ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

फुडपार्क बनाउने सोचमा छौं

२०७९ जेठ, २४  
अन्तरवार्ता
Image Not Found

निम्बस ग्रूपले खानेतेल, आटा पीठो, पशुपन्छीको आहार लगायतको उत्पादन तथा विक्रीवितरण गर्छ । हालै यसले देशका विभन्न ठाउँमा कृषि उत्पादन भण्डारण गर्ने वेयरहाउस स्थापना गर्न अन्य लगानीकर्तासँग मिलेर काम शुरू गरेको छ । प्रस्तुत छ, इन्जिनीयरिङ पृष्ठभूमिबाट पारिवारिक व्यापारमा प्रवेश गरेका आनन्द बगारियासँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सम्पादित अंश :

आफ्नो बारेमा केही बताइदिनुहोस् न !
आफ्नो बारेमा भन्दा पनि म निम्बसको बारेमा केही बताउन चाहन्छु । हामी किसानको उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने काममा छौं । किसानको उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने क्रममा धेरै प्रशोधन गर्नुपर्छ र त्यो तेलको रूपमा, नग्गेटको रूपमा, आटाको रूपमा वा त्यस्तै अरू रूपमा बनाएर तयार गर्नुपर्छ । हामी त्यही गर्छौं । आउने दिनमा पनि यसैलाई अघि बढाउँछौं ।

हामीले कुनै क्षेत्रमा केही कुराको कमी देख्यौं भने त्यो नै अवसर हो, त्यसैलाई समातेर अघि बढ्ने हो । 

तपाईंको पिताजी आफै अनुभवी । तपाईंले के थप्नुभयो ?
उहाँको अनुभव खासगरी व्यवसाय सञ्चालनमा हो । उहाँमा कुनै पनि विषयमा गहन रूपमा हेर्न सक्ने खुवी छ । मैले त्यसमा मेरो जाँगर थपेँ । हामी एकअर्काका पूरक भयौं ।

व्यवसाय अहिले कोरोना महामारीको असरबाट मुक्त भइसकेको अवस्था हो ?
हो पनि र होइन पनि भन्छु । किनभने अहिले व्यवसाय त चलिरहेको छ । तर, महामारीपछिका असर अहिले बजारमा हामीले देखिरहका छौं । इन्धनको मूल्य र ढुवानी भाडा, तरलता अभाव यी सबै कुरा महामारीपछिका असर हुन् । यी असरले बजारको गतिलाई खस्काएको छ । त्यो असरबाट बाहिर आउन अझै केही समय लाग्छ ।

 

अहिले धेरै कुराको मूल्य बढेको छ, जसले गर्दा वस्तुुको उत्पादन लागत पनि बढेको छ । त्यस हिसाबमा तपाईंको नाफा पनि बढिरहेको छ त ?
नाफा दुई किसिमले जोडिन्छ । एउटा क्वान्टम बेसिसमा जोडिन्छ । एउटा प्रतिशतका आधारमा जोडिन्छ । प्रतिशतका आधारमा हेर्ने हो भने बढेको पनि हुन सक्छ । तर हाम्रो क्षमता बिस्तारै खस्किँदो छ र उत्पादनको लागत बढ्दो छ । त्यसैले मलाई के लाग्छ भने वर्षको अन्त्यमा नाफा घटेकै हुन सक्छ ।

औसत मार्जिन लेभलमा हेर्दा बढेको हुन सक्छ । तर सिपिङ लागत बढ्यो, इन्धनको लागत बढ्यो । नेपालकै कुरा गर्दा आजभन्दा एक वर्षअघिको तुलनामा अहिले कम्तीमा दोब्बर फरक छ । यिनै तीनओटा मुख्य कारक छन् । त्यसको असरले एउटा युनिटको नाफा औसतमा बढेको देखिए तापनि समग्रमा हाम्रो नाफा खस्केकै छ ।
    
