ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आइतवारे बिदाले देखाउने सरकारको चरित्र

२०७९ जेठ, २७  
पाठक विचार
NA

सरकारले विनाअध्ययन हचुवाका भरमा हप्ताको २ दिन सार्वजनिक बिदा दिने गरी गरेको निर्णय असार १ देखि खारेज गरेको छ । १ महीना पनि राम्ररी लागू गर्न नसक्ने यस्तो बिदालाई लिएर निजीक्षेत्रले आपत्ति व्यक्त गर्दै आएको थियो । हुन पनि नेपालजस्तो मुलुकका लागि यो नीतिले कस्तो फरक पार्छ, उत्पादकत्व बढाउँछ कि घटाउँछ तथा सार्वजनिक सेवा प्रवाहमा कस्तो असर पर्छ भन्नेबारे अध्ययन नै भएको छैन ।

पर्यटन क्षेत्रका व्यवसायीले हप्ताको २ दिन बिदा दिँदा आन्तरिक पर्यटनलाई टेवा मिल्ने बताउँदै आएका थिए । काठमाडौं आसपासका केही पर्यटकीय स्थलले यस्तो बिदाबाट आंशिक लाभ लिएको बताएका छन् । तर, यो लाभको दाँजोमा अर्थतन्त्र र सार्वजनिक सेवा प्रवाहमा परेको असर निकै गुणा बढी छ ।

सरकारले पेट्रोलियम पदार्थको उपभोग घटाउन यस्तो निर्णय गरेको थियो । तर, यसको उपभोग पनि घटेको देखिँदैन । हो, पेट्रोलियम पदार्थको विक्रीको आँकडा हेर्दा वैशाखको दाँजोमा जेठमा घटेको छ । तर, यो घटाइमा बिदाको योगदान देखिँदैन । वैशाखमा स्थानीय तहको निर्वाचन भएकाले चुनाव प्रचारका लागि पेट्रोलियमको खपत निकै बढेको थियो । सरकारले निर्वाचनकै कारण यसको मूल्य पनि बढाएको थिएन । त्यही कारण वैशाखमा पेट्रोलियमको खपत बढेको थियो । तर, जेठमा विभिन्न कारणले पेट्रोलियम पदार्थको खपत घटेको देखिन्छ पहिलो त निर्वाचनका कारण बढेको खपत जेठमा घट्नु स्वाभाविक हो । अर्को, निर्माण व्यवसायीहरूले मूल्यवृद्धि निकै बढेको भनी निर्माण कार्य स्थगित गरेका छन् । त्यसो हुँदा हेभी इक्विप्मेन्टको प्रयोग नभएको अवस्थामा पेट्रोलियम पदार्थको खपत निकै घट्नुपर्ने हो । मूल्य निकै बढेकाले उपभोक्ताले पनि सवारीसाधनको कम प्रयोग गरेको देखिन्छ । त्यसो हुँदा जुन उद्देश्यले सरकारले दुईदिने बिदा दिने निर्णय गरेको थियो, त्यो गलत भएको पुष्टि हुन्छ ।

त्यसो भए सरकारले किन यस्तो हचुवा निर्णय लियो त ? यसले सरकार उत्तरदायित्व र जिम्मेवारी निर्वाहमा लापर्बाह भएको पुष्टि हुन्छ । नेपालमा सरकारले विनाअध्ययन निर्णय लिने र जनदबाबपछि फिर्ता लिने गरेको पाइन्छ । आइतबारे बिदामात्र होइन, इम्बोस्ड नम्बर लगायतका थुप्रै कुराको निर्णय उस्तै देखिन्छ । हतारमा निर्णय गर्ने र विरोध भएपछि फिर्ता लिनुले सरकार जे काम पनि हचुवामा गर्दो रहेछ भन्ने पुष्टि भएको छ र  विकसित देशहरूको जीवनस्तर उच्च छ । अब उनीहरूले आर्थिक समृद्धिभन्दा पनि जनताको मानसिक स्वास्थ्य, नयाँ अनुसन्धानका लागि उपयुक्त वातावरण, कर्मचारीको उत्पादकत्व र सन्तुष्टि, जीवन र कामको सन्तुलनजस्ता नवीन पक्षमा ध्यान दिन थालेका छन् । त्यसैले ती देशले हप्ताको २ वा ३ दिन बिदा दिनु अन्यथा होइन ।

नेपाल विश्वमै पिछडिएको मुलुक हो । स्रोत भएर पनि शिक्षा, शीप र पूँजीको अभावमा स्रोतको दोहन सम्भव हुन सकेको छैन । स्रोत आफैले आर्थिक उपार्जनको बाटो बनाउँदैन । यसका लागि मानिसले काम गर्नुपर्छ । नेपालले उच्च दक्षतायुक्त काम गरेर आर्थिक विकास प्राप्त गर्न सम्भव छैन । वास्तवमा श्रमसाध्य कामबाट नै आर्थिक विकासको बाटो तय हुन्छ । यो भनेको नेपालमा कार्य घण्टा अपुग छ । उत्पादकत्व पनि कमजोर छ । यस्तोमा बढी बिदा दिँदा उत्पादन घट्ने निश्चित छ ।

एउटा तथ्य के हो भने साताको २ दिन बिदा हुँदा यसको सकारात्मक प्रभाव होटेल उद्योगमा परेको थियो । आइतवार १ दिन बिदा थपिँदा घुम्ने वर्गका लागि राम्रो अवसरसँगै होटेलको बसाइ अवधि पनि बढ्दै गएको थियो । नेपालीको खर्च गर्ने क्षमता र सामथ्र्य पनि बढेको हुन्थ्यो भने होटेलहरूका लागि झन् राम्रो हुन्थ्यो । पर्यटनका हिसाबले यस्तो बिदा नीतिबाट निकै सकारात्मक प्रभाव पारेको देखियो । पोखराको होटेलमा ५० प्रतिशत अकुपेन्सी कायम भएको व्यवसायीको भनाइ छ । विदेशी पर्यटकको चहलपहल भने कमै रहे पनि दुईदिने बिदाले आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रहेकोमा व्यवसायी खुशी थिए । तर, यो फाइदा अल्पकालीन हो । कोरोनाका कारण घुमफिर गर्न नपाएका हुँदा अलिक संख्या बढेको देखिएको हो । तर, सधैं यो बिदाले पर्यटनलाई भरथेग गर्दैन ।

निजीक्षेत्रको विरोध रहँदारहँदै पनि सरकारले दुईदिने बिदा अकस्मात् घोषणा गरेको थियो । सरकारी सेवा नै प्रभावित भएकाले काम गर्न खोज्ने केही कर्मचारीले पनि यसको विरोध गरेका थिए । त्यसैले विगतमा असफल भएको यो बिदाले परिणाम नदिनु स्वाभाविक हो । आइन्दा सरकारले यस्ता निर्णय गर्दा प्रभावकारिता र स्थायित्व हेरेर निर्णय गरोस् । यसो नगरे यसले सरकाको छवि बिग्रने त छँदै छ कार्य संस्कृतिमा समेत असर पार्नेछ ।

रोशन वैद्य
कालिमाटी, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x