काठमाडौं (अस) । सीजी मोटर्सले बुधवार सार्वजनिक गरेको चिनियाँ विद्युतीय कार ‘निटा भी’को मूल्यको विषयमा सामाजिक सञ्जालमा आएको प्रतिक्रियाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । निटा भीको मूल्य नेपालमा ३७ लाख ९९ हजार रुपैयाँ तोकिएकाले सो मूल्य चिनियाँ बजारको तुलनामा चरम महँगो भएको भन्दै सामाजिक सञ्जालमा भइरहेको आलोचनाप्रति ध्यानाकर्षण भएको कम्पनीले बताएको हो ।
‘सामाजिक सञ्जालमा भ्रम सृजना गर्नुअघि विद्युतीय कारको मूल्य निर्धारण र उत्पादक देशमा उपलब्ध सेवा सुविधाबारे जानकारी हुनु अत्यन्त जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ ।
चीन सरकारले आन्तरिक बजारमा विद्युतीय सवारीसाधन प्रयोग गर्दा ६ हजार डलर बराबर अनुदान दिने भएकाले चीनमा सस्तो पर्ने र नेपालमा आयात गर्दा सो अनुदान नपाइने भएकाले बढी मूल्य पर्ने कम्पनीले बताएको छ । त्यसैले चीनको उपभोक्ता मूल्यसँग नेपालको मूल्य तुलना गर्न नमिल्ने कम्पनीको भनाइ छ ।
बुधवार सार्वजनिक गरिएको निटा भी उच्च गुणस्तर र सस्तो रहेको कम्पनीले दाबी गरेको छ । नेपालमा सरकारले विद्युतीय कारमा कर सहुलियत दिए पनि त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध नरहेको बताइएको छ । चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई केन्द्र सरकार र प्रान्तीय सरकारहरूले विभिन्न किसिमका छूट तथा सहुलियत दिएकाले पनि नेपाली बजारमा उक्त कारको मूल्य तुलना गर्न नमिल्ने कम्पनीको जिकिर छ । सहुलियतका कारण चीनमा उत्पादित वस्तुको मूल्य कम हुने र त्यसको लाभ स्वाभाविक रूपमा चिनियाँ उपभोक्ताले पाउने विज्ञप्तिमा उल्लेख छ ।
सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफूहरूले सकेसम्म सस्तो मूल्यमा विद्युतीय कार उपलब्ध गराएको बताए । ‘जसरी सीजी नेटको प्रवेशले नेपाली इन्टरनेट बजारको गुणस्तर, गति र मूल्य व्यापक रूपमा उपभोक्तामैत्री भयो, त्यसैगरी विद्युतीय कारको मूल्य र गुणस्तरमा पनि नयाँ अध्याय शुरू हुने विश्वास लिएका छौं,’ चौधरीले भने । निटा भी नेपाली बजारमा उक्त सेग्मेन्टमा उपलब्ध विद्युतीय कारमध्ये सबैभन्दा सस्तो कार भएको उनले बताए ।