कम्पनीको अबको योजना के छ ?
अहिले नै कुनै ठूलो लगानीको बारेमा त सोचिरहेका छैनौं । केही परियोजनामा लगानीको प्रतिबद्धता भइसकेको छ । नयाँ छैन । हामीले यो २०–२२ वर्षमा कृषिजन्य वस्तुको प्रशोधनमा मुख्य पूर्वाधार सृजना गरेका छौं । तर, अबको ५–७ वर्ष पछिसम्म यसैअनुसार केही थप्दै जानेछौं । एउटा फुडपार्कको बारेमा सोचिरहेका छौं, जसले तयारी खानाको उत्पादन गर्नेछ । हालसम्म हामी थोक खरीद तथा विक्री र ग्रोसरीतिर बढी केन्द्रित भयौं । अहिले नेपालको सन्दर्भमा कुरा गर्ने हो भने चाउचाउको बजार निकै राम्रो छ । यसो भन्दैमा चाउचाउ नै उत्पादन गर्ने भन्न खोजेको होइन । तर स्वास्थ्यवद्र्धक खानेकुरा उत्पादन गर्ने बाटोमा हामी जान खोजिरहेका छौं । अहिलेसम्म नेपालमा जति पनि स्न्याक्स उपलब्ध छन्, ती सबै कार्बोहाइड्रेट भएका मात्र छन् । तर हामी सस्तो मूल्यमा पौष्टिक प्रोटिन उपलब्ध हुने खालका स्न्याक्स उत्पादन गर्नेबारे सोच्दै छौं । त्यसका लागि हामी उत्पादनदेखि विरतणसम्मको तयारी बिस्तारै अघि बढाउँदै छौं ।

निम्बस चाहिँ शुरूमा ट्रेडिङमा थियो । त्यसपछि अचानक पोल्ट्री फिडमा आयो । त्यसपछि दाल, आटादेखि अन्यतिर पनि हात हाल्यो । यसरी विविधीकरण आउनुमा यसको पृष्ठभूमि के थियो ? यसबारे बताइदिनुहोस् ।
ट्रेडिङबाट म्यानुफ्याक्चरिङ त बुुवाको देन हो । ट्रेडिङ सप्लिमेन्टरी हुनुपर्छ, मुख्य व्यवसाय हुन हुँदैन भन्ने उहाँको धारणा थियो । त्यसैले म्यानुफ्याक्चरिङतिर गएका हौं । त्यसपछि अर्को पक्ष विविधीकरण भन्ने कि व्यवसायको विस्तार भन्ने ? मचाहिँ यसलाई विस्तार भन्न रुचाउँछु । हामी जब पशुपन्छीको दाना उत्पादनतिर लाग्यौं, त्यसपछि हामीले के महसूस गर्‍यौं भने पशुपन्छीको दानामा वार्षिक रूपमा जति पैसा खर्च हुन्छ, मानिसको खाद्यान्नमा त्यति पैसा खर्च हुँदैन रहेछ ।

फरक के छ भने मानिसले खानामा स्वाद खोज्छन् । पशुपन्छीको खानामा स्वादको जरुरी त्यति पर्दैन । हामीले पशुपन्छीको खाना बनाउँदा लागत र पौष्टिक तत्त्वको सन्तुलन गर्छौं । तर, मान्छेको खानामा पौष्टिक तत्त्वको भन्दा पनि बढी मसलाको मात्रा ब्यालेन्सिङ गर्नुपर्ने हुन्छ । त्यसैले हामीलाई के लाग्यो भने यदि यी दुवै कामहरू सँगसँगै अघि बढाउन सक्यौं भने त्यसपछि उत्पादन गर्दा कुनै पनि कुरा खेर जाँदैन । जिरो वेस्ट (केही पनि खेर नजाने) म्यानुफ्याक्चरिङमा हामीले ध्यान दियौं ।

