनिर्भर हुनेछ । आजको विश्वयुद्धतिर आकर्षित भैरहेको छ । विश्वयुद्धको चपेटामा रहँदा अन्तरदेशीय खाद्यान्न आपूर्तिमा संकट आउँछ । यसले नेपालजस्तो खाद्यान्न आपूर्तिमा परनिर्भर देशमा भोकमरी हुनसक्ने तथ्यलाई नकार्न सकिंदैन ।

लेखक अर्थशास्त्री हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x