ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चीनमा थप घट्यो घरजग्गाको मूल्य, रियल इस्टेट बजार ९ महीनादेखि राताम्मे

२०७९ असार, २  
अन्तरराष्ट्रिय घरजग्गा
Image Not Found

पेचिङ (चीन) । चीनमा नयाँ घरको मूल्य लगातार दोस्रो महीना घटेको छ । क्रेताको मनोबल पहिला देखि नै कमजोर भएको अवस्थामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि अपनाइएका उपायहरुका कारण माग थप घटेको हो । यसले बजारलाई पुनः वृद्धितर्फ फर्काउन थप नीतिगत प्रोत्साहन चाहिएकोतर्फ संकेत गरेको छ । 

देशका ७० ओटा मुख्य शहरमा नयाँ घरको औसत मूल्य अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशतले घटेको बिहीवार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकका आधारमा रोयटर्सले उल्लेख गरेको छ । अप्रिलमा पनि यसमा शून्य दशमलव २ प्रतिशतको कमी आएको थियो । गत वर्षको सोही अवधिको तुलनामा मेको मूल्य शून्य दशमलव १ प्रतिशत घटेको छ । यो वार्षिक कमी सन् २०१५ को सेप्टेम्बरयताको पहिलो हो ।

अप्रिलमा भने वार्षिक मूल्य शून्य दशमलव ६ प्रतिशतले बढेको थियो । चिनियाँ अर्थतन्त्र सुस्ताउन थालेको, मोर्टगेज वितरण कसिलो भएको र तरलता संकटबीच मनोबल कमजोर भएपछि गत वर्षको मेयता नै वार्षिक मूल्य वृद्धि सुस्ताएको छ । यो खबर सार्वजनिक भएपछि मुख्यभूमि चीनमा डेभलपर कम्पनीहरुको शेयर बिहीवार ओरालो लागेको थियो । बिहान बजार खुल्दा करीब २ प्रतिशत माथि रहेको सीएसआई३०० रियल इस्टेट इन्डेक्स यो खबर सार्वजनिक भएपछि थप घटेको थियो ।

हालैका महीनामा चीनको घरजग्गा बजारको अवस्था खस्किएको छ । कोरोना भाइरसको महामारीबीच अर्थतन्त्रको मुख्य खम्बाको रुपमा रहेको घरजग्गा बजारको अवस्था खस्किएपछि अधिकारीहरु अतिरिक्त उपाय अपनाउन बाध्य भइरहेका छन । मेको अन्त्यसम्म साङ्हाईमा दुई महीनासम्म लकडाउन गरिएको थियो । पेचिङले संक्रमण नियन्त्रण गर्न केही जिल्लामा मनोरञ्जन र अन्य स्थान बन्द गरेको थियो ।

गत वर्षको सोही अवधिको तुलनामा जनवरीदेखि मेको बीचमा चीनमा घरजग्गाको विक्री फ्लोर एरियाको आधारमा १६ दशमलव ८ प्रतिशतले घटेको बिहीवार स्थानीय तथ्यांक कार्यालयले बताएको छ । मेमा सय भन्दा धेरै शहरहरुले घरजग्गा बजारलाई टेवा दिने उपाय शुरु गरेका छन् । मुख्यगरी साना तथा मझौला आकारका शहरमा घरक्रेताहरुलाई लक्षित गरेर यी उपायहरु ल्याइएको छ । यसमा मोर्टगेज दर कटौती, डाउनपेमेन्टको रकम सानो बनाउने र खरिदसम्बन्धी नियम खुकुलो बनाउने लगायत उपायहरु छन् ।

मेमा एनबीएसको सर्वेक्षणमा सहभागी ७० मध्ये २५ शहरमा नयाँ घरको मूल्य अघिल्लो महीनाको भन्दा बढेको छ । अप्रिलमा यो संख्या १८ मात्रै थियो । साना शहरमा भने सम्पत्ति बजार गत महीना लगातार नवौं महीना रातोमा छ । यो वर्ष चीनको घर जग्गा बजार सुस्त नै रहने र विक्री र लगानी पनि थप घट्न सक्ने अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले हालै गरेको जनमत सर्वेक्षणले देखाएको छ । माग बढाउन गत महीना वित्तीय अधिकारीहरुले आफ्नो बेञ्चमार्क मोर्टगेज दर घटाएका थिए । यो क्षेत्रलाई थप प्रोत्साहन दिन मेमा माग उकास्न थप नीति खुकुलो पारिने अपेक्षा गरिएको छ । एजेन्सी 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x