कुनै खानेकुरा उत्पादन गर्दा फाइबर बचेको हुन्छ, कुनै कार्बोहाइड्रेट बचेको हुन्छ त कुनै प्रोटिन बचेको हुन्छ । त्यो पशुपन्छीकोमा प्रयोग गर्न सकिन्छ । हामीले पहिलेदेखि नै गर्दै आएको कुरालाई आकार मात्र दिएका हौं । भटमासबाट तेल निकालेपछि खेर जाने पिना त हामीले पहिलेदेखि नै जनावरलाई खुवाउँदै आएका थियौं । हामीले त्यसैलाई स्ट्रिमलाइन गर्ने प्रयास मात्र गरेका हौं ।

सस्तो मूल्यमा पौष्टिक प्रोटिन उपलब्ध हुने खालका स्न्याक्स उत्पादन गर्नेबारे सोच्दै छौं ।      

जब तपाईं आफ्नो परिवारको बिजनेशमा आउनुभयो । त्यसपछि त्यो बिजनेशमा के के परिवर्तन ल्याउनुभयो र त्यसका चुनौतीहरू के के थिए ?
चुनौती त जीवनको एउटा पाटो हो । देशमा हुने विभिन्न परिघटनाले बिजनेशमा कुनै न कुनै परिवर्तन त ल्याइनै हाल्छ । तर, हाम्रा लागि के थियो भने चुनौतीले नै धेरै कुरा सिकाइरहेको थियो । हामीले अरूसँग प्रतिस्पर्धा गर्नुभन्दा पनि हामी जुन अवस्थामा छौं, त्यसभन्दा अझ बढी आफैलाई राम्रो बनाउँदै लैजाने हाम्रो उद्देश्य रह्यो । त्यसका लागि पूर्वाधार राम्रो बनाउनुपर्‍यो, विभिन्न उत्पादनको गुणस्तर राम्रो बनाउनुपर्‍यो, व्यवस्थापन बलियो बनाउनुपर्‍यो । आफूसँग जे छ, त्यसलाई अझ राम्रो बनाउँदै जानु आज पनि छ र व्यवसाय बढ्दै गएपछि त्यो झन् झन् बढ्दै जान्छ । यसरी परिवर्तित भइरहने तत्त्वहरूलाई अर्केष्ट्रामा जस्तै समन्वयात्मक तरीकाले अघि बढाउनुपर्छ । व्यवस्थापन अर्केष्ट्रा सञ्चालन जस्तै हो ।

अरू व्यावसायिक घरानाहरूमा जस्तो धेरै ठूलो परिवार व्यवस्थापन गर्नुपर्ने नभएर पनि तपाईंलाई सजिलो भएको हो कि ?  
ठूलो परिवार आफैमा एउटा संस्था हो । त्यसका आफ्नै फाइदा छन् । मैले त्यो फाइदा पाइनँ ।

तपाईंले देशैभरि वेयरहाउस स्थापना पनि शुरू गर्नुभयो । यसको शुरुआत कसरी भयो र अहिले यसको अवस्था के छ ?
नेपाल वेयरहाउस कम्पनी पब्लिक कम्पनी हो । यसमा हामीबाहेक अरू कम्पनी, बैंक र संस्थाहरूको पनि संलग्नता छ । हाम्रै फुड र फिड बिजनेश वृद्धि हुँदै गएपछि हामीले के महसूस गर्‍यौं भने अन्नको भण्डारण आफैमा चुनौतीपूर्ण हो । पहिला पहिला गोदाममा माल राख्दा कुहिन्छ भनिन्थ्यो । कुनै पनि वस्तु गोदाममा राखेर त्यसमा भएका पौष्टिक तत्त्वलाई जोगाएर राख्न सक्नु आफैमा एउटा विज्ञान हो ।

हाम्रो आफ्नै फ्याक्ट्रीमा पनि के देखियो भने सामान त किन्यौं, धेरै समय स्टोर पनि गर्‍यौं, तर फिड फ्याक्ट्री भएको हुनाले हाम्रोे फिड उत्पादन गर्नु मूल उद्देश्य हुन पुग्यो । जहिले पनि अन्न भण्डारण चाहिँ त्योभन्दा कम महत्त्वको स्थानमा परिरह्यो । वार्षिक रूपमा हेर्दा हामीले स्टोरेज गरेका वस्तुको अधिकतम उपयोग ४० प्रतिशत मात्र हुँदो रहेछ । त्यसको उपयोग वृद्धि गरेर कसरी ८० प्रतिशतसम्म पुर्‍याउन सकिन्छ भनेर हामीले यो कामको शुरुआत गरेका हौं । यी वेयरहाउसमा जसले पनि निश्चित भाडा तिरेर सामान राख्न सक्छ र समयावधिभित्र झिकेर लैजान सक्छ । यो करीब १५० करोड रुपैयाँको परियोजना हो । हाम्रो अहिलेसम्म पहिलो युनिट चालू भइसक्यो । बाँकी दुईओटा युनिट चाहिँ तयारीका क्रममा छन् । यो भारत लगायत अन्य मुलुकमा पनि अभ्यासमा आइरहेको व्यवसाय हो । सुनसरी, जितपुर र कपिलवस्तुमध्ये सुनसरीको चालू नै भइसक्यो । जितपुरमा अबको केही महीनाभित्रै शुरू हुन्छ । कपिलवस्तुमा भने अझै एक वर्षजति लाग्ने देखिन्छ ।

निम्बस ग्रूप अमेरिकाको मोन्सान्टो कम्पनीसँग आबद्ध छ । यसले जीएमओ अर्थात् जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म उत्पादन गर्दछ । संसारभर यसको आलोचना पनि भइरहेको छ । यस्तो कम्पनीसँग निम्बस ग्र्रूप किन आबद्ध भयो ?
मोन्सान्टो अहिले कम्पनीको रूपमा छैन । यसको व्यवसाय र ब्रान्ड बेयर आदि विभिन्न अन्य कम्पनीले किनिसके । हामीकहाँ रैथाने बीउ, वर्णसंकर र जीएम बीउको पनि कुरा गर्छौं । तर, जीएम बीउलाई हाम्रो सरकारले मान्यता दिने गरेको छैन । यो एउटा देशको आफ्नो नीतिको कुरा हो । भारतमा पनि केही सीमित मात्रामा मात्र जीएमओलाई मान्यता दिएको छ । मोन्सान्टो होस् वा जुनसुकै कम्पनी होस्, वास्तविक कुरा जीएमओको हो ।

हामीकहाँ कम्पनीलाई हेरेर उसको उत्पादनलाई विश्लेषण गर्ने चलन छ । मोन्सान्टो अन्तर्गत जीएम मात्रै होइन, अन्य धेरै प्रकारका वर्णसंकर जातका बीउ उत्पादन भइरहेका छन् । हाम्रै देशको नेपाल इन्ट्रप्राइजेजले पनि वर्णसंकर बीउ उत्पादन गर्दछ । यद्यपि जीएमओ बीउ आयातका लागि नेपालको अनुमति पनि छैन । तर भारतले मान्यता दिएको छ ।

हामीले के कुरा बुझ्न जरुरी छ भने वर्णसंकर बीउलाई गलत तरीकाले बुझ्नु भएन । तर, जीएम बीउलाई हाम्रो सरकारले मान्यता दिएको छैन । त्यसलाई हामीले सम्मान गरेका छौं । नेपालमा पछिल्लो समय मकै, धानमा दाना नलाग्ने खबर सुनिन्छ । ती कुनै पनि बीउ जीएमसँग सम्बन्धित छैनन् । त्यसमा हावापानीकै समस्या हुन सक्छ । तर, मेरो बुझाइमा हामीकहाँ जबसम्म जीएम बीउलाई नीतिगत रूपमा मान्यता दिइँदैन, तबसम्म नयाँ उत्पादन देख्न पाइँदैन । जीएमओ र वर्णसंकर फरक हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ । हामी पनि मोन्सान्टोबाट नेपालमा वर्णसंकर बीउ भित्र्याउँछौं । तर त्यो कुनै नयाँ उत्पादन आएको होइन ।

महामारीको समयमा तपाईंहरूले ‘निम्बस बजार डटकम’ नामबाट एउटा ई–कमर्श प्लेटफर्म पनि सञ्चालनमा ल्याउनु भएको थियो । त्यसको अवस्था के छ ?
त्यसबेला सम्पूर्ण बजार बन्द भयो र हाम्रा कर्मचारी पनि खाली भए, जसले गर्दा उपभोक्ताको सहजताका लागि हामीले अनलाइन व्यापारको धारणा अघि ल्यायौं । एक वर्षजति राम्रै चल्यो त्यसपछि अनलाइन व्यापार बिस्तारै घट्दै गयो । कतिपय पूर्णरूपमा अनलाइन नै व्यापार गरिरहेका कम्पनीहरू चलेका छन् । निम्बसको हकमा हामी अनलाइन व्यापारमा प्रगति गरिरहेका छैनौं । यद्यपि हामीले यसबाट धेरै कुरा सिक्ने अवसर पायौं ।

अब हामी निम्बस बजार अनलाइन मात्र होइन, डाकस्टोर (धेरै ठाउँमा सानो सानो गोदाम राखेर गरिने व्यापार) र अनलाइन बजारको मिश्रणमा काम गर्न खोजिरहेका छौं । एउटा नयाँ तरीकाले अघि बढ्ने प्रयास गरिरहेका छौं ।

नेपालमा ई–कमर्श बिजनेशमा सबैभन्दा चुनौती मानिसको व्यवस्थापन हो भन्ने भनाइ पनि छ । त्यसैले यसमा तपाईंको बुझाइ के छ ?
हामी यति ठूलो म्यानुफ्याक्चरिङ उद्योग चलाउँछौं । मान्छेको व्यवस्थापन त बानी भइसक्यो । समाजमा मानिसको व्यवस्थापन नगरीकन बस्न पाइन्छ र ? त्यसैले अनलाइन व्यापार जति राम्रो सुनिए पनि यसको लागत निकै बढी छ । मानिसको व्यवस्थापनभन्दा पनि लजिस्टिक्सको व्यवस्थापन चुनौतीपूर्ण छ । कसैले कुनै सामान अर्डर गरेको छ र उसले अर्डर गरेको स्थान नजिकबाट अन्य अर्डर आएको छैन भने मैले डेलिभरी गर्ने लागत त बढ्यो नि । त्यहीँ नजिकैबाट अरू पनि अर्डर आए भने त प्रत्येक युनिटमा डेलिभरी लागत घट्छ । तर, मैले अर्डर बढी छ कि कम छ भन्ने कुरा हेर्नेभन्दा पनि आफ्नो ब्राण्डको प्रमिस पूरा गर्न पनि सामान त डेलिभरी गर्नैपर्‍यो । यो चाहिँ अनलाइन बिजनेशको चुनौती हो ।

महामारीले हाम्रा टोलटोलमा भएका साना किराना पसलको महत्त्व पनि सिकाएको छ । त्यसबेला घरबाट निस्केर बाहिर टाढा जाने सुविधा थिएन, टोलटोलमा भएका साना किराना पसलले जुटाइदिए । ई–कमर्शको कुरा गर्दा डेलिभरी प्रणालीमा यस्ता साना किराना पसलले दिन सक्ने सहयोग उपयोग गर्न सक्यो भने धेरै गर्न सकिन्छ भन्ने पनि देखाएको छ ।

ठूला स्टोरहरू आएपछि अब हाम्रो घर अगाडिका साना पसल चल्दैनन् भन्ने सोचाइ थियो । तपाईंका अनुसार त्यो होइन रहेछ, होइन त ?
ती पसल पनि चलिरहेका छन् । तपाईं हाम्रै टोलमा कुन पसल बन्द भयो ? हामीले मानौं नमानौं हामीलाई गाह्रो परेको बेला तिनै पसलले हाम्रो आवश्यकता पूरा गरेका छन् । महामारीमा सबै व्यक्तिले यो यथार्थ महसूस गरेका छन् । विश्वव्यापी रूपमा हेर्दा पनि स्थानीय उत्पादन महत्त्वपूर्ण हुन्छ भन्ने आइरहेको छ । महामारीअघि हामी ग्लोबलाइजेशनको कुरा बढी गर्दथ्यौं । तर अहिले प्रविधिमा ग्लोबलाइजेशन तर म्यानुफ्याक्चरिङमा लोकलाइजेशन भन्ने आउन थालिसक्यो । त्यसकारण हामी विद्यमान प्रणालीलाई खल्बल्याउन होइन, यो प्रणालीभित्रै आफूलाई कसरी अनुकूलन गर्ने भन्नेमा लागेका छौं ।

करीब १५० करोड रुपैयाँको वेयरहाउस परियोजना अन्तर्गत पहिलो युनिट चालू भइसक्यो ।

नेपालमा पहिलो पुस्ताले दोस्रो तेस्रो पुस्तालाई त्यति विश्वास गरेर जिम्मेवारी हस्तान्तरण गरेको पाइँदैन । तपाईंको पिताजीले चाहिँ तपाईंलाई पूरै स्वतन्त्रता दिएको देखिन्छ । यो कसरी भयो ?
यसबारे त मैले सोचेकै छैन । उहाँले ममाथि विश्वास गरेको मात्र होइन, विचारको पनि हामीबीच आदानप्रदान हुन्छ । त्यसले पनि आपसी विश्वास बढाउन सघाएको होला ।

नेपालमा व्यावसायिक वातावरण सजिलो वा अप्ठ्यारो कस्तो छ ? तपाईंलाई के लाग्छ ?
सजिलो पनि अप्ठ्यारो पनि छ । अप्ठ्यारा छन्, त्यसैले धेरै मानिस व्यवसायमा इच्छा राख्छन् र पनि सफल हुँदैनन् । हाम्रो आफ्नै भौगोलिक सीमितताका कारण पनि गाह्रो छ । अर्कातर्फ, राजनीति र कर्मचारीतन्त्रकै तालमेल अहिलेसम्म मिलेको छैन । सजिलो पनि छ, किनभने व्यावसायिक समुदाय सानो छ । यसले गर्दा प्रतिस्पर्धा गर्न पनि सजिलो छ । यी सबै अप्ठ्यारा र सजिला कुरा मिलाएर अघि बढ्नुपर्छ । बिजनेश मात्र गरेर पुग्दैन, अन्य धेरै कुरा अरू पनि मिलाउनु पर्दछ ।

मलाई के लाग्छ भने यसबाहेक व्यापारिक वातावरण राम्रो बनाउन राजनीतिज्ञ र कर्मचारीतन्त्रले पनि सहजीकरण गरिदिनु पर्दछ । यो गर्न आवश्यक छ भन्ने उहाँहरूले पहिले आत्मसात् गर्नुपर्‍यो । कहिलेकाहीँ यस्तो कुराहरू खड्किने गरेको छ । सरकारले सहजकर्ताको भूमिका निर्वाह गरिदिनु पर्दछ । मेरो भनाइ चाहिँ के हो भने अर्थतन्त्र महत्त्वपूर्ण कुरा हो । त्यसैले अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अघि बढाउन सरकार लाग्नुपर्दछ । तर, अहिले यहाँ त २ प्रतिशत मान्छेले बेइमानी गर्दा सरकारले त्यसैको आधारमा नीतिनियम बनाउँछ, जसले गर्दा ९८ प्रतिशतलाई असर गर्दछ । तर, अर्थतन्त्र बढाउने त त्यही ९८ प्रतिशतले नै हो नि ।

तपाईंको कम्पनीको कतिपय उत्पादन दैनिक उपभोग्य वस्तु छन् । नेपालमा यस्ता वस्तुमा गुणस्तर र प्याकेजिङका कारण थुप्रैखालका आलोचना भइरहेका हुन्छन् । तपाईंका विचारमा कस्तो खालको नीतिनियम बनायो भने यो व्यापार पनि राम्रो हुन्छ र सामाजिक न्यायका हिसाबले पनि राम्रो होला ?
तपाईंले न्यायको कुरा गर्नुभयो । फुड बिजनेशको कुरा गर्दा अन्याय पनि विभिन्न किसिमका हुन सक्छन् । एउटा चाहिँ सामान्य अन्याय र अर्को हानिकारक अन्याय हुन्छ । यो पाटोका लागि मेकानिज्म आवश्यक छ । हामीकहाँ त्यो कुरा वाणिज्य विभागको हातमा छ । यस्ता निकायहरूले हाम्रोमा प्राय: बजारको अनुगमन गर्ने चलन छ । बजारभन्दा पनि नियमित रूपमा उद्योगको चाहिँ अनुगमन गर्नुपर्ने हो कि जस्तो मलाई लाग्छ । महत्त्वपूर्ण कुरा के भने हानिकारक अन्यायलाई निकै कडा रूपमा लिइनु पर्दछ । अर्को कुरा, गुणस्तरीय वस्तु चिन्न त ब्राण्ड पनि हेर्नुपर्दछ । ब्राण्ड भनेको विश्वासको कुरा हो । आजको दिनको उपभोक्ता निकै स्मार्ट छन् । उनीहरूलाई थाहा छ कि कुन ब्राण्ड विश्वसनीय छ र कुन ब्राण्ड विश्वसनीय छैन । त्यसैले गुणस्तरको कुरा मूल्यमा पनि निर्भर भएको देखिन्छ । यिनै विषयमा ध्यान दिन सक्यौं भने सहजै काम गर्न सकिन्छ ।

नयाँ पुस्ताका युवा उद्यमी र नियम कानून निर्माताका लागि तपाईंको सन्देश के हुन सक्छ ?
कानून निर्माताहरूलाई त मैले भन्ने कुरा एउटै छ– व्यवसायलाई खुला छोड्दिनुस्, केही कुरामा पनि नरोक्नुस् । व्यवसायलाई रोकेर रोकिँदैन पनि । यो चलिरहन्छ । र, युवा पुस्ताका लागि मेरो सन्देश के छ भने आजभन्दा २५ वर्षअघि मैले नेपालमा निकै अवसर देखेकै कारण बिजनेशमा आएँ । तपाईंहरू कुनै पनि क्षेत्र समात्नुस्, त्यहाँ धेरै नै अवसर भेट्नुहुन्छ । हामीले कुनै क्षेत्रमा केही कुराको कमी देख्यौं भने त्यो नै अवसर हो, त्यसैलाई समातेर अघि बढ्ने हो । बाटो अलिकति असहज भए पनि त्यही असहज बाटो हिँड्न सक्ने मान्छे नै उद्यमी व्यवसायी बनेर सफल भएर निस्किने हो । तपाईंले पढ्नुभएको छ भने तपाईंको सर्टिफिकेट जागिर खानका लागि त पर्याप्त छ, तर व्यवसाय गर्न चाहनुहुन्छ भने पढेको सर्टिफिकेट मात्र पर्याप्त हुँदैन । त्यसका लागि तपाईंमा मेहनत र जुझारुपन हुनु निकै जरुरी छ । मैले शुरू गरेको दौड म अन्तिमसम्म दौडिन्छु भन्ने हिम्मत एक व्यवसायी बन्न चाहने मान्छेसँग हुनैपर्ने गुण हो ।

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepal मा जान सक्नुहुनेछ ।)

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x